बैशाख १५, २०८१, शनिबार
               

फिलिपिन्समा आर्थिक मन्दी

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा संकुचित भएको छ ।

फिलिपिनी तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख छ । विभागका अनुसार दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल गार्हस्थ्य उत्पादन १६.५ प्रतिशतले घटेको छ ।

यस अवधिमा फिलिपिन्स सरकारले कडा नियमहरूसहितको लकडाउन गरेको थियो । सरकारले यसअघि वर्षको सुरुका ३ महिनामा अर्थतन्त्र ०.७ प्रतिशतले मात्र खुम्चिने आँकलन गरेको थियो । तर सन् १९८१ यता पहिलो पटक अर्थतन्त्रमा सर्वाधिक असर परेको विभागको भनाइ छ । विगत ३ दशकमा फिलिपिन्सको अर्थतन्त्र पहिलो पटक मन्दीतर्फ उन्मुख भएको हो ।

फिलिपिन्समा यसै साता कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १५ हजार नाघेको छ । लकडाउन खुकुलो बनाएसँगै जून महिनायता मात्र संक्रमितको संख्या ५ गुणाले बढेको हो । 

सामाजिक–आर्थिक योजना सचिव कार्ल चुआले महामारी र यसबाट अर्थतन्त्रमा परेको असरले विषम परिस्थिति सिर्जना गरेको बताए । तर राष्ट्रपति रोड्रिगो डुटेर्टेले लामो समयसम्म मुलुकलाई बन्दाबन्दीको अवस्थामा राख्न नसकिने बताए । 
 
फिलिपिन्सको विप्रेषण पनि अघिल्लो वर्षको तुलनामा पहिलो ५ महिनामा ६.४ प्रतिशतले घटेको छ । विदेशमा रोजगारी गुमाएका ठूलो संख्याका व्यक्तिहरू स्वदेश फर्किएका छन् । तथ्यांक विभागका अनुसार उपभोग्य खर्चमा पनि १५.५ प्रतिशतले कमी आएको छ ।


कस्तो लाग्यो ?

यो पनि