बैशाख १३, २०८१, बिहीबार
               

‘हनी ट्रयाप’मा पारेर १८ लाख लिने पक्राउ

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

दाङ प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) कसुरमा तीन जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । कानुनी परामर्शको नाममा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर ती महिलाहरूले एक पुरुषसँग बार्गेनिङ गरेको पाइएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिएको छ ।

५० लाख रुपैयाँबाट बार्गेनिङ गरेर १८ लाख रुपैयाँमा कुरा मिलाई आपराधिक रूपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिएको दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

'हनी ट्रयाप'मा पारेर पैसा असुल्ने ती महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका छौँ', उनले भने, 'अनुसन्धानले उनीहरूले पैसा असुल गरेको पुष्टि पनि भएको छ ।'

रिजालले पुरुषहरूलाई 'हनी ट्रयाप'मा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालिका- १५ निवासी ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र घोराही- ५ निवासी ३२ वर्षीया सुष्मा परियार रहेको बताए ।

पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेराबाट ७ असारमा पीडितलाई धम्की दिई पीडितबाट लिएको १७ लाख रुपैयाँको सिभिल बैंकको चेक एक थान बरामद भएको र नगद एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले पीडकको साथबाट चेक र तमसुक पनि बरामद गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ३ (ख)बमोजिम व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झूटो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान रहेको हुँदा उनीहरुलाई सोहीअनुसार अदालतमा मुद्दा दर्ता गरिएको रिजालले बताए ।


कस्तो लाग्यो ?

यो पनि