चैत १६, २०८०, शुक्रबार
               

अनुमति बिना राजदूत नभेट्न लिङ्देनको निर्देशन

नेपाल फ्ल्यास
पुस ०४, २०७९

ADVERTISEMENT

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना सांसदहरूलाई राजदूतहरूले भेट्न बोलाएमा अनुमति नलिन नजान निर्देशन दिएका छन्।

राप्रपाको केन्द्रीय सचिवालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले पार्टीबाट विजयी सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन्।

विदेशी राजदूत वा दूतावासले बोलाएर रक्सीमासुको भोजभतेर गर्ने भएकोले त्यस्तोमा नपरेर मर्यादामा बस्न अध्यक्ष लिङ्देनले भनेका छन्।

‘कहिले कुनै विदेशी दूतावासहरूले कार्डहरू पठाउँछन्। फलाना दूतावासले बोलाएको छ भनेर कुदेर गएर रक्सी खानेले रक्सी खाने र मासु खान पाउनेले मासु खाने नगर्नुस्’ उनले भने, ‘अब पार्टीलाई सोधेर जानुपर्छ। पहिलेको व्यक्तिगत सम्बन्ध र सम्पर्क भए पनि अब त्यो लागू हुँदैन। अब केही जिम्मेवारीहरू छन्, हामीहरू जिम्मेवार रहनुपर्छ।’

अध्यक्ष लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताए।उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् सोही गर्ने जनाए। उनले आफूहरू मन्त्री बन्नका लागि कसैको घर नधाउने स्पष्ट पारे।

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको पनि बताए। उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए।

उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त परिणामबाट आफू सन्तुष्ट नभएको उल्लेख गरे। पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रूपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए।

राप्रपा सुध्रिएको हो भनेर देखाउने मौका आएको भन्दै त्यसको नतिजा अर्को चुनावमा आउन सक्ने अध्यक्ष लिङ्देनले बताए। 

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्सेर जबराले पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्‍मा आएको बताए। उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने तर्क गरे।

ठूला पार्टीहरूसँग काम गर्ने शक्ति पनि नभएको उनको भनाइ छ । उनका अनुसार राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसद्‍बाट देखाउने छ।

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताए। उनले आफूहरूले भोलिको नेपाल कस्तो हुनसक्छ भन्ने कुरा संसद्‍मा प्रदर्शन गरेर देखाउने दाबी गरे।

अघिल्लो चुनावमा १ सिटमात्र जितेको राप्रपाले प्रतिनिधिसभामा सात जना प्रत्यक्षसहित १४ जना सांसद जितेको छ।

यो पनि