बैशाख ०८, २०८१, शनिबार
               

प्रहरीको सक्रियतामा एकैदिन ६ हजार ६५९ थान अक्सिजन सिलिन्डर संकलन

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ८५४ भरिएका र ४ हजार ८०५ खाली सिलिन्डर रहेका छन् ।

संकलन गरिएका सिलिन्डरमध्ये ५ हजार २९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका १ हजार ३६६ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ । कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो ।

साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि