बैशाख १४, २०८१, शुक्रबार
               

टुक्रे उस्तादको श्रद्धाञ्जली !

चेतन पाण्डे
साउन १४, २०७७

ADVERTISEMENT

बाबा मलाई टुक्रे उस्ताद भन्थे । अहिले भन्न छाडेका छन् । उनले ठ्याक्क ८ वर्षअघि यो संसार छाडेसँगै ।

साउन १४ कै दिन थियो, बाबाको खरानी बाग्मतीमा खन्याएको । संसारमा सबैभन्दा माया गर्ने प्राणीले देह त्याग्दा अरूलाई जस्तो लाग्छ, मलाई पनि त्यस्तै लाग्यो । एक्लो महसुस भयो । फूल चुँडिएको बोट झैँ । वीणा लुटिएको कस्तुरी झैँ ।

मेरा बाबाका अनेकौँ शौख थिए । गीत पनि एउटा । राम्रै लेख्थे । राम्रै गाउँथे । म पनि उनको सुरमा बेसुर मिलाइदिन्थे । गाउन जानेँ पो । जे पर्ला पर्ला भनेर कहिले काहीँ म पनि गाइदिन्थेँ तर, कहिल्यै कुनै गीत पुरा गाउन सकिन ।

आवाज त उही न हो । नाक खुम्चाएर सुने पनि राम्रै गाइस् भनेर ढाडस दिन्थे । माया पनि असाध्य गर्थे, त्यसैले होला नमिठो स्वरलाई मिठो भनेका । मुखडाभन्दा बढी गाउन नसक्ने भएकाले टुक्रे उस्ताद नाम दिएका ।

कहिले मुड चलेको बेला मेरी बुढी पनि गीत गाइदेऊ न ! भन्छे । अझै माहौल रङ्गिन छ र वरिपरि दुईचार जना छन् भने त सुरु मै थाहा हुन्छ । आज फेरि मेलाई बेसुरा राग अलाप्ने आग्रह आउँछ । मन, मस्तिष्क सुरमा भएको बेला पटक्कै नगाउने म, बेसुरमा हुँदा भने बेसुरा नै गाइदिन्छु । पत्नीको मन राख्न । बाबाले सिकाएको पथमा हिँड्दै । भन्थे, ‘कसैको मन नदुखाउनु । परे आफ्नै शिर झुकाउनु, अरूलाई कहिल्यै निचो नदेखाउनु ।’

कुनै सङ्गीतकार वा गायक कै झैँ नभए पनि मेरो घरमा साङ्गीतिक माहौल थियो । बाबा हार्मोनियम बजाएर टाकटुक गाउँथे । रेडियो नेपालमा रेकर्डिङको सुरुवात हुनुभन्दा अगाडि पनि एक दुई पटक लाइभ गाएका रहेछन् । तर, त्यो बेलाका गायकहरूको हाल देखेर गीत गाउन सिंहदरबार छिर्ने हिम्मत गर्न सकेनछन् ।

उनी बाँचुन्जेल आफ्नो भनाइमा अडिग रहे, म उनले भने झैँ बन्न सकिन । जसले उनको चित्त दुखाए, मेरा सबैभन्दा ठुला शत्रु तिनीहरू नै हुन् जस्तो लाग्छ, आज पनि । जसले उनको योग्यताको नाजायज फाइदा उठाए, तिनीहरू संसारका सबैभन्दा फटाहा हुन् जस्तो लाग्छ, आज पनि । साह्रै सोझा थिए तर, रङ्गिन मिजासका ।

०००

कुनै सङ्गीतकार वा गायक कै झैँ नभए पनि मेरो घरमा साङ्गीतिक माहौल थियो । बाबा हार्मोनियम बजाएर टाकटुक गाउँथे । रेडियो नेपालमा रेकर्डिङको सुरुवात हुनुभन्दा अगाडि पनि एक दुई पटक लाइभ गाएका रहेछन् । तर, त्यो बेलाका गायकहरूको हाल देखेर गीत गाउन सिंहदरबार छिर्ने हिम्मत गर्न सकेनछन् ।

विदेश जाँदा एउटा इलेक्ट्रिक पियानो पनि लिएर आएका थिए । ह्विस्की पिएपछिका शौख पुरा गर्न । जब उनको रगतमा मात चढ्थ्यो, हामी पियानो उनको अगाडि राखिदिन्थ्यौँ । अनि सुरु भइहाल्थ्यो, हाम्रो घरमा गीतको माहौल । बाबा ट्याँ...ट्याँ गर्दै पहिले पियानोको सुर मिलाउँथे । अनि गाउन थाल्थे, त्यसताका पुराना–नयाँ सबै गीत ।

रात छिप्पिए पनि ममी भात खान कर गर्दिनन् थिइनन् । उनी पनि बुढाका स्वरमा आनन्द लिइरहेकी हुन्थिन् ।

अनि मात झनै चढेपछि गाइदिन्थे, ‘माई नेम इज एन्थोनी गोन्जालविज...’

०००

मेरी हजुरआमामा भने भजनको तलतल थियो । काठमाडौँका रैथाने मारवाडीका घरमा हुने भजन कीर्तनमा उनको उपस्थिति अनिवार्य झैँ हुन्थ्यो । कारण एउटै थियो । उनी चलनचल्तीका भजनमा राम्रैसँग हार्मोनियम बजाउँथिन् ।

भजनका पारखी मारवाडीका पत्नीहरू उनलाई घरमा त्यही हार्मोनियम सिकाउन बोलाउँथे । उनी मासिक शुल्क लिएर बजाउने शौख पालेका महिलाहरूलाई झन् त्यो वाद्य यन्त्र बजाउने तलतल बढाइदिन्थिन् । सिकाउन त खै के सिकाउँथिन् होलिन् ?

उनलाई घरबाट निस्कन मेरा जागिरे बाबालाई भन्दा बढी हतार हुन्थ्यो । एकै दिनमा तीन चार घरमा सिकाउन जानु पर्थ्यो, त्यसैले । जहिलेसम्म जीवित रहिन्, आफ्नो शौख र कामलाई निरन्तरता दिइरहिन् । बाबा पनि त्यही पथमा हिँडे । देह त्याग्नुअघि भेन्टिलेटरबाट केही दिन कृत्रिम श्वास लिए । नत्र अस्पतालको ओछ्यानमा बेहास भएर सुत्नुभन्दा अगाडिसम्म जागिर खाइरहेका थिए । आफूलाई व्यस्त बनाइरहेका थिए । मेरो चाहना पनि त्यही छ, जबसम्म बाँचिन्छ तबसम्म हात खुट्टा चलिरहोस् ।

मेरी मुमा गोपाल बाबाकी भक्त थिइन् । गोपाल बाबाको आश्रम रहेका बनारस, जवलपुर जस्ता स्थानमा उनको बाक्लै आउजाउ थियो । भजनमा तल्लीन हुँदा हुँदै हार्मोनियम बजाउन पनि जानिन् । उनले कसैबाट तालिम पाएकी थिइनन् । जसरी मेरा बाबाले पनि हार्मोनियम बजाउन कसैसँग सिकेनन् । आमासँग भजनमा जाँदा जाँदै सिकेका थिए होलान्, शायद ।

कपाल फुलेकी मेरी हजुरआमाले एक दिन भोटाहिटीबाट ‘१०० दिन मे हार्मोनियम सिकिए’ भन्ने पुस्तक किनेर ल्याइन् । अनि बाबालाई भनिन्, ‘यसमा लेखे जसरी मलाई हार्बिन बजाउन सिकाइ दे त !’

बाबा ट्वाँ...।

उनले कहिले सिकेका भए पो ताल–सुरको ज्ञान हुन्थ्यो । आखिर उनी पनि आमा झैँ जबरजस्ती बजाउन सिकेका वाद्य वादक नै परे । अनि मुमा आफैँले पुस्तक हेरेर सिक्ने निधो गरिन् । त्यही किताबमा लेखे अनुसार एक दिन बजाउँदै थिइन्, ‘माई नेम इज एन्थोनी गोन्जालविज..।’ गाउन त के नै सक्थिन् र । अनि मैले मुमाले बजाइरहेको तालमा शब्द थपिदिएँ ।

बस् मुसुक्क हाँसिन् मात्र । अनि भनिन्, ‘नजिस्क्या !’

०००

ममा भने मुमा र बाबाको गुण आएन । मैले पनि जबरजस्ती सिक्ने कोसिस गरेकै हुँ । तर, ‘सारेगमपधनिशा, शानिधपमगरेसा’ भन्दा बढी बजाउन जानिन ।

गितार पनि बजाउने कोसिस गरे । झ्याइँ..झ्याइँ... बाहेक केही गर्न जानिन । बरु मेरी छोरी बजाउँछे । हाम्रो परिवारको एउटा पुस्ता नालायक निस्कियो मात्र । म क्या ! नत्र त्यो जबरजस्तीको बजाउने कलाले निरन्तरता पाइरहन्थ्यो ।

छोरी स्कुलमा पियानो बजाउँथी । ड्रम पनि बजाइ । रहर लाग्यो छोरीलाई राम्रै ड्रमर बनाउने । घर नजिकैको साङ्गीतिक तालिम केन्द्रमा पनि भर्ना गरिदिए । ड्रम सिक्न गएकी छोरीको एक दुई सय मिटर हिँड्दा मन परिवर्तन भएछ । फेरी पियानो नै सिक्न थालि ।

आजकाल अमेरिकामा पढ्छे । सङ्गीतको शौख छाड्न सकेकी छैन । हजुरबाउ झैँ । किबोर्ड कोठामा राखेकी छे । अनि ‘युकुलेले’ भन्ने वाद्य यन्त्र पनि बजाउँछे । म भने त्यसलाई गितारको बच्चा भन्छु । विज्ञानको प्रगतिले काम गरेको छ । उ उता गाउँछे, म यस्ता सुन्छु । मेसेन्जरले काम पाउँछ । जसरी बाबा गाउँथे, म सुन्थे । गाउने नभए पनि सुन्ने क्रम भने भङ्ग भएको छैन, मेरो ।

छोराको आवाज केही खुलेको छ । राम्रै गाउँथ्यो । लाग्यो, बाबाको गुण उसमा आएछ । गायक बनाउने शौख चढ्यो । घरसँगै गायन सिक्न पठाएँ । छोरा त गितार पो सिक्न थालेछ । न गाउन सिक्यो, नतै बजाउन । आजकाल त गाउने बजाउने दुवै शौखबाट टाढिएको छ । लकडाउनले अरूका बच्चा झैँ मेरो छोरालाई पनि बिगारेको छ । अनलाइन गेममा मात्र भुल्छ । 

त्यसैले अब चाहना फेरिएको छ । चाँडै विद्यालय खुले हुन्थ्यो अनि मेरो छोरा स्कुल जान थाले हुन्थ्यो । कमसेकम पढ्ने क्रमले त निरन्तरता पाउँथ्यो ।

०००

उमेरमा त गीत, मैले पनि गाएँ । आफ्नै लागि, अरूका लागि । हिजोआज पनि गाउँछु, कहिले काहीँ । तर, मात्र आफ्नै लागि । होसमा गाउँदिन बेहोसीमा मात्र गाउँछु । बुढीसँग माया बढेको बेला गाउँछु, उ ठुस्किएको बेला गाउँछु । अनि उसले अति नै कर गर्दा पनि गाइदिन्छु । बाबा जस्तै छु, म । बुढीले भनेको सबै मान्ने तर, आफैँलाई आँटिलो देखाइ रहने ।

मलाई गीतले होइन, गीतका भावले तान्छन् । शब्द र सङ्गीतले तान्छन् । त्यसैले रत्न समसेर थापाको निधनमा केही टोलाएँ । कुनै समय नयाँ समाज साप्ताहिकका लागि लिएको उनको अन्तर्वार्ता सम्झिए । मेरा बाबाका साथी थिए, स्वर्गीय थापा । कमलपोखरीको उनकै निवासमा गएको थिएँ, भेट्न ।

स्थापनाको सुरुवाती समयमा रेडियो सगरमाथाले संतितज्ञ अम्बर गुरुङको एकल साँझ आयोजना गरेको थियो । म पनि काम गर्थेँ, त्यहाँ । त्यही बेला पहिलो पटक भेट भएको थियो, उनीसँग । आफ्ना मित्रहरूको पत्रिका फेरि  भएको थाहा पाउँदा अत्यन्त खुसी भएका थिए ।

अन्तर्वार्ता सकिएर हिँड्दा भनेका थिए, अब बन्द हुन नदेऊ है ! तर, शब्दका राजाको आग्रहलाई अक्षरको खेती गर्नेले निरन्तरता दिन सकेन । फेरि एक पटक बन्द भयो, नयाँ समाज । तर, लाग्यो मेरा बाबाले त्यस्ता दिग्गजहरूको सङ्गत गर्न पाएका रहेछन् र पो । अनि सङ्गीतलाई माया गर्ने लत बसेको । 

थकथक लाग्छ, कमसेकम बाबाले भन्दा केही कम गाउन सक्ने भएको भए पनि हुन्थ्यो नि । मनभित्र उम्लिरहेका सङ्गीतका भेलहरू त शान्त बनाउँथेँ । छोरीले जति बजाउन जानेको भए पनि हुन्थ्यो नि । कुनै वाद्य यन्त्रमा सलबलाउन चाहेका हातलाई स्वतन्त्र त छाडिदिन सक्थेँ । सङ्गीत प्रतिको मेरो लगाव यो जुनीमा श्रोता भएर मात्र बित्ने भयो । त्यही एउटा दुखेसो रहने भयो । 

स्वर सम्राट् नारायण गोपालसँग पनि राम्रै सम्बन्ध गाँसेका रहेछन्, जवानीमा । उनका अनेकौँ रोचक कुरा सुनाउँथे । नारायण गोपाल बितेका दिन अनुहार मलिन बनाएका थिए । थप एक पेग रित्याएका थिए । अनि गाएका थिए, ‘आजै र राति के देखेँ सपना, मै मरी गएको...!’ 

०००

मैले गीत–सङ्गीतमा ठुलो योगदान दिएको भनेको अन्ताक्षरी खेलेरै मात्रै हो । त्यो क्षेत्रमा मेरो योगदान त्योभन्दा बढी केही छैन । बेहोसीमा गाइएका गीतबाट मैले सङ्गीतमा योगदान दिएको छु भन्न मिल्दैन । होसमा गाएँ भने त गधाले पनि नाक खुम्चाउँछ होला । जसरी मेरा बाबाले मैले देख्ला कि भनेर मौका मिल्दा खुम्चाउँथे । तरपनि, म गाइरहन्थे । आफैँलाई किशोरकुमार सम्झिएर । 

थकथक लाग्छ, कमसेकम बाबाले भन्दा केही कम गाउन सक्ने भएको भए पनि हुन्थ्यो नि । मनभित्र उम्लिरहेका सङ्गीतका भेलहरू त शान्त बनाउँथेँ । छोरीले जति बजाउन जानेको भए पनि हुन्थ्यो नि । कुनै वाद्य यन्त्रमा सलबलाउन चाहेका हातलाई स्वतन्त्र त छाडिदिन सक्थेँ । सङ्गीत प्रतिको मेरो लगाव यो जुनीमा श्रोता भएर मात्र बित्ने भयो । त्यही एउटा दुखेसो रहने भयो । 

हुन त ठेट्नो उमेरमा मैले पनि लेखेकै थिएँ, गीत–कविता । शायद सबैले लेखे होला जस्तो लाग्छ, जीवनमा एक न एक पटक । अनि म अछुतो रहने कुरै थिएन ।

मायामा अल्झेको बेला मायामा गीत लेखिन्थ्यो । मुटु जलेको बेला जलन कै लेखिन्थ्यो ।

कतिलाई अचम्म लाग्दो हो । म बिछोडमा आनन्द लिन सक्दो रहेछु । त्यही गीत गाएर, लेखेर मन बहलाउन सक्दो रहेछु । अनि एउटा डायरीमा अक्षर कोर्थेँ । आफैँलाई संसार कै सबैभन्दा लेख्न जान्ने कवि–गीतकार सम्झिएर । अहिले हराइ सके मेरा ती सारा भ्रम । शायद मेरी पत्नीको आँखा लागेको हुन सक्छ । मिलन र बिछोडका केही गीत–कविता कोरिएका मेरो त्यो डायरी हिजोआज अलप भएको छ । कुनै बेला कड्किएर सोधेकी थिइन्, ‘कसको लागि लेखेको यो ?’

म मुस्कुराएँ मात्र । भने, ‘बिहेपछि तिमीलाई सुनाउनु पर्छ भनेर नि ।’ पत्याए पो । 

साँच्चै साह्रै, खराब थिए, ती गीत–कविता । अहिले भेटे आफैँ च्यात्थेँ । मेरा भ्रमलाई चिराचिरा बनाउँथे । तर, अहिले पनि विश्वास छ, बाबाले झैँ कसैले मिठो गाउँछ भने म रातभरि सुनिदिन सक्छु । सङ्गीतमा डुब्न सक्छु । मायाका गीत सुन्दा आफैँ मायामा हराउन सक्छु । बिछोडका गीत सुन्दा आफैँ बिछोडमा परेको कल्पन सक्छु ।

आखिर बाबाले जे नाम दिए म त्यही भएँ, ‘टुक्रे उस्ताद ।’ न उनी जस्तै गाउन जानियो, नतै लेख्न । मेरो गायकीको मञ्च शौचालयभन्दा बाहिर कहिल्यै निस्कन सकेन । जहिले निस्कियो, त्यहिले सुन्नेको ओठ लेप्राउने बहाना मात्र बनियो ।

०००

बितेछ बाबा, हजुरका आवाज नसुनेका ८ वर्ष । हजुरको सुसेली नसुनेका ८ वर्ष । यो बाहेक अरू कुनै लोक छ अनि हजुरको अस्तित्व अहिले पनि छ भने बस्, मस्त रहनुस् । बिन्दास रहनुस् । आडम्बरबाट मुक्त रहनुस् । जसरी यो लोकमा जिउनु भएको थियो । त्यसरी मरी रहनुस् !

श्रद्धाञ्जली !

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि