बैशाख १४, २०८१, शुक्रबार
               

घृणा जाग्दै छ, आफ्नै सपनासँग

चेतन पाण्डे
भदौ १७, २०७७

ADVERTISEMENT

कति दुखका कथा मात्र । कति मृत्युका कुरा मात्र । केही रमाइला क्षण सम्झिन मन लाग्छ । तर, चारै तिर हेर्छु । निराशा मात्र छ । मौनता मात्र छ । चारै तिर मृत्युका त्रास बढ्दै छन् । अनि कसरी फुर्न सक्ला र’ मिठा कुरा ।

मन भित्र कालो बादल मडारी रहेको छ । नमिठा हावाहरूले मस्तिष्कलाई गिजोली रहेका छन् । लाग्छ, अब त अँगालो मार्न पनि बिर्सिसकेका छौ, एक अर्कालाई । अनि हात मिलाउन पनि । किन हो किन हामी क्रमशः असामाजिक प्राणी बन्दै छौ । एक अर्कासँग टाढिनुमा खुसी हुनुपर्ने बनेका छौ । मृत्यु कै भयले त होला नि ?

साँच्चै भन्ने हो भन्ने जिन्दगीमा पहिलो पटक मृत्युको भयले सताउन थालेको छ, मलाई पनि । बेला–बेला अमूर्त सपनाले तर्साउन थालेका छन् । आफ्नै लासमा कात्रो बेरिएको सपना देख्न थालेको छु । पसिनाले सिरानी पनि भिजाउँछ, आफैँ अर्थीमा सुतेको सपना देख्दा । अनि तर्साउँछ आफ्नै चिता जल्दै गरेको डरलाग्दो सपनाले । अत्ताउँछ, हावाको सिरेटोले पनि । मलाई मात्र होइन, सबैको मन यसरी नै काँप्छ हाेला आजकालको वातावरणले ।

हिजोआज म पक्षपाती बनेको छु जस्तो लाग्न थालेको छ । आफ्नै मृत्युको मात्रै कल्पना गरे। । नत्र त यो लोकमा हरेक एउटा मृत्युसँगै मन चिसो बतासले जम्दै जानु पर्ने थियो । आत्मा झनै रुनु पर्ने थियो । अब त म पनि आफ्नै बारेमा मात्र सोच्न थाले कि झैँ लाग्न थालेको छ । हुनत मेरो मन पनि चिसो हुन्छ नै मृत्युका हरेक खबरले । कुनै दिन आफू पनि समाचारको हिस्सा बन्नु पर्ने हो कि भन्ने भयले । मृत्युको शान्त आहटसँगै ।

सबैलाई थाहै छ । पञ्चायती व्यवस्था निरङ्कुश भयो भनेर जनता कै बलमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको उदय भएको । उमेरले सुझबुझमा कमी नै थियो होला । तर, खुसी थिएँ । किन थिएँ, आफैँलाई थाहा रहेनछ । सबै खुसी थिए, म पनि भइदिएँ । दोस्रो जनआन्दोलनको सफलतामा पनि खुसी भएँ । किन भएँ ? आज आफैँलाई थाहा छैन ।

मलाई थाहा छ, मेरो सरकारले मेरो लागि केही गरिरहेको छैन । मलाई मात्र के, कसैको लागि पनि केही गरिरहेको छैन । हामीसँग त आफ्नै लागि केही गरुँ भन्ने विकल्प पनि त छैन नि । राज्य नै नागरिकको बाटो छेकेर बसेको छ, कमाउने, खाने, घर चलाउने । सबै बाटो । नागरिकको बाँच्न पाउने अधिकार मिठो शब्द मात्र बन्दै गए जस्तो छ । जनतालाई बचाउनु पर्छ भन्ने मान्यताबाट टाढा भागी रहेको छ, हाम्रै सरकार ।

०००

सबैलाई थाहै छ । पञ्चायती व्यवस्था निरङ्कुश भयो भनेर जनता कै बलमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको उदय भएको । उमेरले सुझबुझमा कमी नै थियो । तरपनि, खुसी थिएँ । किन थिएँ, आफैँलाई थाहा थिएन । सबै खुसी थिए, म पनि भइदिएँ । दोस्रो जनआन्दोलनको सफलतामा पनि खुसी भएँ । किन भएँ ? आजसम्म आफैँलाई थाहा छैन । जवाफ खोज्दै छु ।

पहिलो जनआन्दोलनको सफलताका बेला जिन्दगीका जालझेल र उबड–खाबडलाई बुझ्ने क्षमता मस्तिष्कमा पलाएको थिएन नै । सुख–दुखका परिभाषासँग पनि अनजान नै थिएँ । तर, किन हो परिवर्तनमा खुसी भएकै थिएँ । खुल्ला मञ्चमा नेताले चम्की–चम्की गरेका भाषणमा शब्द पिच्छै ताली पनि बजाएकै थिएँ । लाग्यो, अब हामी पनि कुनै समृद्ध मुलुकका बासिन्दा बन्ने छौ । सब भ्रम रहेछन् । बहुदलीय व्यवस्थामा नेताका गालामा बोसो चढ्दै गयो, जनता सुक्दै गए । नेताका गाला रातो बन्दै गयो, जनता पहेँला बन्दै गए ।

माओवादी जनयुद्धको कहिल्यै समर्थन गरिन । मान्छेले मान्छे मारेर आउने परिवर्तन सुखद हुन सक्दैन भन्ने मान्यतामा सधैँ रहेँ । मेरो अडान सही रहेछ । रगत बगाएर सत्तामा काबिज हुनेहरू तानासाह बन्छन् । इतिहासले पनि यही भन्छ । अहिले यथार्थमा भोगिँदै छ । हजारौँ जनताको बलिदान त बस् सीमित व्यक्तिको सत्तामा पुग्ने भर्‍याङ पो बनेछ । मन बुझाउनु पर्थ्यो, बुझाएँ । जनयुद्धमा अङ्गभङ्ग भएकाले त बुझाएका छन्, म त त्यो जनआन्दोलनसँग सम्बन्ध र विश्वास नरहेको प्राणी परेँ । त्यसैले मैले चित्त बुझाउनु र नबुझाउनुको पनि कुनै तात्त्विक अर्थ छैन । तर, कुनै पनि राष्ट्र त्यो देशका नागरिकले गर्व गर्न लायक बन्नै पर्छ । यो अडान भने चट्टानमा खोपिएको अक्षर झैँ मनमा कुँदिएका छन् ।

खुलेरै भन्नु पर्दा दोस्रो जनआन्दोलनले ल्याएका हरेक परिवर्तनको म समर्थक होइन । धर्म निरपेक्षता, सङ्घीयता जस्ता विषय मुलुक सिद्ध्याउने बहाना हुन् । यस्तै लाग्छ । आफ्नो धर्म संस्कृति मासेर र मुलुकलाई अदृश्य रूपमा विभाजित गरेर कुनै मुलुकले समृद्धि हासिल गर्न सक्दैन । मनले यही भन्छ । आखिर सङ्घीयताका रेखाले हाम्रो मनमा केही विभाजन ल्याएकै छ । प्रदेशका सीमासँगै मन पनि विभाजन ल्याएकै छ । कोही जनजाति, कोही मधेसी त कोही चुच्चे नाकमा विभाजित भएका छन् । अनि ३ वटा सरकारलाई पाल्ने जिम्मा लिँदा २ छाकका लागि सङ्घर्ष गरिरहेका जनता कै भकारी रित्तिँदै छन् ।

हरेक परिवर्तन समृद्धका लागि हुँदैन रहेछन् । यस्तै लाग्न थालेको छ । ३ श्रेणीमा विभाजित सरकारले कोरोनाको महामारीमा मिलेर नागरिकप्रतिको दायित्व पुरा गरेको भए मेरा सोच गलत रहेछ भन्ने थिएँ । तर, असफलताको दोष एक अर्काको टाउकोमा खन्याउन उदृत सरकार जनताको कहिल्यै बन्न सक्दैन, सकेको पनि छैन । नागरिकले शासकलाई हेर्ने नजर पराइको जस्तो मात्र बन्दै छ । छाप्रोमा बस्नेले अब सिंहदरबारलाई आफ्नै जस्तो देख्न छाडेका छन् । 

त्यसैले हिजोआज लाग्न थालेको छ, मुलुक समृद्ध बन्छ भने निरङ्कुशतामा पनि रमाएर बाँच्न सकिन्छ कि भनेर । कस्तो निरङ्कुशता ?

निरङ्कुशता त्यस्तो हुनु पर्छ, जहाँ जनताको मुहारमा सधैँ हाँसो देखियोस् । निरङ्कुशता त्यस्तो होस्, जहाँ हरेक नागरिकको एउटै जात होस् । अनि निरङ्कुशता त्यस्तो होस्, जहाँ नागरिकले शासकलाई आफ्नै अभिभावक झैँ आदर गर्न सकियोस् । अनि निरङ्कुशता त्यस्तो होस्, जुन मुलुकका बासिन्दाले खाडीको तातो बालुवामा अनुहार डढाउँदा ऋणको भारी बोक्न नपरोस् । विदेशी धर्तीलाई आफ्नो भन्न नपरोस् । आफ्नै खेतमा लहराउने धानका बालालाई सुमसुम्याउन पाइयोस् ।

कोरोनाको महामारीपछि त लाग्न थालेको छ । म त क्रमैसँग जनताको धड्कनलाई सुमसुम्याउन नसक्ने शासकको रैती बन्दै रहेछु । जहाँ शासकलाई बस् आफ्नै चिन्ता छ । आफ्नै कुर्सी प्यारो छ । जहाँ निश्चित वर्ग बाहेक बाँकी सबै नागरिक राज्यबाट पाउनै पर्ने प्राथमिक सेवा सुविधाबाट समेत वञ्चित छन् । 

अस्पतालको चक्कर लगाउँदा लगाउँदै जुन देशका नागरिकले एम्बुलेन्समा ज्यान गुमाउन पर्छ, त्यसलाई म कसरी आफ्नो भन्न सकुँला ? दैनिक ज्यालादारी गरेर पेटमा माड लगाउनु पर्ने जनता आफ्ना सन्तानको शिक्षाका लागि पुस्तक किन्न नसक्ने अवस्थामा पुग्छन् भने म त्यो मुलुकलाई कसरी आफ्नो भन्न सकुँला ?

मैले चाहेको मुलुक यो होइन । मैले चाहेको परिवर्तन यस्तो थिएन । कसैले पनि आत्मा मरेको राष्ट्रको बासिन्दा बन्न चाहँदैनन् । सहिदका प्राण यस्तो परिवर्तनका गएको होइन । त्यसैले मलाई मनमा सजाउन सक्ने राज्य चाहिएको छ ।

हो यो परिवर्तनले केही व्यक्ति विशेषलाई भने मिठै फाइदा दिएको छ । अरूले माडिरहेको सुर्ती अलिकति भए पनि कहिले आफ्नो भागमा पर्ला भनेर र्‍याल चुहाउने र लाज नमानी हात पसार्नेहरू आज नवधनाढ्य बनेका छन् । हिजो फाटेका चप्पल लगाउन पाए आफूलाई भाग्यमानी सम्झिनेहरु आज सिल्कको कार्पेट ओछ्याउने बनेका छन् । वास्तवमा उनीहरूले चाखेका छन्, परिवर्तनको मिठो स्वाद । धर्म निरपेक्षताको, सङ्घीयताको ।

जनता भने कुन बेला चुपचाप कोरोनाको आहार बन्नुपर्ने हो भन्ने चिन्तामा छन् । उनीहरूलाई थाहा छ, कोरोनाले नलगे पनि भोकले अवश्य मार्ने छ । नभए डिप्रेसनले मार्नेछ, कुपोषणले मार्नेछ । अनि सरकार हरेक दिन मृत्युका सङ्ख्या टेलिभिजनबाट फुकेरै ङिच्च हाँस्ने छ, हाँसी नै रहने छ ।

०००

धेरै पटक लेखेको छु । म काललाई जित्न माहिर छु । हृदयाघात भयो, बाँचे । दुर्घटनाका कारण भोटेकोशीमा डुबेँ, फेरि पनि बाँचे । मुटुले बेला–बेलामा दिने झट्कालाई सामान्य मान्ने गरेको छु । अहिले नै मर्दिन भन्ने पक्का थियो । तर, अब भने आत्मविश्वास कमजोर बन्दै छ । शायद म मात्र होइन, यो मुलुकका हरेक साधारण नागरिकको मनमा यही भय छ ।

किनकि म मात्र होइन, कुनै नागरिकलाई क्रिटिकल कोरोनाबाट बचाउने क्षमता अहिलेसम्म सरकारले जुटाउन सकेको छैन । अझ बाँच्नैका लागि खानाको सङ्घर्ष गरिरहेका कुनै नागरिकले आफ्नै बुतामा क्रिटिकल कोरोनासँग लड्छु भनेर सोच्नु पनि बेकारै छ । उसको पहुँच सुविधा सम्पन्न अस्पतालसम्म कहिल्यै पुग्न सक्दैन । सबै व्यवस्था मिलाउनु पर्ने सरकार अहिले पनि लाचार छ । ‘चेक एन्ड मेट’ मा फसेको आफ्नै सत्ता जोगाउने उपायहरू जुराउँदा जुराउँदै । 

त्यसमाथि हाम्रा माली त आराम नभएर नरम गद्दामा सुकला भइबक्सिएको छ । सत्ताको उन्मादमा डाक्टर, वैज्ञानिक, सबै कुराको विज्ञ बनिबक्सिएको छ । भोलि झन् आराम नहुने भयमा आफूले पिउने पानी पनि विदेशबाट मगाइबक्सिन्छ । महँगा औषधीका चाङ सिरानमा राखिबक्सिन्छ । तर, जनतालाई कोरोनाबाट बच्न बेसार पानी खाएर हाच्छ्युँ गर्ने उपाय सिकाइबक्सिन्छ । यसरी जनताप्रति निकै अपनत्व देखाइबक्सिन्छ । तर, बेसार कसरी किन्ने उपाय बत्ताइबक्सिँदैन ।

जुन मुलुकका जनता भोक टार्न टुँडिखेलमा नीजिरुपमा राहत स्वरूप बाँडिएका खानाका लागि लाइन बस्छन् । त्यो देशले नागरिक उत्तरदायित्व पुरा गरिहरेको छ भनेर कसरी पत्याउने ? लकडाउन, निषेधाज्ञाका कारण जहाँका जनतालाई श्रम गरेर दैनिक ४० रुपैयाँ कमाउन द्यौ द्यौ छ, त्यही मुलुकको सरकार पिसीआर परीक्षणको भाउ ४४ सयमा झार्‍यौँ भनेर गर्व गर्छ । निःशुल्क गर्‍यौँ भन्न सक्दैन । अनि निमुखा जनताले कहाँ खोज्ने, गर्वका आफ्नो भन्न सक्ने सरकार ? पशुपतिनाथ तिर ? सिंहदरबार त आजकाल बालुवाटारमा निदाएको छ । म र म जस्ता नेपालीले चाहेको परिवर्तन कदापि यस्तो थिएन ।

यो मुलुकका जनता त बोटबाट चुँडिएका फूल मात्र रहेछन् । भगवानको शिरमा चढे पनि नगर बधूको शृङ्गारको साधन बने पनि अन्तिम गन्तव्य त डम्पिङ साइट न हो । जबसम्म मालीले फूलको सुरक्षा गर्न सक्दैन, तबसम्म फूल बनेर फक्रिँदा पनि उसले गर्व नगरे हुने रहेछ । त्यसैगरी बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न नसक्ने मुलुकको नागरिक बनेर जन्मिँदा पनि प्राणी मात्रमा उच्च जीव अर्थात् मानिस हुन पाएकोमा गर्व नगरे हुने रहेछ । 

त्यसमाथि हाम्रा माली त आराम नभएर नरम गद्दामा सुकला भइबक्सिएको छ । सत्ताको उन्मादमा डाक्टर, वैज्ञानिक, सबै कुराको विज्ञ बनिबक्सिएको छ । भोलि झन् आराम नहुने भयमा आफूले पिउने पानी पनि विदेशबाट मगाइबक्सिन्छ । महँगा औषधीका चाङ सिरानमा राखिबक्सिन्छ । तर, जनतालाई कोरोनाबाट बच्न बेसार पानी खाएर हाच्छ्युँ गर्ने उपाय सिकाइबक्सिन्छ । यसरी जनताप्रति निकै अपनत्व देखाइबक्सिन्छ । तर, बेसार कसरी किन्ने उपाय बत्ताइबक्सिँदैन ।

त्यसैले लाग्न थालेको छ, यो मुलुकका हरेक बासिन्दाको मनोभाव मेरै जस्तै होला । परिवर्तनको चाहनामा खडा गरिएका सपनाका महलहरू हरेकको मनबाट यसरी नै भत्किँदै होलान् । जसरी आज मेरो मनबाट भत्किँदै छन् । अनि ती भत्केका महलमा आफैँ पुरिएको सपनाले नै तर्साउन थालेका छन् । अनि बिस्तारै बिस्तारै निसासिँदै त्यही सपनाको महल मेरो चिहान बनेको त्रासले झनै सताउँदै छ । अनि केही हुल व्यक्ति भन्दै छन् । देखिस् त तेरो सपनामा हाम्रो रजाइँ ! के लगाउँछस् फुर्ती ? अनि ती चिहान बाहिरबाट आउने अट्टहासले मलाई आफ्नै सपनाप्रति नै घृणा जगाउँदै छ ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि