बैशाख ०६, २०८१, बिहीबार
               

अब युवाले नेतृत्व लिने हो : प्रदीप ज्ञवाली

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्ने र अब देश युवाको हातमा आउने बताएका छन् ।

ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले प्रधानमन्त्रीले ओलीले नेतृत्व हस्तान्तरणको घोषणा गरिसकेको भन्दै अब युवाले नै देशको नेतृत्व लिने बताए ।

उनले अब युवाले देशको नेतृत्व गर्ने बेलामा कतिपय नेताहरु आफूले नेतृत्व लिन खोजिरहेको भन्दै उनीहरुले ‘कुर्सी मात्रै’ देखेको बताए ।

ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरिसक्नुभएको छ अब युवाले नै देशको नेतृत्व लिने हो । तर नेताहरूले अहिले पनि आँफैले पद प्राप्ति गर्न खोजिरहनु भएको छ । देशलाई हाम्रै कार्यकालमा बदल्ने हो । नेताहरूको चस्मा दोषी छ उहाँहरुले राम्रो काम गरेको नदेखेर कुर्सी मात्रै देख्ने काम गरिरहेका छन् ।’

कार्यक्रममा ज्ञवालीले प्रधानमन्त्री ओलीले ५ पुसमा संसद विघटन गर्नुभन्दा अघिल्लो दिन पनि खुमलटार पुगेर पनि एकताको विषेश महाधिवेशन गरौं भनेर आग्रह गरेको बताए । उनले भने, ‘पार्टीमा विभाजनको बिउ रोप्ने काम नगरौं भन्नुभयो, विभाजनकारी दस्तावेज फिर्ता लिन अन्तिम प्रयास प्रधानमन्त्रीले गर्नुभयो तर प्रचण्ड कमरेडले सुन्नुभएन । एकता जोगाउन अभियोग पत्र फिर्ता लिन अन्तिम प्रयास गर्दा पनि सफल भएन ।’

ज्ञवालीले यसअघि बसेका ७५ वटा सचिवालय बैठकमा कोरोना, सीमा अतिक्रमणलगायत समस्याका बारेमा बैठकमा छलफल नै नभएको र सोफा ठूलो कि सानो, कुर्सी कस्तो, पद कसलाई के दिने भन्नेमा मात्रै छलफल भएको बताए ।

उनले नेताहरुले देशको मानको कुरो नभई आफ्नो मान र मर्यादा मात्रै खोज्ने काम गरेको बताए ।

उनले प्रतिपक्षीले कहिले प्रधानमन्त्रीको राजीनामा नमागेको तर आफ्नै पार्टीका नेताहरूबाट जहिले पनि सरकारलाई असफल बनाउने काम भएको बताए ।

उनले भने, ‘सरकारले आवश्यकताअनुसार काम गर्न सकेन होला त्यो आफ्नो ठाउँमा छ । तर पार्टीभित्रका नेताहरूले कहिल्यै सरकारलाई सहयोग गर्न चाहेनन् । अवस्था यस्तो भयो चार जना नेतालाई रिझाउन सकिएन । मूल्य मान्यता सबै धरापमा पारेर नेताहरूलाई रिझाउन सकिएन । जनताले राजीनामा मागेको भए प्रधानमन्त्रीले पक्कै पनि राजीनामा दिनुहुन्थ्यो होला तर नेताहरूलाई रिझाउनकै लागि देशलाई भड्खालोमा हाल्न दिनुभएन ।’

ज्ञवालीले जनताले यही ठाउँमा पुर्‍याएकाले जनताले नै न्याय दिनेछन् भनेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताए ।

ज्ञवालीले पार्टी र राजनीतिलाई बहुमत र अल्पमतको खेलको रूपमा अगाडि बढाउन खोजेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीलाई पार्टीभित्र काम गर्न नदिने वातावरण बनाइयो।’ 

अरुनै कामका लागि सांसदहरुलाई हस्ताक्षर गराउन लगाएर छिर्के हानेर अविश्वासको प्रस्ताव ल्याउने खेल गरिएको उनले आरोप लगाए ।

चौतर्फी रूपमा घेराबन्दी गरिएपछि ससद विघटन गर्ने निर्णयमा प्रधानमन्त्री पुगेको उनको दाबी छ । ज्ञवालीले अब देश चुनावमा अघि बढिसकेको र समृद्धिका सपनालाई अब साकार पार्ने काम गर्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि