बैशाख ०७, २०८१, शुक्रबार
               

सरस्वतीका श्रीमान् भन्छन्- ‘रुपा सुनार कोठा खोज्न होइन सर्वेक्षणमा आएकी हुन्’
मुकुन्द भन्छन्- ‘डलरको लोभले हामीलाई फसाइन्, जातको कुरा त उनले गरेकी हुन्’

ADVERTISEMENT

बुधबार बिहान ११ बजे, बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालय अघि केही भीड थियो । अघिल्ला दिनदेखिबाट मात्रै लकडाउन केही खुकुलो भएकाले होला थोरै चहलपहल बढेको देखिन्थ्यो । सिमसिम पानी परिरहेको थियो । 

केही सरकारी वकिल कार्यालय अगाडिको छाप्रोमा ओत लागिरहेका थिए । कोही रुखकै फेदमै भए पनि सिमसिम पानीबाट आफूलाई छेल्दै थिए । हल्का मैलोझैँ देखिने सेतो कपडा लगाएका एक पुरुष भने कार्यालय बाहिर-भित्र गर्दै थिए । बेचैन झैँ देखिएका उनी सिमसिमे पानीको बेवास्ता गर्दै आउजाउ गरिरहेका थिए ।

उनको अनुहारको भाव र ओहोरदोहोरबाटै बुझ्न सकिन्थ्यो उनी बेचैन छन् । उनलाई केही समस्या छ । यत्तिकैमा बाहिर छाप्रामा बसेका एक युवाले ती पुरुषसँग टाढैबाट भने ‘गलत सूचना र धारणालाई चिर्ने जिम्मेवारी पनि मिडियाकै हो । मूलधारका मिडियाले समयमै सही सूचना सम्प्रेषण गर्न नसकेकै कारण हामी प्रति गलत धारणा विकसित भइरहेका छन् ।’

ती पुरुषले ओठ लेब्राउँदै भने- ‘खै केहोे, खै केहो ? सबैले हामीलाई मात्रै नराम्रो भनिरहेका छन्, हाम्रो कुरा कसैले लेख्दैनन् । खाली हामीले छुवाछुत भनेको मात्रै भनेर समाचार आइरहेको छन् ।’ फेरि ती पुरुषले थपे- ‘सुनियोजित रुपमा फसाउन खोज्नेबाट बच्ने के नै औषधि हुँदो रहेछ र खै ।’

मिडियाले एकतर्फी कुरा लेखेको भन्ने उनीहरूको संवाद सुनेपछि यो पंक्तिकारलाई चासो लग्यो । आफू पनि मिडियाकर्मी भएकाले उनीहरूको पनि कुरा बाहिर ल्याउने धर्म सम्झिँदै उनीहरूसँग जिज्ञासा राखेँ । 

ती बेचैन देखिएका पुरुष उनै रहेछन् जो तीन दिनअघि सानो जात भन्दै कोठा नदिएको आरोपमा पक्राउ परेका घरबेटीका श्रीमान् मुकुन्द प्रधान । ५१ वर्षीय मुकुन्द आफ्नी ५० बर्षीया श्रीमती हिरासतमा परेपछि कानुन व्यवसायीसँग परामर्शमा आएका रहेछन् ।

मैले पनि उनलाई आफू मिडियाकर्मीको रुपमा परिचय दिएँ । अघिसम्म राम्रोसँग संवाद गरिरहेका उनीले मलाई नै शङ्काको दृष्टिले हेरे । उनले ममाथि आक्रोश पोखे ‘तपाईँहरू कस्ता मिडिया ? खाली एकतर्फी कुरा मात्र लेख्ने ? मिडियाले आफ्ना समाचारले पार्ने जोखिम कहिल्यै आँकलन गर्नुभएको छ ? आफूलाई विवेकी बनाउनुस् ।’ 

एक वाक्य भुईँमा खस्न नपाउँदै उनले हाजिरी जवाफको र्यापिडफाईयर शैलीमा मविरुद्ध आक्रोश पोखे । 

बिस्तारै बुझ्दै जाँदा उनको गुनासो आफ्नी पत्नीलाई षड्यन्त्र पूर्वक फसाइएको भन्ने रहेछ । काभ्रे साँगा चोक पुर्खौली घर भएका उनीहरु स–परिवार आठ–दश बर्षअघि युएन पार्कनजिक बसाइँ सरेका रहेछन् । कृषि खेतीपाती र व्यापार गर्नेे उनीहरु अहिले बबरमहलमा घर बनाएपछि पसल गर्दा रहेछन् । घरको तल्ला फ्ल्याटका कोठा भाडामा लगाउँदै आएका हरेछन् । तर, आजसम्म दलित भनेर कसैलाई पनि छोईछिटो नगरेको उनले सुनाए । 

रुपा सुनारले आफ्नी पत्नीलाई सरस्वतीलाई सुनियोजित रुपमा फसाएको पति मुकुन्दले बताए । रुपाले नै जातको कुरा निकालेकोले उनी कोठा चाहिएरभन्दा पनि कसैलाई न कसैलाई फसाउने नियतले नै आएको बताए । त्यो जालमा आफूहरू परेको उनको भनाइ छ ।

रुपा आफ्ना लागि कोठा हेर्नभन्दा पनि काठमाडौंमा दलितलाई कोठा नदिने सङ्ख्या कति रहेछ भन्दै सर्वेक्षण गर्दै हिँडेको हुनसक्ने आरोप उनको आशङ्का छ । सुरुदेखि नै संवाद रेकर्ड गर्नु, पछि उनले आफूलाई कामी छोरी हुँ भन्नुले त्यो शङ्काको सुविधा दिएको मुकुन्दको तर्क छ । उनी भन्छन्- ‘यो घटना छुवाछुतको होइन । मेरी पत्नीले जातको कुरा गरेकै छैन । ती बैनी आफैंले म कामीकी छोरी हुँ दिने की नदिने भनिन् । कामी हुँ भन्दा घरबेटीहरूले कस्तो प्रतिक्रिया जनाउँछन् । उनी काठमाडौंमा जातको आधारमा कोठा नदिने रहेछन् की रहेछन् भन्दै सोध-सर्वेक्षणमा हिँडेकी हुनुपर्छ । नत्र सुरुमै कोठाको कुरा गर्दा देखिकै सबै वार्तालाप किन रेकर्ड गरेकी रहिछन् त ।’ 

उनले आफूले काम गर्ने एनजिओमा आफ्नो कामको प्रगति देखाउन वा छोटो समयमै भाइरल हुन आफ्नी पत्नीविरुद्ध मुद्दा हालेकी मुकुन्दको आरोप छ । 

लकडाउनको समयमा कोठाका सामान ढुवानी गर्ने साधन नचल्ने बेलामा कोठा खोज्न भन्दै रुपा आउनुमै मुकुन्दले संशय देखेका छन् । उनी भन्छन् ‘लकडाउनमा कुन  घरभेटीले निस्केर जा भन्यो होला ? लकडाउनमा कोठा छाडेर जाऊ भनेको भए उनले सो घरबेटीविरुद्ध पनि मुद्दा हाल्नुपर्ने होइन र ?’

आफ्नी पत्नी सरस्वतीले जातीय विभेद गर्ने मनसाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना, पेसा, चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको उनी दाबी गर्छन् ।

मुकुन्द भन्छन् - ‘मेरी श्रीमतीले त घरसल्लाह गरी खबर गर्छु भनेको हो । घर मुली त म हो नि । मसँग सल्लाह नगरी उनले कसरी कोठा भाडा दिन सक्छिन् । २४ सै घण्टा सँगै बस्ने मान्छे कहाँको हो ? के गर्छ सबै नसोधी घरमा सल्लाह नगरी कसरी दिने ?’ मुकुन्द प्रश्न गर्छन् ।

रुपाले मिडियाकर्मी भन्दै आफ्नो संस्था र दलितसम्बन्धी आफू कार्यरत संस्थाको शक्तिको दुरुपयोग गरी सुनियोजित रुपमा अतिरञ्जित गरेको आरोप लगाउँछन् । उनी भन्छन् । उनी भन्छन् ‘कुनै करार सम्झौता गरेको छैन । बैना लिएको पनि छैन । उनी आफैँ म कामी भएर नदिने भनेको हो भन्दै कुरा बढाएर फोन रेकर्ड गर्दै मिडियामा आएकी हुन् ।’

वर्षौँदेखि आफूहरू सामाजिक सद्भावमा बस्दै आएको भन्दै मुकुन्द आफू  सबै खाले विभेदको विपक्षमा रहेको बताउँछन् । उनी दुखेको पोख्छन् -‘सुनियोजित रुपमा फसाउनेको  बाट बच्ने औषधि नै के छ र?’

यो पंक्तिकार सरकारी वकिल कार्यालय परिसरमा मुकुन्द प्रधानसँग कुरा गरेर बाहिरिँदै गर्दा मुख्य सडकमा केही झुन्ड प्रदर्शन गर्दै थिए । प्रहरीका केही भ्यान थिए । तल आर्ट काउसिन्ल जाने बाटोमा सडकको बाँयापट्टि प्ले कार्ड लिएर करिब एक सय हाराहारीमा मानिसहरू उभिएका थिए । 

प्ले कार्ड पढेपछि थाहा भयो, त्यो भी उनै सरस्वतीको रिहाईमो माग गर्दै आएको रहेछ । ‘सरस्वती प्रधानलाई रिहाइ गर’ जातीय छुवाछुतको नाम दिएर सुनियोजित रुपमा फसाउने षड्यन्त्र बन्द गर’ लेखिएका प्ले कार्ड देखिन्थे ।

नरदेवी घर बताउने मीना महर्जन भने भनिन्- ‘बाहिर मिडियामा एक पक्षीय कुरा मात्र आएको देखियो, घरबेटीको कुरा आएको छैन । यसैले, के रहेछ भने बुझ्न आएको हुँ । सरस्वतीको पतिको र स्थानीयको कुरा सुन्दा उहाँ निर्दोष र फसाइएको जस्तो लाग्यो । यसैले प्रदर्शनमा साथ दिएकी हुँ ।’

जातको कुरा घर बेटीले नगरेको बताउँदै मीनाले पहिला सुरुमा आफू यो तल्लो जातको हुँ भन्दै आम सुनार समुदायलाई अपमान छुवाछुत गर्ने उनैलाई कारबाही गर्नुपर्ने उनले आक्रोश पोखिन् । उनले भनिन्- ‘मुद्दा चलाउनुपर्ने भए पहिला तीनै रुपा सुनारलाई मद्धा चलाउनुपर्याे नि । उनी आफैंले पहिला म कामी हुँ, सानो जातकी हुँ भनेकी हुन् । उनैले छुवाछुतलाई प्रोत्साहन गरेकी हुन् ।’

यस्तै, त्यही भेटिएका वल्लभ ठकुरीले भने सरस्वती आफ्नो छिमेकी भएको बताए । उनले भने ‘उहाँलाई म वर्षौंदेखि चिन्दछु । हाम्रै नेवार समुदायमा पनि सानो जात र ठूलो जात भनिन्थ्यो । तर, उहाँले सबैलाई समान व्यवहार गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो ।’ नेपालमा आरक्षणले जातीयतालाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सो प्रणाली प्रति उनले आक्रोश पोखे ।

त्यही भीडमा कसैले -‘आरक्षणले जातीय प्रथाका जरालाई नै मलजल गरेजस्तो भएको’ भन्दै आपसमा कुरा गरेको सुनिन्थ्यो । त्यसैमा लोली मिलाएर केही थप्दै थिए- ‘हो किनकि कोटा दिएर जातीय विभेद कम हुने होइन, बरु संस्थागत हुन जाँदो रहेछ।’

नोट यो सामग्री प्रकाशित भइसक्दा सरस्वती प्रधान भने रिहाइ भइसकेकी छिन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि