बैशाख १२, २०८१, बुधबार
               

तीन दिन भारी वर्षा र बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । अबको तीन दिन देशका विभिन्न भागमा भारी वर्षा हुने र बाढी तथा पहिरोको जोखिम भएको सचेत रहन र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने भएकोले बाढी तथा पहिरोको जोखिम रहेको जनाएको हो ।

बंगालको खाडीमा रहेको यास चक्रवातको प्रभावले नेपालको मौसम प्रभावित भएको प्राधिकरणले जनाएको छ । उक्त चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा रहेकोले नेपालको मौसममा असर पर्ने प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारीले जनाएका हुन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो, डुबान जोखिम आँकलन गरेर स्थानीय सरकारसँग समन्वयमा रहेर सावधानी अपनाउन वा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ । खासगरी नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दाले बढी सावधानी अपनाउनु पर्ने छ ।

प्राधिकरणले पर्वतारोहणको क्रममा रहेकाहरूलाई तत्काल फिर्ता बोलाउन पनि भनेको छ ।

यता, जल तथा मौसम विज्ञान विभागकाअनुसार शनिबारसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको उसले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि