चैत १५, २०८०, बिहीबार
               

दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–८ मा रहेको हिले बजारका १४ घर दोर्दी खोलाले बगाएको छ भने ५० घर उच्च जोखिममा रहेको छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दी खोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।

उनले भने, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्छन्- “घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।” एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ ।

त्यस्तै, पाँच/छ वटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताए । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ ।

 स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०–१२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । “विगतमा पनि खोलामा बाढी नआएको होइन तर यसरी आएको पहिलो चोटि नै हो” वडाध्यक्षले भने । 

राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताए ।


कस्तो लाग्यो ?

यो पनि