चैत १६, २०८०, शुक्रबार
               

माधव र झलनाथलाई पार्टीबाट निकालेमा के होला ? : राज्यमन्त्री मानन्धर

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेकपा माओवादी केन्द्रले ४ जना सङ्घीय सांसदलाई कारबाही गरेको प्रति असन्तुष्टि जनाएका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौंको तारकेश्वर नगरपालिका ४ पिपलबोटमा सुन्दर चोक ढल, ढलान निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री मानन्धरले प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्नु राजनीतिक रुपमा गलत भएको टिप्पणी गरे ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टी सदस्य नरहने गरी माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरूको सांसद पद गएको छ । जनताबाट प्रत्यक्ष चुनिएका उनीहरूको पद गएपछि पर्न जाने असरप्रति चिन्ता जनाउँदै राज्यमन्त्री मानन्धरले यसरी प्रतिशोधका हिसाबले कारबाही गर्दै जाने हो भने शीर्ष नेताहरूकै पद जाने औँल्याए ।

‘एमालेले माधव नेपाल र झलनाथ खनाललाई पार्टीबाट निकालेमा के होला ? जनप्रतिनिधिलाई पदबाट निकाल्दै जाने हो भने भोलि कस्तो अवस्था आउला ? जनप्रतिनिधीलाई यसरी हटाईदा कस्तो असर पर्छ त्यो नसोचीकन हतारमा निर्णय गर्नु राम्रो होइन,’ राज्यमन्त्री मानन्धरले भने ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफैबाट विनियोजित बजेटबाट बनेको ढल बाटो उद्घाटन गर्ने कार्यक्रममा राज्यमन्त्री मानन्धरले समृद्ध नेपाल खुसी नेपालीको अवधारणाअनुसार सरकारले काम गरिरहेको बताए । विगतमा समयमा विभिन्न आन्दोलनमार्फत धेरै राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै अब विकास गर्ने समय आएको बताए । उनले भने ‘विगतमा धेरै आन्दोलन भए यसले राजनीतिक परिवर्तन गर्याे, तर अहिले अव विकास गर्ने समय आएको छ । राजनीतिक स्थायित्व भएमा मात्र विकासले गति लिने रहेछ भन्ने केही वर्षयता अनुभव भएको छ ।’

सुखी नेपाल र समृद्ध नेपाल जसले बनाए पनि हुने भन्दै राज्यमन्त्री मानन्धरले भिजन भएको र काम गर्ने सक्छु भन्ने कोही आएमा आफूले कुर्सी छाडिदिन तयार रहेको जनाए । 

अहिलेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पालामा धेरै विकासका काम भएको उल्लेख गर्दै उनले यही सरकार कायम रहेमा अझै धेरै कामहरू हुने दाबी गरे । ‘काठमाडौं धुलो मुक्त भएको छ । बागमती, विष्णुमती, धोबी खोलालगायतका अधिकांश खोला कोरिडोरमा बाटो बनेको छ,’ राज्यमन्त्री मानन्धरले भने ‘अझ यो सरकार पुरा अवधि रहिरहेमा अधुरा बाँकी काम समेत पुरा हुनेछ ।’

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले आफ्नो नगरभित्रका विभिन्न भौतिक पूर्वाधारको विकास र बिस्तार तीव्र रुपमा गरिएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सडक, बाटो, ढल, खानेपानीलगायतका पूर्वाधारको काममा निरन्तर लाग्ने स्थानीय तथा उपभोक्ता समितिलाई धन्यवाद थिए । 

आफूहरूले दिगो विकासको अवधारणा अनुसार विकासका काम गरेको समेत नगर प्रमुख बोहराको दाबी थियो । ‘भौतिक विकाससँगै  मानवबिकासलाई समेत हामीले सँगै लगिरहेका छौ, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन क्षेत्रमा अध्ययन गरी हामीले विकासका काम गरिरहेका छौँ,’ उनले भने । आफ्नै नगरभित्र आन्तरिक पाठ्यक्रम समेत निर्माण गरेको बताउँदै उनले  महिला तथा बालबालिकाको क्षेत्रमा विशेष काम भइरहेको बताए ।

तारेकश्वर नगरपालिकाकी उपप्रमुख भवानी धितालले नगरपालिकाभित्र विकास संँगसँगै स्वरोजगार र सृजनशीलता उद्यमको काम भइरहेको बताइन् । कुनै पेसा व्यवसाय नभएका बेरोजगारहरूलाई समेत उपप्रमुख धितालले नगरपालिकामा आएर आफ्ना समस्या राख्न आग्रह गरिन् । आफूहरूले तत्कालै गुनासा सम्बोधन गरेर स्वरोजगार तथा उद्यमशीलताको तालिम दिएर काम गर्ने वातावरण तयार गरिरहेको उनको दाबी थियो । 

कार्यक्रममा तारकेश्वर ४ का वडाध्यक्ष नरेन्द्रदास श्रेष्ठले आफ्नो वडामा मेलम्चीको पानी छिटो ल्याउने पहल भइरहेको जानकारी गराए । आफ्नो वडाका सबै टोलमा सडक, पानीको पाइप तथा ढल चुस्त दुरुस्त रहेको बताउँदै उनले कुनै गुनासाे भएमा वडाकार्यलयमा आएर सम्पर्क गर्न वडाबासीलाई आग्रह गरे । 

यो पनि