बैशाख १२, २०८१, बुधबार
               

छोरीबाटै अन्यायमा परेको भन्दै ज्येष्ठ नागरिकले गुहारे प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन १२, २०७९

ADVERTISEMENT

काठमाडौं महानगर ४ धुम्बाराही बस्ने सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

न्यायको याचना गर्दै उनले आफ्नो पत्र प्रधानमन्त्रीको सचिवालयमा समेत दर्ता गराएका छन् ।उनले प्रधानमन्त्रीको सचिवालयमा फागुन ११ गते बिहीबार गरिएको पत्रको दर्ता नम्बर ४४८१ रहेको जनाएका छन् ।

८१ वर्षीय सर्वजीतले आफ्नी तीन छोरीमध्ये कान्छी छोरी कुसुम लामा तामाङको नाममा आफूले किनेको घरजग्गा थाहै नदिई छोरीले बेचेको जनाएका छन् । पत्रमा उनले आफू एक्लो र अलपत्र परेको जनाएका छन् ।

प्रधानमन्त्रीलाई दिएको पत्रमा आफ्नी छोरी कुसुम प्रभु ग्रुपअन्तर्गत उच्च पदमा कार्यरत रहेको पनि उल्लेख गरेका छन् ।

सर्वजीतले कानून नजान्ने भएको उल्लेख गर्दै आफू आधा दर्जन मुद्दामा जकेडिएको जनाएका छन् । उनले आफूसँग मर्नु वा न्याय माग्नेबाहेक अरू कुनै बाटो नभएको जनाएका छन् । उनले छोरीले एकलौटी ढंगले आफ्नो घरजग्गा बेच्न नपाउने र सो घरको भाडासमेत आफूले पाउनुपर्ने पत्रमा लेखेका छन् ।

सर्वजीतले बिहीबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई पनि पत्र लेखेको जनाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा दर्ता गरिएको पत्रको पूर्ण पाठ

श्री सम्माननीय प्रधानमन्त्रीज्यू

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिंहदरबार, काठमाडौं

विषय : न्यायको याचना गरिएको बारे ।

महोदय,

म निवेदक सर्वजीत सिंह तामाङ ८१ वर्षीय ज्येष्ठ नागरिक हुँ । म अन्यायमा परेकोले तपसिल बमोजिमको ब्यहोरा खुलाउँदै न्यायका लागि यो पत्र लेख्दै गुहार मागेको छु।

१. मेरा दुई श्रीमतीमध्ये जेठी श्रीमतीबाट एक छोरी र कान्छीबाट दुई छोरी गरेर तीन जना छोरी छन् । जेठी श्रीमतीको एक वर्षअघि निधन भएको हो । कान्छी श्रीमती पहिले नै पोइल गएकी थिइन् । छोरीहरू आआफ्नो बाटो लागि सकेको कारण म ज्येष्ठ नागरिक अहिले एकल रूपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको छु ।

२. मेरा तीन छोरीमध्ये जेठीबाट उर्मिला तामाङ (सबैभन्दा जेठी) र कान्छीबाट उर्गेन तामाङ र कुसुम तामाङ (कान्छी) छोरी छन् । कुसुम लामा प्रभु ग्रुपअन्तर्गतको उच्च ओहदामा कार्यरत छन् । बौद्धमा बस्ने जेठी छोरी उर्मिलाले कहिलेकाहीँ आएर मेरो हेरविचार गर्ने गर्दछिन्।

३. मेरो जीवनको महत्त्वपूर्ण समय थाई एयरवेजको सेवामा बित्यो । थाई एयरवेजमा भएको कमाइले मैले केही सम्पत्ति जोडेको थिएँ । काठमाडौंको गैरीधारामा जोडेको घरजग्गासमेत बेचबिखन गरी मैले काठमाडौं ४ धुम्वाराहीस्थित घर बनाएको थिए । त्यो घर मैले प्रभु बैंकबाट ऋण लिएर बनाएँ । सो ऋण मैले चुक्तासमेत गरेँ ।

४. जीवनमा पारिवारिक खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो । त्यही ठानेर मैले १० वर्षअघि सो घर मेरो कान्छी छोरी कुसुम लामा तामाङको नाममा राखेको थिए । उनलाई म धेरै माया गर्दथेँ । उनलाई सबै किसिमले सहयोग गरेँ । जागिरमा रहँदा युरोप घुमाउन लगेँ । एउटा विश्वासले मैले कुसुमको नाममा घर राखिदिएँ । तर मेरो जीवनमा तिनै छोरीले घात गरिन् । मलाई थाहै नदिई सो घरजग्गा बेचिदिइन् । पाँच करोड ६० लाख रुपैयाँमा म बसिरहेको घर एकलौटी रूपमा बेचिदिइन् । मसँग त्यो घरबाहेक कुनै अचल सम्पत्ति छैन । सोही घरको पाँचौँ तलामा म रहँदै आएकोमा सामान्य केही फर्निचर, लत्ताकपडा र किचेनका सामग्रीबाहेक म सँग केही छैन । सो घरको सुरुको दुई वर्षको भाडा मैले पाएको थिएँ । करिब ८ वर्षदेखिको करिब एक करोड जति घर भाडा मैले पाएको छैन । यतिबेला म घर न घाटको जस्तै भएको छु । आफैँले दुख गरेर छोरीको नाममा किनेर राखेको घर अमानवीय तरिकाले सडकमै पुग्ने गरी बेचिदिँदा म शारीरिक रूपमा कमजोर र मानसिक रूपमा पनि विक्षिप्त भएको छु।

५. आफ्नै सन्तानबारे यी शब्द लेखिरहँदा मलाई अत्यन्तै पीडा महसुस भइरहेको छ । तर नियति यही हो । समय र नियतिले मलाई यो उमेरमा करिब आधा दर्जन मुद्दाको बोझमा जकेडेको छ । म कानुन जान्दिनँ । यहाँ मैले भनेको सबै हुनपर्छ भन्ने छैन । तर मैले न्याय पाउनु पर्छ । मैले जोडेको घर मेरो सहमति बिना बेचबिखन हुन सक्दैन । मैले बनाएको घरको भाडा मैले पाउनुपर्छ ।

६. यतिबेला मेरो घरमा अनधिकृत मानिसहरू आउने तथा  थर्काउने गरिरहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जको क्षेत्राधिकारमा पर्ने मेरो घरमा गुन्डाहरू प्रयोग गर्ने, अनधिकृत रूपमा जोकोहीलाई भाडालगाउने जस्ता क्रियाकलाप भइरहेका छन् । म बुढोलाई मानसिक तनाव दिने काम भइरहेको छ । यस्तो अवस्थामा मर्ने कि न्यायका लागि गुहार्नेबाहेक मसँग अरू कुनै बाटो भएन । कानसमेत कम सुन्ने म बुढो न्यायको भिख माग्दै यो पत्र लेख्दै छु । कृपया न्याय गरी म वृद्धको उद्धार गरिदिनु हुनेमा आशावादी छु ।

 

सर्वजीत सिंह तामाङ

ज्येष्ठ नागरिक (८१ वर्ष)

काठमाडौं ४, धुम्वाराही (पिपलबोट नजिक)

(न्युज कारखानाबाट)

यो पनि