बैशाख १५, २०८१, शनिबार
               

नागका चित्र कति वास्तविक? कति शुद्ध ?

रामप्रसाद धिताल
साउन १०, २०७७

ADVERTISEMENT

श्रावण शुल्क पञ्चमी अर्थात् नागपञ्चमी । सनातन वैदिक धर्मावलम्बी गृहस्थाश्रमीले विधिपूर्वक नागको पूजा गर्ने विशेष दिन । शास्त्रमा गृहप्रवेशद्वारका दुवैतर्फ नागको मूर्ति बनाई विधिपूर्वक पूजा गर्ने विधान छ ।

गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुवो, सर्स्युँ, धानको लावा आदि पदार्थ चढाई, चन्दन–पुष्प–अक्षताले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रहरूमा उल्लेख छ । यसरी विधिपूर्वक पूजा आराधना गर्नाले नाग प्रसन्न हुने र वर्षभरि सर्प, बिच्छी आदि विषालु जीवहरूको भय नहुने विश्वास छ ।

यसैको प्रतीकस्वरूप हिजोआज हिन्दू धर्मावलम्बी घरको मूलद्वारमा नागको चित्र टाँसेर पूजा गर्छन् । पहिलेपहिले सिप भएकाहरूले नागका चित्र बनाउँथे र छिमेकीलाई बाँड्थे । पुरोहितले आफैँले बनाएर पनि यजमानका घरमा लगेर टाँस्ने चलन थियो । मानिस बेफुर्सदिला हुँदा र बढी आधुनिक बन्न खोज्दा अहिले शहरदेखि गाउँसम्म छापाका नागको चित्र टाँस्ने चलन बढेको छ । चिल्ला कागज र हेर्दा आकर्षक देखिने भएकाले सबै यसमा आकर्षित छन् । तर छापाका अधिकांश चित्रले धर्म र पर्वको मर्म बोक्दैनन् । तिनमा न त चित्र नै शुद्ध हुन्छन्, न मन्त्र नै ।

मन्त्र नै अशुद्ध

वैदिक सनातन धर्ममा देव तथा पितृ कार्यका लागि संस्कृत मन्त्र प्रयोग हुन्छ । वचन (मन्त्र) शुद्ध हुनुपर्छ, नभए उल्टो फल दिन्छ भन्ने मान्यता छ । तपाईँले कतिको याद गर्नुभएको छ, छापाको नागका मन्त्र पूरै अशुद्ध हुन्छन् । नागका चित्रको तल्लो भागमा विशेषगरी दुई मन्त्र उल्लेख हुन्छ, वज्रवारक र अष्टनागका :

पहिलो (वज्रवारकको) मन्त्र

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
जैमिनिश्च सुमन्तुश्च पञ्चैते बज्रवारकाः ।।
मुनेः कल्याणमित्रस्य जैमिनेश्चाऽनुकीर्तनात् ।
विधुदग्निभयं नास्ति लिखिते च गृहोदरे ।।

दोस्रो (अष्टनागको) मन्त्र

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिता ।

तपाईँ–हामीले ढोकामा टाँस्ने अधिकांश चित्रमा यी मन्त्र भ्रष्ट (अशुद्ध) देखिन्छन् । अधिकांशले अशुद्ध मन्त्र पढ्दै चित्र टाँस्ने र नागको पूजा गर्ने गर्छन् । अशुद्ध वचन पढेर गरेको कार्यले के फल दिनु !

चित्र पनि अशुद्ध

शिवरात्रिमा भगवान् शिवको, रामनवमीमा श्रीरामको, कृष्णाष्टमीमा श्रीकृष्णको, र श्रीपञ्चमीका दिन सरस्वतीको पूजाअर्चना गरिएजस्तै नागपञ्चमी नागको आराधना गर्ने दिन हो । तर छापाका नागका चित्र हेर्दा नागको नभई अरू देवीदेवताको पूजा गर्ने दिन पो हो कि भन्ने भान पर्छ । तिनमा नाग देवतालाई भन्दा अरूलाई नै प्रधान मानिएको देखिन्छ । अझ कतिपय चित्रमा त नागकै अपमान गरिएको समेत देखिन्छ ।

१. माथिको चित्रमा हेर्नुहोस् त यहाँ दुई नागको बीचमा भगवान् कृष्ण बसेका छन् । नागहरूले बालक कृष्णलाई संरक्षण गरिरहेका छन् । यहाँ नागिनीहरूले कृष्णको आराधना  गर्न लागेको जस्तो पनि देखिन्छ ।

२. माथिको चित्र हेर्नुहोस्, नागको शिरमा बसेर भगवान् कृष्ण बाँसुरी बजाइरहेका छन् । बालक कृष्णले नागलाई दमन गरेकोजस्तो देखिन्छ । नागिनीहरू कृष्णको पूजाअर्चना गरिरहेका छन् ।

३. माथिको तस्बिरमा भगवान् कृष्ण नागलाई आसन बनाएर बसेका छन् । नागले उनलाई संरक्षण गरेका छन् । अरू सर्प र नागले उनको आराधना गरिरहेको देखिन्छ ।

४. यो चित्रमा त झन् नागको अपमान गरिएको जस्तो देखिछ । नागद्वारा बेरिएका बालकृष्ण हातले नागलाई प्रहार गरिरहेका देखिन्छन् । उनी नागको एउटा मुखलाई धकेलिरहेका छन् । अरू सर्प निरीहजस्ता देखिएका छन् ।

यी र यस्तै मार्काका चित्र आज बिहान सबैको घरघरमा टाँसिँदै छ । त्यसो त श्रीमद्भागवत महापुराणको दशम स्कन्धमा भगवान् कृष्णले नागको दमन गरेको प्रसङ्ग पनि आउँछ । त्यसैलाई आधार मानेर नागले कृष्णको आराधना गरेको चित्र बनाउन खोजिएको होला । तर त्यहाँको प्रसङ्ग बेग्लै छ, अनि यहाँको बेग्लै । यहाँ नागलाई देवता मानेर पूजा गर्ने सन्दर्भ छ । त्यसैले नागकै अपमान हुने र मन्त्र नै अशुद्ध भएका चित्र टाँसेर कस्तो फल मिल्ला, सनातन वैदिक धर्मावलम्बीले सोच्नै पर्छ ।

[email protected]

पत्रकार धिताल धर्म, संस्कृति र भाषा साहित्यमा लेख्‍ने गर्छन् ।

कस्तो लाग्यो ?

यो पनि