बैशाख १४, २०८१, शुक्रबार
               

‘त्रिभुवन आर्मी क्लबले देशको इज्जत बढायो’

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै देशको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।

सेनालाई विजय तुल्याउन  नवयुग श्रेष्ठले २ दुई तथा सन्तोष तामाङ, टङ्कबहादुर बस्नेत र सुदिल राईको एक– एक गोलको योगदान रह्यो । उक्त विजयसँगै सेनाको टीम दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालको लगातार दबाबका बावजुद श्रीलङ्का पुलिस स्पोर्ट्सका इभान्सले  खेलको २८औँ मिनेटमा गोल गर्दै श्रीलङ्का पुलिसलाई शुरुआती अग्रता दिलाए पनि त्यो उसका लागि क्षणिक खुशी  रहन पुग्यो ।

सेनाका सन्तोष तामाङले ४१औँ मिनेटमा गरेको गोलले निकै वाहीवाही पायो । त्यसको दुई मिनेटमै अर्थात खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठको गोलले नेपालाई सहजै अग्रता दिलायो ।

खेलको ५०औँ मिनेटमा टङ्क बस्नेतले गरेको गोलले नेपाललाई सशक्त फुटबल खेलाडी उत्पादन गरिरहेको मुलुकका रूपमा परिचित गरायो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि सेनाको टिम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो ।

प्रतियोगिताको ८३औँ मिनेटमा सुदिल राईले गरेको गोलले नेपाललाई ४–१ को अग्रता दिलायो । इन्जुरी समयमा नवयुगको दोस्रो गोलसँगै सेनाले ५–१ को फराकिलो अन्तरको जित हात पार्न सफल भयो ।

 एशियन फुटबल कन्फेडेरेसन (एएफसी) को कार्यक्रम अनुसार त्रिभुवन आर्मी फुटबल क्लबको आयोजनामा उक्त एएफसी कप–२०२१ भएको हो । दर्शकको  बाक्लो उपस्थिति रहेको उक्त खेलले विभागीय टोलीका रूपमा रहेको सेनाको खेलकुद क्षेत्रको च्याम्पियनको छविलाई थप उजागर गरेको छ ।

नेपालले दोस्रो चरणमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त प्रतियोगिता वैशाख १ गते हुँदैछ । विजय प्राप्त गरेपछि त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले  दोस्रो चरण प्रवेश गर्ने टिमको पहिलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए ।

पछिल्ला वर्षमा खेलकुद क्षेत्रमा सेनाले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना राष्ट्रिय च्याम्पियन बनेको थियो । दक्षिण एशियाली केलकुद (साग) मा १७९ सैनिक खेलाडीका सहभागी भएको सेनाले नेपालको खेलकुदको छविलाई विश्व समुदायमा उजागर गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि