
बेलारुसमा राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोविरुद्ध भएको आन्दोलनमा सरकारी टेलिभिजनकर्मी सहभागी भएका छन् ।
अगस्त ९ मा भएको निर्वाचनको परिणाममा राष्ट्रपति लुकासेन्कोले धाँधली गरेको भन्दै भएको प्रदर्शनमा सरकारी टेलिभिजनकर्मी सहभागी भएका हुन् ।
सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले ८०.१ प्रतिशत मत प्राप्त गरेको निर्वाचनसम्बन्धी निकाय सेन्ट्रल इलेक्सन कमिसनले बताएको छ । प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले भने १०.१२ प्रतिशत मात्रै मत प्राप्त गरेकी छन् ।
टेलिभिजनकर्मी आन्दोलनमा सरिक भएसँगै सरकारी टेलिभिजनहरूले अघिल्ला कार्यक्रम दोहोर्याइरहेका छन् ।
विभिन्न ठाउँमा भइरहेका प्रदर्शनलाई प्रहरीले दबाउन खोजेपछि आन्दोलनले थप उग्ररुप लिएको बताइएको छ ।
राष्ट्रपतिविरुद्ध भइरहेका प्रदर्शनको प्रसारणमा रोक लगाउन केही पत्रकार नियन्त्रणमा लिइएपछि आन्दोलन चर्किएको हो ।
आफ्ना प्रदर्शन पूर्ण रूपमा प्रसारण गर्न माग गर्दै शनिबार सरकारी टेलिभिजन च्यानलअगाडि हजारौँ प्रदर्शनकारी जम्मा भएका बिबिसीले जनाएकाे छ ।
निर्वाचनअघि करिब ६/७ हजारभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई प्रहरी हिरासतमा यातना दिइएको बताइएको छ ।
आइतबार राजधानी मिन्स्कमा भएको प्रदर्शन बेलारुसको स्वतन्त्र भएदेखि यताकै 'ऐतिहासिक ठूलो प्रदर्शन' भएको स्थानीय स्वतन्त्र समाचार संस्था टट डट बाइले जनाएको बिबिसीमा उल्लेख छ ।