चैत १६, २०८०, शुक्रबार
               

नेकपाका दुवै समूहसँग सहकार्य नगर्ने कांग्रेसको निष्कर्ष

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले तत्काल नेकपाका दुवै समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवा निवासमा विहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेसम्म कानुनी रुपमा नेपाल कम्युनिस्ट पार्टी एउटै छ र त्यो दलको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको बताउँदै  कुनै पनि समूहले गरेको प्रस्तावका बारेमा निर्णय गर्ने बेला नभएको बताए । 

‘कम्युनिस्ट पार्टी एकै छ । संसदीय दलको नेता ओली नै हुनुहुन्छ । उहाँको पार्टी एकै रहन्छ वा अर्कै परिस्थिति आउँछ भन्ने कांग्रेसको नियन्त्रणको विषय होइन । कांग्रेसले यो विषय टुंगो लागेपछि मात्रै आफ्नो धारणा बनाउँछ,’ महत्तले भने । 

यसका अलावा उनले प्रतिनिधिसभा बैठक सुरु भएपछि जसरी राजनीतिक घटनाक्रम विकसित हुन्छ सोहीअनुरुप कांग्रेस अघि बढ्ने पनि बताए । 

उनले भने,‘ संसद बैठक सुरु भएपछि जसरी परिस्थिति अघि बढ्छ, त्यो अवस्थामा कांग्रेसले आवश्यक निर्णय गर्छ । अहिले यो समूह वा अर्को समूहलाई समर्थन गर्छु भन्ने बेला भएको छैन ।’

संसदमा अविश्वासको प्रस्ताव पेस भयो भने त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि