काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संशोधनबारे अध्ययन का लागि कार्यदल गठन गरेको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदल बनाएको हो ।
नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको स्रोतको भनाइ छ । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेका छन् ।
स्रोतकाअुसार शनिबारको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठनका लागि प्रस्ताव पेश गरेका थिए। यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कार्यदल गठनको प्रस्तावमा कुनै प्रतिवाद नगरेको स्रोतको भनाई छ ।
राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान संशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई जिम्मा दिइएको स्रोतले जनाएको छ । नेपालको संविधान अनुसार प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ।
सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको भएपनि निर्णय भने नभएको स्रोतको भनाइ छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी स्वरुप कार्यदल गठन गरेको स्रोतको दाबी छ ।