चैत १५, २०८०, बिहीबार
               

पर्यटकबाट घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

बुटवल । नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् ।

सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम उठाएका थिए । सो रकम प्रहरीलाई बुझाएर पर्यटकको समूह नेपाल प्रवेश गरेको थियो ।

घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार अबेर राति गुजरात ट्राभल्समा काम गर्ने यादव र प्रहरी जवान लोहारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले घुस लिएको खबर आउनासाथ गुप्ता र लोहार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए ।

कोभिड महामारीका कारण बन्द रहेको बेलहिया नाकाबाट प्रहरी र ट्राभल एजेन्टको मिलेमतोमा भारतीय पर्यटक र सर्वसाधारण नेपाल भित्रिरहेका बेलहियाका नागरिक अगुवा राम बस्नेत बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि