काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्तामा पुगेपछि नेपालमा पनि कम्युनिस्ट सिद्धिने खतरा देखिएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने टिप्पणी गरेका हुन् ।
उनले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताए ।
अध्यक्ष दाहालले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए।
उनले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभलालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताए।