नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा मङ्गलवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटनमा उनले विश्वमा कम्युनिस्ट शक्तिहरू कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको बताए । “ दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ”, उनले भने, “यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।”
नेपालको कम्युनिस्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भने, “समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिस्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।”
पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वमै कम्युनिस्ट शासन भएको देश नेपाल र कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने जनाए । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनले जानकारी दिँदै लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताए । “नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ”, उनले भने, “अब आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण आवश्यक छ ।”
नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको जिकिर गर्दै कार्यकर्ताको मूल्याङ्कन उसको आचरण र कामका आधारमा हुने प्रस्ट्याए ।
नेकपा महासचिव विष्णु पौडेलले हनुमानले जडीबुटी ल्याऊभन्दा दोर्णाचल पर्वत उचालेर ल्याएजस्तो काम नेकपाले गरेको तर्क गरे । जनताको पीडा, समस्या र अभावमा कम्युनिस्टको परीक्षा भइरहेको बताउँदै वडास्तरदेखि केन्द्र तहसम्मका सबै नेता कार्यकर्ताले जनताका पक्षमा असल काम गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
महासचिव पौडेलले भने, “पार्टी नेतृत्वसँग कर्णालीको पीडा छ । यहाँहरूले भन्नुभएको छ कि सङ्घीय सरकारले किन बुझ्दैन कर्णाली ? अब कर्णालीको पीडा र भइरहेको विभेद हुन नदिने वाचा गर्दछु ।”
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेतृत्वको थोरै सहयोग पुगे कर्णाली अगाडि बढ्ने बताए । उनले कर्णालीको मर्म बुझ्न नेतृत्वलाई अनुरोध गर्दै नेकपाको एकीकृत शक्तिले यहाँको पहाडलाई भत्काएर मैदान बनाउन सकिने दृढता व्यक्त गरे ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीसहित यहाँका १० वटै जिल्लाका नेकपाका अध्यक्षले जिल्लास्तरमा हालसम्म भए/गरेका पार्टीका काम, गतिविधि र अन्य प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो । भेलामा कर्णाली प्रदेश समितिका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवसहित पार्टी अगुवाको सहभागिता रहेको थियो