चैत १६, २०८०, शुक्रबार
               

तमु समाज बेलायतद्वारा ११ लाख २५ हजार रुपैयाँ सहयोग

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

लण्डन । बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमु समाज युकेले नेपालमा कोरोना पीडितका लागि हालै ११ लाख २५ हजार रुपैयाँ  सहयोग गरेको छ ।

समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख २५ हजार रुपैयाँ, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आएकी राधा पौडेलको फाउण्डेशनलाई तीन लाख रुपैयाँ सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए ।

तमु समाज युकेले चन्दामार्फत रकम संकलन गरेको हो । जसको प्रचार–प्रसार अभियान सञ्चालनमा संस्थापक अध्यक्ष थिए । बेलायतमा कोरोना देखिएपछि समाजले यहाँको सरकारी अस्पताललाई एक हजार पाउण्ड बराबरको पिपिइसमेत सहयोग गरेको थियो ।

त्यस्तै बेलायतमा रहेका नेपाली वृद्धवृद्धालाई पिपिइ वितरण, नेपाली विद्यार्थी र कोरोनाका कारण जागिर गुमाएका करिब ३०० जनालाई खाद्यान्न वितरणसमेत गरेको थियो । समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई विशेष महत्वसहित भव्यताकासाथ मनाउँदै आएको छ ।

यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैँ सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।

नेपालमा कोरोना देखिएसँगै समाजले काठमाडौं र पोखरामा गरी दुई ठाउँमा बेरोजगारलाई रु दुई लाख बराबरको खाद्यान्न वितरण गरेको र पटक–पटक गरी कोरोना पीडितका लागि हालसम्म नेपालमा मात्रै रु ३० लाख बराबरको सहयोग गरेको संस्थापक अध्यक्ष गुरुङले बताए । 


कस्तो लाग्यो ?

यो पनि