बैशाख १३, २०८१, बिहीबार
               

कांग्रेस महाधिवेशन : शनिबारसम्म क्रियाशील सदस्यता टुंग्याउने सहमति

नेपाल फ्ल्यास
असोज ०१, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गरेका थिए ।

शीर्ष नेताहरूको छलफलमा टुंगिन बाँकी क्रियाशील सदस्यताको टुंगो (भोलि) शनिबारसम्म लगाउने सहमति भएको एक नेताले जानकारी दिए । बैठकमा क्रियाशील सदस्यताको टुंगो लाग्‍न बाँकी रहेका १३ जिल्ला भोलिसम्म टुंग्याउनेबारे छलफल भएर सहमतिमा टुंग्याउने सहमित बनेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखकलगायत नेता सहभागी बैठकमा क्रियाशील सदस्यता विवाद समाधान गरी यही असोज ५ गते निर्धारित वडा अधिवेशन समयमै सम्पन्न गर्ने सहमति जुटेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यताको काम सपन्न गरी सोको विवरण सार्वजनिक गरिसकेको छ भने ५७ जिल्लामा वडा अधिवेशनसमेत सम्पन्न गरिसकेको छ ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । बाँकी २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते तोकिएको छ । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले गाउँ-नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि