बैशाख १४, २०८१, शुक्रबार
               

'घरमा बस्दा बस्दा निकै छटपटी भयो'

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर पर्‍यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गर्‍यो । यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि परेका छन् । यसबीचमा चार महिना बन्दाबन्दीमा घरमै बसे । “समय व्यतित गर्न निकै गाह्रो भयो”, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भेटिनुभएका लामिछानेले भने, “घरमा बस्दा बस्दा निकै छटपटी भयो ।”

गत असार २२ गते लामिछानेले सुखद खबर प्राप्त गर्नुभयो । ट्रिनिडाड एण्ड टोबागोमा भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि उन छनोट भएको खबर आयो । आफूले मागेकै पारिश्रमिकमा खेल्न पाउने खबरले उनी कम्ता खुशी हुनु भएनन् । जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा लामिछानेलाई अनुबन्ध गर्‍यो । 

यसअघि सन् २०१९ मा उनलाई बार्बाडोस ट्राइडेन्सले ७० हजार डलरमा अनुबन्ध गरेको थियो । उक्त प्रतियोगितामा लामिछानेले पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सले मात्र पाँच हजार डलरमा लामिछानेलाई अनुबन्ध गरेको थियो । सो प्रतियोगितामा उनले छ खेलमा आठ विकेट लिनुभएको थियो । 

आफूले चाहेकै पारिश्रमिक पाउने भए पनि लामिछानेलाई खुशी त मिल्यो तर यस्तो बन्दाबन्दीमा ट्रिनिडाड एन्ड टोबागो कसोगरी पुग्ने भन्ने चिन्ताले सतायो । नेपालमा अझै आगामी भदौ १ गतेसम्मका लागि अन्तरराष्ट्रिय हवाई उडान बन्द थियो । “हिजोसम्म सिपिएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो”, लामिछानेले भने, “आज जहाजको टुङ्गो लाग्यो, अब सिपिएल खेल्न उत्साहित छु ।” पछिल्लो समय जहाजको टुङ्गो नलाग्दा कैयौँ रात निद्रा नै भङ्ग भएको उनको भनाइ थियो । “जे होस् अब जान पाइने भयो, अब खेल्ने पाइनेमा ढुक्क छु”, खुशी हुँदै लामिछानेले भने । 

कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय हवाई उडान बन्द भएकाले लामिछाने सिपिएल गुमाउने अवस्था थियो । अन्तिम समयमा चार्टर्ड विमानमार्फत उन बिहीबार दक्षिण कोरियाहुँदै ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो । लामिछानेको यात्रा सुनिश्चित गराउनमा उनका व्यवस्थापक रमन शिवाकोटीको भूमिका अहम् छ । शिवाकोटीको हप्तौँको दौडधूपले लामिछानेको ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो । 

“पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायतको सहयोगले सन्दीप खेल्न जाने टुङ्गो लागेको हो”, शिवाकोटीले भने । सन्दीपको हवाई उडानका लागि केही खेलप्रेमीको रातदिनको दौडधूप सम्झिन लायक रहेको उनको भनाइ थियो । “हाम्रो व्यक्तिगत प्रयासले सिपिल खेल्न पाउने सम्भावना थिएन”, सहयोगीप्रति अभार प्रकट गर्दै व्यवस्थापक शिवाकोटीले भने । 

बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन् । यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ । “त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, लामिछानेले भने । सिपिएल खेल्न जानुअघि उनले मङ्गलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराउनुभएको थियो । उनले परीक्षणको रिपोर्ट आज प्राप्त गरेका छन् । “कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, अब ढुक्कका साथ जान पाउने भए”, लामिछानेले भने । 

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उन आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ । सिपिएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । 

ट्रिनिडाड एन्ड टोबागोबाट लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमेरेटस् (युएई) जानेछन् । कोरोना महामारीका कारण यसपटक आइपिएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएइमा हुँदैछ । लामिछाने आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन् ।
 


कस्तो लाग्यो ?

यो पनि