बैशाख ०८, २०८१, शनिबार
               

नेपालमा अड्किएका हङकङवासीले गुहारे सरकारलाई

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

नेपाल आएर लकडाउनका कारण यतै अड्किएका हङकङवासी नेपाली नागरिकले सरकारलाई गुहारेका छन् ।

परराष्ट्र मन्त्रालयलाई आज ज्ञापनपत्र बुझाउँदै उनीहरूले अविलम्ब हङकङ फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्रालयको उत्तर पूर्व एसिया हेर्ने सहसचिव लोकबहादुर थापालाई भेटेर उनीहरूले आफ्ना समस्याबारे अवगत गराएका हुन् ।

नेपालमा करिव चार सय जना हङकङवासी नेपाली नागरिक अड्किएको अनुमान छ । नेपालमा लगाएको खोपलाई हङकङले मान्यता नदिएका कारण उनीहरू गएको मध्य बैशाखदेखि 'बिचल्ली'मा परेका छन् । 

यस्तै समस्या अन्य मुलुकले भोगे पनि धेरैजसोले कूटनीतिक पहल गरी गाँठो फुकाएका थिए । तर हङकङस्थित नेपालको महावाणिज्य दूतावासले कूटनीतिक कौसल देखाउन सकेको छैन ।

यस्तो छ ज्ञापनपत्र 

श्रीमान् सहसचिवज्यू

परराष्ट्र मन्त्रालय

सिंहदरबार, काठमाडौं ।

विषय : हङकङ फर्कने व्यवस्था मिलाइदिनू हुन ।

महोदय,

हामी निवेदनहरू विभिन्न समयदेखि हङकङमा बसोबास गर्दै आएका नेपाली नागरिक हौँ । हामी पारिवारिक तथा सामाजिक कामले गर्दा नेपाल आएका थियौँ । तर अचानक भएको निषेधाज्ञा (लकडाउन) का कारण हामीहरू नेपालमै बिचल्लीमा परेका छौँ । हामीलाई यथासम्भव चाँडो कर्मभूमि हङकङ फर्किने व्यवस्था मिलाइदिनु हुन निवेदन गर्दछौँ ।

क. नेपालमा करिब चार सय जनाको हाराहारीमा हङकङमा बस्ने नेपाली अड्किएर बस्नु परेको अनुमान छ । त्यसमध्ये दुई सय २० भन्दा बढी हाम्रो सम्पर्कमा रहेका छन् । हामीमध्ये कतिपय परिवारका सदस्य गुमाएका कारण हाम्रा आफन्तहरू नेपाल आउनु परेको थियो । कतिपय आमाहरू दूधे बालकलाई हङकङमा छोडेर नेपाल आएका छन् ।

ख. हामीमध्ये धेरैले हङकङमा व्यापार व्यवसाय गर्दै आएका छौँ । घर फ्ल्याट वा अन्य वस्तु वा सेवा खरिद गरेका छौँ । त्यसक्रममा स्वाभाविक रूपमा बैंकबाट ऋण लिनु परेको थियो । परिवारका महत्त्वपूर्ण सदस्य अहिले कर्मभूमिमा नहुँदा आर्थिक रूपमा भएको नोक्सानी चुलिँदो छ । रोजगारी गरेर परिवार पाल्नेहरूलाई पनि निकै समस्या भएको छ । नेपाल र हङकङ दुवैतिर परिवार बाँडिएर बस्नु परेको अवस्था छ ।

ग. नेपाल सरकार हाम्रो भरोसाको केन्द्र हो । त्यसैले नेपालमा अड्किएका हामी नेपालीको जतिसक्दो छिटो हङकङ जाने प्रबन्ध मिलाइदिनू हुन विनम्र निवेदन गर्दछौँ ।

घ. यो सहज अवस्था नभए पनि अवरोध वा बाधा पन्छाउन असम्भव भने छैन । केही समयअघि फिलिपिन्स र इन्डोनेसियामा पनि यस्तै समस्या परेको थियो । हङकङमा बस्ने फिलिपिन्स र इन्डोनेसियाका नागरिक पनि उतै रोकिएका थिए । तर उनीहरूको कूटनीतिक पहलकदमीले समस्या समाधान भएको छ । फिलिपिन्स र इन्डोनेसियाको कन्सुलर र कूटनीतिक प्रतिनिधिले हङकङ सरकारसँग संवाद गरेर द्विपक्षीय खोप मान्यता दिने सम्झौता भएको छ । परिणामत: उनीहरूका नागरिक हङकङ जान पाएका छन् ।

हामीले नेपालमा खोप लगाएको क्युआर कोडसहितको रिपोर्ट पनि लिइसकेका छौँ । यो अवस्थामा तत्काल हङकङसँग द्विपक्षीय खोप मान्यता दिने सम्झौता (Bilateral vaccination record recognition agreement) का लागि कूटनीतिक पहल गर्न हामी निवेदन गर्दछौँ । सम्भव भए नियमित उडानबाट अड्किएका नेपालीको उद्धार गर्ने र त्यो सम्भव नभए चाटर्ड फ्लाइटको व्यवस्था मिलाउन विशेष आग्रह गर्दछौँ । आशा छ नेपालको नागरिकता र पासपोर्ट लिएका हाम्रो आवाज श्रीमान् सहसचिवज्यूमार्फत नेपाल सरकारले प्राथमिकताका साथ सुन्ने छ ।

 

नेपालमा रोकिएका हङकङवासी नेपाली नागरिकहरूको तर्फबाट निवेदकहरू


कस्तो लाग्यो ?

यो पनि