बैशाख १५, २०८१, शनिबार
               

अब त लमजुङे माइली पनि हिरोइन बनेकी छे, टिकटकको

चेतन पाण्डे
भदौ ०३, २०७७

ADVERTISEMENT

आज सामाजिक सञ्जालका भित्तालाई पिताका तस्बिरले सजाउने दिन । पूर्वजले राखेका नाम कुशे औँसी अनि सजिलोसँग भन्नु पर्दा बाउको मुख हेर्ने दिन ।

सबैभन्दा पहिले त वर्षमा एकाध पटक सामाजिक सञ्जालका भित्तामा सजिने सबै पिताजीहरूलाई मेरो एक लाइक । बाँचेकालाई दिर्घजीवनको कामना अनि मरेकालाई श्रद्धाञ्जली !

समय नै देखावटी बनेको छ । मायाको रङलाई सार्वजनिकरुपमा छताछुल्ल पार्दा मात्रै गाढा महसुस गरिने युग आएछ । यस्ता आडम्बरभन्दा टाढा बस्न खोज्छु म । अनि लाग्छ पनि खै के अब म कसैलाई माया नै नगर्ने भइसकेँ त ? यस्ता भ्रमपूर्ण कौतूहल आफ्नै मनमा पनि पलाउन थालेको छ । ढोँगीहरूका वरिपरि बस्दा आफैँ ढोँगी बन्न नसकेकोमा दुख पनि लाग्न थालेको छ । वाह ! क्या असभ्य म ।

लमजुङे माइली आजकाल टिकटकको नायिका बनेकी छे । अनि मैले नसोचेको जमानामा बाँच्न पाएको छु । कपाल कन्याउँदै । बुढी नाचेको हेर्दै । अब थप के कामना गर्नु ? शायद आज मरेका ससुरा र ज्युँदा पिताका नाममा पनि कुनै टिकटकको प्रिमियर हुने सम्भावना प्रबल छ ।

अब त एउटै खाटमा बस्दा पनि बुढीलाई मेसेन्जर मा ‘लभ यु’ भनेर सेन्ड गर्दा मुसुक्क हाँस्छे । ओठले बोल्दा त नाटक पारेको पो भनेर हकार्छे । अझ नाचे झैँ गरेर, गाए झैँ गरेर टिकटक बनाइदिँदा त झन् खुसी पो हुन्छे । अब त भर्चुअल माया बस्न थालेको छ, बुढीसँग पनि । भौतिक रूपमा गरिने माया त देखावटी बनिसकेछ ।

थोपडाले नै धोका दिँदा जल्दो बल्दो उमेरमा कलाकार बन्न नसकेको म यो उमेरमा टिकटक नायक कदापि बन्न सक्दिन । खलनायक बन्न मन लाग्दैन । उसले बुझे पो । तरपनि, बुढी कै करमा दुइटा भने बनाएँ । थप नबनाउने चट्टानी अडान लिएको छु । अनि कहिले ती चट्टानी अडान कंकर बनेर सर्वत्र छरिन्छन्, आफैँलाई पत्तो छैन ।

लमजुङे माइली आजकाल टिकटकको हिरोइन बनेकी छे । अनि मैले नसोचेको जमानामा बाँच्न पाएको छु । कपाल कन्याउँदै । बुढी नाचेको हेर्दै । अब थप के कामना गर्नु ? शायद आज मरेका ससुरा र ज्युँदा पिताका नाममा पनि कुनै टिकटकको प्रिमियर हुने सम्भावना प्रबल छ । 

०००

हामी त त्यो युगमा हुर्कियौ, जति बेला काठमाडौँका सिनेमा हलमा थोत्रा हिन्दी फिल्म मात्र चल्थे । काठमाडौँ उपत्यकामा गनेर ५ वटा सिनेमा हल थिए ।

आँखामा टाँसेर हेर्दा केही मिनेटको कार्टुन हेर्न मिल्ने खेलौना पाइन्थ्यो । हेर्दा केही आकार बन्दुकसँग मिल्ने । गोलो कार्टेजमा केही मिनेटका कार्टुनका दृश्य भरिएका रिल हुन्थे, निरन्तर घुमिरहन्थ्यो । त्यही कार्टुन वर्षौँ हेरियो, सुन्तला रङ्गको त्यो यन्त्रलाई वर्षौँ जोगाएर राखियो । आजका बालबालिकाका झैँ थिएन, यान्त्रिक जीवन । 

भारतमा सोले सुपर डुपर हिट भएको सुनिन्थ्यो । त्यसताका नेपालमा धर्मेन्द्रका फिल्म देखाइँदैन थियो । किन हो थाहा भएन ? भन्नेले त धर्मेन्द्रका फिल्ममाथि प्रतिबन्ध लगाइएको छ पनि भन्थे । तर, त्यसको आधिकारिक वर्णन आजसम्म कतै देखेको, सुनेको छैन । शायद त्यो बेलाका जल्दा बल्दा कलाकारका चलचित्र किनेर चलाउन नसक्ने भएकाले हलवालाले चलाएको हल्ला हुनु पर्छ त्यो ।

बजारमा  डाइलग भरिएको टेप रेकर्ड पाइन्थ्यो । आजकालका पुस्ताले त्यो क्यासेट नदेखेको पनि हुन सक्छन् । कतिले गुगलमा सर्च गरेर पनि हेरेका हुन सक्छन् ।  ती डाइलग कुनै एउटै चक्कामा अटाएका हुन्थे त कुनै दुइटा चक्कामा । भित्र अटाएका रिलको लम्बाइ अनुसार । हामी घरको क्यासेट प्लेयरमा त्यो चक्का मिलाएर घुसार्थ्यौँ । नत्र कहिले काहीँ रिल तानेर चक्कै बिग्रिस्यो । अनि पानी टेपले रिल जोड्ने कसरत गर्नु पर्थ्यो । त्यो काम गर्दा कति डाइलग रिलसँगै काटिन्थे ।

अनेकौँ पटक त्यही डाइलग भरिएको चक्का सुन्दा सुन्दै  दृश्यको कल्पना पनि गरिन्थ्यो । कण्ठ भएका संवादसँगै । जब भिसीआरको जमाना आयो, अनि सोले हेर्दा त अचम्मै लाग्यो । फलानो डाइलग त मैले कल्पना गरेभन्दा फरक पो रहेछ भनेर । गब्बर सिंह सोचेभन्दा भयानक देखिन्थे । अनि बसन्ती सोचेभन्दा राम्री । जय र वीरुको कुरै बेग्लै ।

अनि अल इण्डिया रेडियोमा बज्थ्यो, ‘बिनाका गीतमाला’ । नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम । अमिन सायनीको मिठा शब्दले त्यो गीति कार्यक्रमलाई पनि साह्रै मिठासपूर्ण बनाउँथ्यो । त्यही कार्यक्रममा बज्ने गीत आफ्नो क्यासेट प्लेयरमा रेकर्ड गरेर पनि सुनियो । नयाँ चक्का किन्ने पैसाको अभावले । आजकालका सन्तान झैँ बोल्ने बित्तिकै हरेक वस्तु झार्न सक्दैनौँ थियौ हामी, बाबा–ममीसँग । नेपाली गीतका लागि रेडियो नेपालबाट बज्ने फर्माइस गीतका कार्यक्रम त थिए नै । रेकर्ड गर्नका लागि । 

अलि हुने खानेका घरमा ग्रामोफोन र ठुला रिल (स्पुल) हालेर बजाउने प्लेयर पनि हुन्थे । घर मै फिल्म हेर्ने कुनै उपाय भने थिएनन् । तर, ती साधनका दिन भने गइसकेका थिए ।

मेरा बाबा नेपाल राष्ट्र बैङ्कका लागि छोटा वृत्तचित्र बनाएर देशभरि देखाउन जान्थे । राष्ट्र बैङ्क कै हो वा त्यो बैङ्कले पनि भाडामा ल्याउँथ्यो, फिल्म प्रोजेक्टर । एकाध पटक हाम्रो घरमा पनि आइपुगेको थियो । वृत्तचित्र देखाउने काममा बाबालाई सहयोग गर्ने एक जना विश्व ज्योति हलका हलका हर्ताकर्ता थिए । उनले विश्व ज्योतिमा प्रदर्शन भइसकेर थन्काइएका हिन्दी फिल्मका रिल ल्याइदिन्थे । अनि हामीले घरमा पनि फिल्म हेर्ने मौका पाएका थियौँ ।

नत्र रेडियो नेपालमा हरेक शनिवार बज्ने रेडियो नाटक अनि बाल कार्यक्रम सुन्नु नै टोल चाहर्नु पछिका हाम्रा शौक हुन्थे ।

नेपाली चलचित्र चाहेर पनि हेर्न सकिँदैन थियो । तर, पनि मैले हलमा हेरेको पहिलो चलचित्र नेपाली नै थियो । ‘सिन्दूर’ ।

०००

घर–घरमा टेलिभिजन र भिसीआर भित्रिनु अगाडि उपत्यकाका केही स्थानमा सिनेमा घर झैँ भिडियो पार्लर खुलेका थिए । त्यस बेला टिभी–भिसीआर सेटलाई किन्न र काठमाडौँको चल्तीको ठाउँमा एक रोपनी जग्गा किन्न बराबर झैँ दाम पर्थ्यो होला । तर, एउटा फिल्म हेरेको ५ रुपैयाँ तिरे पुग्थ्यो । त्यसमा पनि बौद्ध र मखन प्रसिद्ध (कुख्यात) थिए, भिडियो पार्लरका लागि । टोल–टोल एक–दुइटा त्यस्ता भिडियो हल हुन्थे नै ।

यसबेला काठमाडौँका रैथानेलाई राम्रा–नराम्रा फिल्मको लत बसाल्ने नै तिनीहरू थिए । कतिले त त्यही धन्दा गरेर घर पनि बनाए । तर, भय एउटै हुन्थ्यो । फिल्म हेरिरहँदा कति बेला प्रहरीले समात्न आउँछ भन्ने । एकाध पटक त प्रहरी आउँदा भागिएको पनि थियो । नत्र एक पटक ५ रुपैयाँ तिरेर दोहराइ तेहराइ पनि एउटै फिल्म हेरिन्थ्यो । अहिले इन्टरनेटले झैँ त्यो बेला भिडियो पार्लरले बच्चादेखि बुढालाई नग्न चलचित्र हेर्ने मौका जुराइदिएको थियो । सिधा भन्ने हो भन्ने बिग्रिने मौका दिएको थियो ।

एक पटक सत्ता परिवर्तनको खेल र सांसद किनबेच हुँदा तत्कालीन नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई एकै ठाउँमा भेला गराएर ‘ब्लु फिल्म’ देखाएको चर्चा व्यापक भएको थियो । जुन चलचित्र केही महिला सांसद पनि हेरेको पत्रपत्रिकाले लेखेका थिए । 

जब एमाले विभाजित भएर माले बन्यो, त्यस बेलाका जल्दा बल्दा एक नेताले बेलुकीको सँगै बसाइमा मेरो अगाडि ती समाचार सत्य भएको खुलासा गरे । मालेतिर लागेका ती नेताले त्यो नग्न फिल्म देखाउने अग्रसरता आफैँले लिएको पनि खुलासा गरे । खुलासा त के ? हाम्रो राजनीति भित्रको नग्नताको दर्शन गराए । ‘सबैको सल्लाहमा देखाइयो, मलाई के थाहा महिला पनि पछाडितिर बसेका थिए भनेर । त्यस्तो फिल्म सुरु भएपछि आफैँ बाहिर जानु पर्थ्यो नि । गएनन्, जब थाहा पाइयो, हतपत बन्द गरियो । हे...हे..हे !’ 

त्यो हाँसोसँगै उनले हाम्रो राजनीतिक व्यवस्था माथि अशिष्ट ठट्टा गरे झैँ लाग्यो । यस्तो थियो र छ, हाम्रो राजनीतिक संस्कार । जसको जगमा आजको राजनीतिको महल खडा गरिएको छ । नग्न, बिलकुलै नग्न ।

०००

हाम्रा लागि टिभी–भिडियो नै सपनाका कुरा हुन्थे । त्यसपछि आएका सिडी, डिभिडी त सोचभन्दा परको विषय । कसैले ५० सौ हजार तिरेर पनि सिडी प्लेयर किने । पछि त त्यही प्लेयर २–३ हजार मै पाउन थालियो । जति छिटो प्रविधिको विकास हुँदै छ, त्यति नै सुस्त गतिमा हाम्रो मनस्थिति र हाम्रो मुलुकको ।

अरूका घरमा ‘बिन बुलाए मेहमान’ बनेर पनि गइएको छ । दूरदर्शनमा आउने चलचित्र हेर्न । एन्टेना र बुस्टरको सहायतामा झार झार गर्दै टिभी हेर्नु पर्ने । चलचित्र हेर्नभन्दा एन्टेना घुमाउन बढी समय खर्चिनु पर्ने । कहिले सफा आउँथ्यो त कहिले टेलिभिजनको स्क्रिनभरि झिँगा सलबलाए झैँ देखिन्थ्यो । त्यो पनि हेरिन्थ्यो । बुझे पनि नबुझे पनि । एउटा बच्चोलाई ‘दो आँखे बारह हात’ हेर्दा बुझे पनि के नबुझे पनि के फरक पर्थ्यो र ? त्यस्ता चलचित्र त्यस्तो झिँगा सलबलाए झैँ देखिने स्क्रिनमा हेरियो पनि । आँखा नझिम्काई । त्यो पनि अर्काको घर धाएर । गज्जबका थिए, ती दिन ।

मेरो घरमा पहिले टेलिभिजन भित्रियो अनि भिसीआर । नत्र कहिले काहीँ भिसीआर भाडामा ल्याएर पनि फिल्म हेरिन्थ्यो । अनि कति न बुझ्ने झैँ गरेर एउटा भए पनि अङ्ग्रेजी फिल्म ल्याउँथे । रिल भाडामा पाइन्थ्यो । खासमा अङ्ग्रेजी फिल्म भित्रिनुमा हामीभन्दा ठुलाका षडयन्त्र हुँदा रहेछन् । अहिले बुझ्दै छु । त्यसबेला हिन्दी फिल्म जति घरायसी हुन्थे, अङ्ग्रेजी भने अलि फरासिला । चुम्बन र बेड सिन सामान्य झैँ । अनि बेला मौकामा टु पिसमा झल्कने नायिका । फिल्म नबुझे पनि त्यस्ता दृश्य हेर्ने लोभमा पो ल्याइँदो रहेछ एउटै भए पनि अङ्ग्रेजी फिल्म । तर, मलाई त्यस बेला ‘रेम्बो’ शृङ्खलाको पहिलो फिल्म ‘फर्स्ट ब्लड’ भन्दा अरू फिल्म हेरेको याद छैन ।

हुन त हाम्रो घरमा पहिलो प्रयासमा नै कलर टिभी भित्रिएको थियो । तर, धेरैको घरमा ब्ल्याक एन्ड व्हाइटबाट टेलिभिजनको यात्रा सुरु भएको हुन्थ्यो । त्यो बेला एन्टेना घुमाउँदै भए पनि टिभी हेरिएको थियो, झार झार गर्दा गर्दै । हुन त त सेता र काला धब्बा आउँथ्यो, धेरै जसो बेला ।

ब्ल्याक एन्ड व्हाइट होस् वा कलर दुवै स्क्रिनमा एउटै त देखिन्थ्यो । आजकाल त कुनै टेलिभिजन शृङ्खलाकी नायिकाले कस्तो फुली लगाएकी छ । अनि उसको गालामा कति वटा कोठी छन् भन्ने प्रस्ट देखिनु पनि जरुरी छ । नत्र मेरी आमाका लागि समेत त्यो सर्भिस प्रोभाइडर काम नलाग्ने श्रेणीमा पर्छन् । उसको रेटिङ घट्छ ।

हामीले इन्टरनेट चलाउन धेरै पछाडि सिक्यौ । तर, आजकालका बच्चाहरूलाई त पेटबाट खसे लगत्तै ट्याब देखाएर फकाउनु पर्छ । खाना खुवाउनु पर्छ । कार्टुन शृङ्खलाहरू देखाएर हँसाउनु पर्छ ।

हामी चाचा चौधरी र ब्याटम्यानका कमिक्स पढेर हुर्कियौ । आजकाल त टेलिभिजनले बच्चाहरूको कमिक्स भए पनि पनि पढ्ने बानी छुटाइदिएको छ । गन्न नसकिने कार्टुन च्यानलका कारण । अब पढाइ नै भर्चुअल बनेको छ । त्यसमाथि फ्री फायर र पबजीले थप बिगार्ने काम गरेकै छन्, हाम्रा सन्तानलाई ।

मेरो छोरो भर्खर मात्र भन्दै थियो, नेट स्लो भयो रे । उसको अनलाइन गेममा असर पुर्‍यायो रे । हैट, हाम्रा लागि हाते भिडियो गेम पनि रहरको विषय हुन्थ्यो । सत्य ! अनलाइन पढाइ नहुने भएको भए इन्टरनेटको लाइन नै काटिदिन्थे जस्तो लागि सक्यो । तर, मेरी आमालाई आजकाल युट्युब मै भजन सुन्ने रहर चढेको छ । अनि मेरी बुढीलाई टिकटक बनाउने शौक ।

मलाई पनि लाग्छ, इन्टरनेट नै काटेँ भने विदेशमा रहेकी छोरीसँग कसरी कुरा गर्ने ? प्रविधिले नराम्रोसँग जालोमा पारिसकेछ, हामीलाई । अब चाहेर पनि उम्किन नसक्ने रहेछौ । माकुरोले झैँ ।

०००

सन् १९८० को मध्यतिर त हो नि । मेरा बाबा अमेरिका गएका । तालिमका लागि, लामै समय बिताए । हुलाकबाट चिठ्ठी आदान प्रदान हुन्थ्यो । फोनमा जम्मा मात्र एक पटक कुरा भयो । त्यो पनि त्रिपुरेश्वरसम्म पुगेर । ममीले अघिल्लै दिन बुक गरेर भोलिपल्टका लागि समय लिएकी थिइन् । त्यो २–४ मिनेटमा घरका सबैले के कुरा गरे थाहा पनि छैन । शायद सबैले सन्चो बिसन्चो मात्र सोधे होलान् । 

बिन्दास थिए, ती दिन । एउटा ब्लफ कलले पनि आनन्द दिन्थ्यो । कुर्कुरे बैँसमा टाइमिङ सेट हुन्थ्यो । कोसँग कति बेला फोन गर्ने भनेर । त्यो बेला टेलिफोनका रिङका आवाजले दिने आनन्द आफैँमा निकै रोमाञ्चित पार्ने खालका हुन्थे । कतिले त ब्लफ कल गरेर घरजम बसाएका थिए ।

हिजोआज समय फरक छ । अमेरिका मै रहेकी छोरीसँग व्हाट्सएप, मेसेन्जरबाट दैनिक कुरा गर्दा–गर्दा कहिले काहीँ त कुरा गर्ने विषय पनि रित्तिन्छन् । उ ठुस्स पर्छे अनि भन्छे, ‘अब त मसँग कुरा गर्न मन पनि लाग्न छाड्यो हैन ?’ खै के जवाफ फर्काऊ म ? निरुत्तर बन्छु म ।

०००

सानै थिएँ, हाम्रो घरमा ल्यान्ड लाइन टेलिफोन जोडिँदा । बाबा नेपाल राष्ट्र बैङ्कका जनसम्पर्क अधिकृत र प्रवक्ता थिए । सञ्चार माध्यमसँग सम्बन्ध बनाइ रहनु पर्ने । त्यसैले सजिलै घरमा टेलिफोन जोडियो । तर, काठमाडौँमा टेलिफोन जडान गराउन ७ वर्षसम्म आफूले दिएको निवेदनको पालो कुरेर बस्नु पर्थ्यो । अहिले झैँ भन्ने बित्तिकै पाइँदैन थियो । अनि त्यस्तो बेला घरमा टेलिफोनको घण्टी कहिले काहीँ मात्र बज्नु स्वाभाविकै हो । उठाउन हानथाप हुन्थ्यो । हामी सन्तानबिच । अहिले मोबाइल बज्दा पनि दिक्क लाग्छ ।

बिन्दास थिए, ती दिन । एउटा ब्लफ कलले पनि आनन्द दिन्थ्यो । कुर्कुरे बैँसमा टाइमिङ सेट हुन्थ्यो । कोसँग कति बेला फोन गर्ने भनेर । त्यो बेला टेलिफोनका रिङका आवाजले दिने आनन्द आफैँमा निकै रोमाञ्चित पार्ने खालका हुन्थे । कतिले त ब्लफ कल गरेर घरजम बसाएका थिए । आज तन्नेरी बनिसकेका उनीहरूका सन्तान यस्ता कुरा सुन्दा अचम्म मानेर मुसुक्क हाँस्छन् मात्र ।

हिजोआज त जति बेला पनि जुनसुकै कुना पसेर ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डले मनका भावना साट्न सक्छन् । एउटै मोबाइल सेटबाट संसारका सबै कुरा गर्न सकिन्छ । राम्रा नराम्रा सबै । 

हामीलाई रिल हालेर खिच्ने क्यामेरा देख्दा मन फुरुङ हुन्थ्यो । अब त हरेको हातमा क्यामेरा छ । सबै फोटोग्राफर बनेका छन् । युट्युबे बनेका छन् ।

०००

हेर्दा हेर्दा आफैँ बाँचेको युग परिवर्तन भइसक्यो, पत्तै नपाईकनै । ल्यान्ड लाइनको बेलामा उदाएको शासन व्यवस्था हाइ स्पिड इन्टरनेटको युगमा पनि परिवर्तन हुन सकेको छैन । घरमा ल्यान्ड लाइन राख्ने हैसियत नभएकाहरू मोबाइल कम्पनीका मालिक नै बनिसके । प्रविधिले फड्को मार्दा, हामी भित्रको सोच झन् विपरीत दिशातिर फड्को मारे झैँ लाग्न थालेको छ । मुलुक झन् झन् जीर्ण बन्दै छ । धनी झन् धनी बन्दै छन्, गरिब झन् गरिब । समाजको मापदण्ड मानिसले बोक्ने मोबाइल सेटले निर्धारण गर्न थालेको छ ।

हुन त आकाश त निला नै छन् तर कार्बनका विषाक्त कणले ओजन तह भत्काउँदै छ । हाम्रो  पनि हेर्दा ठिक छ तर, भित्र भित्रै गल्दै छ, थाक्दै छ । हुन त मुलुक अहिले पनि बनाउन सक्ने अवस्था मै नरहेको हैन । तर, नीति निर्माण र सत्तामा रहनेको सोचको ओजन तहमा खिया लागेको छ । अनियमितताको बोझले उनीहरूको इमानदारिताको ओजमा ताल्चा लाग्दै छ । अब यो मुलुकले योभन्दा बढी सहन सक्दैन की भन्ने पनि लाग्न थालेको छ ।

हामी अरूले नङ्ग्रा खियाएर गरेको विकासको उपभोग गर्दै छौ । विदेशी प्रविधि मात्र होइन, रहन–सहनको पनि नक्कल गर्दै छौ । तर, आफैँ नङ्ग्रा खियाएर देश बनाउने बेला सत्ताको लुछाचुँडीमा आफ्नै घर भत्काउँदै छौँ । मात लागेको छ हामीलाई । सत्ताको धनको ।

कुशे औँसीका दिन कुश पानी छर्केर हाम्रा आफ्नै आत्मालाई शुद्ध बनाउन पनि आवश्यक भइसकेको जस्तो पनि लाग्न थालेको छ । अब चित्त शुद्ध नभएकाले यो मुलुक बनाउन सक्दैनन् । नत्र आउने कुनै सोह्र श्राद्धमा पिण्ड खाँदा हामीलाई आफ्ना सन्ततिले धिक्कार्ने छन् । बाउका तस्बिर उल्टो गरेर भित्तामा झुन्डाउने छन् । अनि भन्ने छन्, ‘तिमीले पनि हामीलाई यस्तै उल्टिएको मुलुक जिम्मा लगाएका थियौ, हे मेरा बा ! तिमी पनि अब उल्टिएरै भित्तामा झुन्डिएर बस ।’

०००

कुशे औँसीमा मेरा बाबालाई श्रद्धाञ्जली ! किनकि उनले मलाई सुल्टै मुलुकमा जन्माएका थिए । तर, हे बाबा ! तिमीले जस्तो मुलुक छाडेर गएका थियौ, अहिले पनि त्यस्तै छ । बरु थप रन्थनिएको छ । निचोर्नेले थप निचोरेका छन् । बाँचेका भए पनि खासै परिवर्तनको अनुभव गर्न सक्दैनौ थियौ । सही गर्‍यौ, बेलैमा गयौ, नत्र छरपस्ट मुलुक देख्दा फेरि एक पटक तिम्रो आँखाबाट पनि आँसु झर्थ्यो । जसरी आज सारा नेपालीको झरिरहेको छ ।

अब प्रविधिले झन् विकास गर्‍यो अनि आत्मासँग पनि कुरा गर्ने प्रविधि बनायो भने त्यसबेला बाउ–छोरा खुब गफ्फिउँला । अनि देशको दुर्गतिमा २ मिनेट मौन धारणा गरौला । हाम्रा हातलाई धिक्कारौँला । जुन हातले मत पत्रमा छाप लगाइदिएर यो देशका नेताको विलासितालाई दिनदिनै आकासिने भर्‍याङ बनाइदिँदै छौ, हामी । बाबा ! तिमीले त अब त्यो विलासिताको भर्‍याङमा खुड्किला थप्नु पर्दैन । भाग्यमानी रहेछौ । कोरोनाले लगेन भने मैले त अझै केही खुड्किला थपिदिने छु । यो देशलाई अनियमितताको प्रयोगशाला बनाउन अझै सहयोग गर्नेछु । 

अब के भनौँ खै, यस्तो भन्नु पर्छ क्यारे । ह्याप्पी फादर्स डे ड्याड !

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि