बैशाख ०८, २०८१, शनिबार
               

कोरोनाले रापिएको सहर अनि म र मेरो दसैँ

चेतन पाण्डे
कात्तिक १९, २०७७

ADVERTISEMENT

लर्के खसीको पक्कु चपाउँदै, काँक्रोको खल्पी टोकेर जिब्रो ट्वाक्क पड्काउँदा पनि खल्लै लाग्यो, यसपालिको दसैँ ।

के नपुगे–नपुगे जस्तो, के नभए–नभए जस्तो । बुढी रिसाएर माइती जाँदा सिरानीमा छटपटाउने शिर झैँ । प्रेमिकाको वियोगमा निराश हुने मन झैँ । समय नै बेइमान बने झैँ । यस्तै रह्यो, यसपालिको दसैँ ।

नातागोता आफन्त सबै अपरिचित बने । घरको दैलो नाघ्नेहरू कोरोना बम झैँ लागे । मेरै घरमा विस्फोट हुन आए कि झैँ लाग्ने । जो आए पनि, कहिले जालान् झैँ लाग्ने । पाहुना घर बाहिर निस्कने बित्तिकै निकै बेरदेखि बलजफ्ती ओठमा झुन्डाइएका मुस्कानले राहत पाउँथ्यो । स्यानिटाइजरले फेरि एक पटक काम पाइहाल्थ्यो । मास्कले फेरि केही बेर गन्हाउने श्वासबाट राहत पाउँथ्यो । अनि एउटा लामो श्वास फेरेर एकले अर्काको मुख हेरिन्थ्यो । भगवानसँग सामूहिक प्रार्थना गर्थ्यौँ । प्रभु ! ती फलानो आफन्तको आगमनले हाम्रो मनभित्र बढेको कोरोना सङ्क्रमणको भयलाई गलत साबित गरिदेऊ है भन्दै । अनि अर्को पाहुना नआउन् भन्ने कामना पनि गरिन्थ्यो नै । आखिर मानिसको जात नै परियो । स्वार्थी हुँदो रहेछ । आफ्नो ज्यान मात्र प्यारो हुने ।

खै अरूलाई कस्तो लाग्दो हो कुन्नि । मलाई दिक्क लाग्छ । आशीर्वादको नाममा हृदयभित्र आत्मीयता रित्तिएकाहरूको घर–घर चहार्नु पर्ने, यो चाडको चलन हेर्दा ।

कोरोना भाइरसले मानिसको शरीरलाई जति सङ्क्रमित पारेको छ, माया गर्ने मन र सोच्ने दिमाग झनै बढी सङ्क्रमित भएका छन् कि जस्तो पो लाग्न थालेको छ । परिचित हुन् वा अपरिचित, हरेक छायासँग तर्सनु पर्ने । यो कस्तो बाध्यता ?

खै अरूलाई कस्तो लाग्दो हो कुन्नि । मलाई दिक्क लाग्छ । आशीर्वादको नाममा हृदयभित्र आत्मीयता रित्तिएकाहरूको घर–घर चहार्नु पर्ने, यो चाडको चलन हेर्दा । बस्, यो देखावटीपनबाट बच्ने बहाना भने पाइयो, यो दसैँमा । तर जो मनमा बसेका छन्, उनीहरूसँग भेट्ने बहाना पनि खोसेर लग्यो । त्यसमा भने दिक्क लागेको छ । टिका थाप्न जानै पर्ने कतिपय घरमा कोरोना बम विस्फोट भइसकेका रहेछन् । रहर गर्दा पनि जान पाइएन । खल्लो त लाग्दो रहेछ । कोरोनाको डढेलो सल्किएको यो सहरमा मनाइएन दसैँ, यसपालि ।

सारा इष्टमित्र अनि जति दुस्मन छन्, ती सारालाई यही खाल्डोभित्र नै छन् । सीमितताको परिधिमा बाँचेको मलाई दसैँ कै बहानामा कतै बाहिर जानु पनि हुँदैन । अन्य वर्ष झैँ खाने पिउने बहानालाई भने कोरोना सङ्क्रमणको भयले छेकेन पनि । त्यसमा भने रमाइलै लाग्यो । फूलपातीसँगै सुरु भएको खाने पिउने क्रमलाई कोजाग्रत पूर्णिमामा जमरासँगै विसर्जन गरियो । मनाइयो, आफ्नै पारामा । घर कै परिधिभित्र । मौसमी फ्लुले सताइएकी पत्नीलाई हँसाउने असफल प्रयास गर्दै । टिकाभन्दा पनि दक्षिणा सङ्कलन गर्न नपाएर खिन्न बनेको छोराको मनलाई सहलाउँदै, बहकाउँदै । 

अनि पो यो फुर्सदिलो दसैँ मै सिकियो । चिल्ला भाँडा मस्काउने तरिका । मासु पकाएको डेक्ची माझ्ने तरिका । मन छेड्यो त बस् एउटै वाक्यले । त्यही डेक्चीमा औँला फिराउँदै, जिब्रो लेप्र्याउँदै पत्नीले हानेको को पेचले, ‘छ्या ! ममीले चिल्लो भाँडा पनि माझ्न सिकाउनु भएको रहेनछ, छोरालाई ।’ 

अनि मनमनै भने, ‘धत्, मेरो भाग्य !’ कत्ति न भाँडा माझ्न नजान्नेको यो संसारमा कामै नभए जस्तो । मनदेखि गर्ने सहयोगको पनि अवमूल्यन हुन थाले जस्तो । स्याबासी दिनुपर्नेहरुको नजर नै पक्षाघातको सिकार भए जस्तो । के यो पनि कोरोना कै सङ्क्रमणको फल हो ? कि हाम्रो हेर्ने नजरको दोष ?

०००

२०६८ सालको दसैँ थियो, त्यो । फूलपातीको दिन । मासुको सौखिन मेरा बाबाको आदेश मान्दै खसी बजार गइयो । गज्जब कै जक्खु खसी रोजियो, किनियो । सीधै बगरे कहाँ आइयो । खसी किन्न गएको बाबासँगै म र मेरो भतिज मासु बोकेर मात्र घर भित्रियौँ । हरेक वर्ष झैँ ।

त्यो दसैँभन्दा केही महिनाअघि मात्रै म सामान्य बिरामी परेको थिएँ । सकेसम्म मासु र पिउने पदार्थबाट टाढै बस्दा राम्रै हुन्थ्यो । डाक्टरको सल्लाह मानेको भए । त्यही कारण मैले मासु खान त्यति रुचि देखाइन । थोरै मै चित्त बुझाइयो । त्यस बेला मेरी अर्धाङ्गिनी शुद्ध शाकाहारी थिइन् । बालबच्चा सबै खसीको मासु भने पछि एक बित्ता टाढै बस्ने । विकासे कुखुरो पो स्वादिलो मान्छन्, हिजोआजका बालबालिका । अचम्म लाग्छ । अनि त त्यो जख्नु खसीको धेरै मासु त बाबाले खाए । दसैँबाट सुरु भएको बाबाको त्यो खसीको मासु खाने क्रम तिहारमा मात्र टुङ्गियो ।

त्यही वर्षको तिहारमा मेरा बाबाले कहिल्यै भिन्न प्रस्ताव पनि राखे । लक्ष्मीपूजाको दिन जुवाका रूपमा नभएर रमाइलोका लागि कौडा खेल्ने । हाम्रो घरमा केही मेरा साथीभाइ र केही बाबाका साथीभाइ जम्मा भयौँ । राति अबेरसम्म कौडा खेल्नले कौडा, तास खेल्नेले तास खेले । सामान्य रूपमा । सरकारी भाषामा जुवा भनिए पनि त्यो सामान्य मनोरञ्जन मात्र थियो । त्यहाँ हार्नेको घरबार उजाडिएन र जित्नेले घरबार जोडेनन् । असाध्यै रमाइलो गरियो । 

जमानामा खेल्थे, मेरा कान्छा मामा बाजे गोकर्णदेव पाण्डे त्यसरी जुवा । पुराना पत्रकार मेरा ती मामा बाजे हुन त उमेरले मेरो बाबाभन्दा कान्छा रहेछन्, धेरैपछि थाहा पाएँ । राणा शासन ढल्नुभन्दा झन्डै एक दशकभन्दा केही अघि केही महिनाको अन्तरमा मेरा बाबापछि जन्मिएका अनि राजाहरूको रजगज सुरु भएका बेला युवावस्था व्यहोरेका । सम्पन्न घरका छोरा । दाजुहरू पशुपतिदेव पाण्डे र बालमुकुन्ददेव पाण्डे नव प्रजातन्त्रको तापले रापिलो बनेका काँग्रेस र दरबार दुवैका प्रिय । पुलपुलिएरै हुर्किएका हुनुपर्छ, मेरा कान्छा मामा बाजे । बोलीमा पनि रौस छल्कने । कसैसँग झुक्न नजानेका । कसैका सामु शिर झुकाउन नजानेका । मैले पछिल्लो पटक भेट्दा पनि त्यस्तै थिए । अहिले त अमेरिका भासिएका छन् ।

पिउन र जुवा खेल्न निक्कै सौखिन । बाल्यावस्थामा उनको रवाफिलो जिन्दगी देखेर लोभ पनि लाग्थ्यो, हामीलाई । दसैँ तिहारमा उनको जुवा दरबारिया वा मन्त्रीभन्दा कम स्तरका जनतासँग चल्दैन थियो । भन्थे, राजा वीरेन्द्र पनि निकै सौखिन थिए, जुवाको । उनले कुन दर्शै वा तिहारमा जिते र कुनमा हारे भन्ने हामीलाई सजिलै पत्ता लाग्थ्यो । जितेको वर्ष उनी कहाँ टिका लगाउन जाँदा घरमा टिलिक्क टल्केको गाडी देख्यो भने मेरा बाबा भनिहाल्थे, ‘यस पटक जितेछ ।’ नदेखेको वर्ष पक्का हुन्थ्यो, जुवाको खालमा गाडी दौडिएछ ।

मलाई त्यो पनि कहाँ थाहा थियो र ? हामीले मन खोलेर मनाएको त्यो दसैँ र तिहार बाबाका साथ हाम्रो जीवनको अन्तिम बन्दै थियो भन्ने ।

हाम्रो घरको तिहार २०६८ साल झैँ रमाइलो विरलै भएको थियो । त्यसको महिना दिन पनि बित्न नपाउँदै मलाई सधैँ बलियो लाग्ने आफ्नै मुटु, मेडिकल भाषामा ‘फेलियर’ भएछ ।

केही दिन अगाडि एउटा समाचार पढेको थिएँ । कोरोनाको सङ्क्रमणले गम्भीर भएर आइसियुमा भर्ना भएकी एक युवतीलाई अस्पतालको कर्मचारीले बलात्कार गरेको । भारतको नयाँ दिल्लीस्थित स्कर्ट अस्पतालमा ।

हो, जीवन र मृत्युसँग जुधिरहेकी बेहोस युवतीलाई बलात्कार गर्ने त्यस्ता पापी कर्मचारी पालेको स्कर्ट अस्पतालले ममाथि पनि बेइमानी गरेको थियो । थैली खोलेर पैसा लिएको त्यही अस्पतालले गलत उपचार गर्दा मैले झन्डै ज्यान गुमाउनु परेको थियो । त्यो कुरा उपचार गरेको ६ महिनापछि थाहा पाउँदा म छाँगोबाट खसे झैँ भएको थिएँ । खुलस्तसँग धेरै पटक लेखि सकेको छु, यो कुरा । मनको बह पोख्दा ।

मलाई त्यो पनि कहाँ थाहा थियो र ? हामीले मन खोलेर मनाएको त्यो दसैँ र तिहार बाबाका साथ हाम्रो जीवनको अन्तिम बन्दै थियो भन्ने । त्यही कारण आत्मालाई तृप्त बनाउनै उनले एक महिना लगाएर त्यो खसीको मासु खाएका हुन् कि जस्तो लाग्छ अहिले त । त्यही लर्के खसी हाम्रो घरमा दसैँको बहाना हाम्रो घरमा काटिने अन्तिम खसी पनि बन्यो । मासु खान छाडिएन तर, त्यो दिनपछि दसैँमा कहिल्यै जिउँदो खसी नै किन्न बजार पनि गइएन । काटिएन ।

मेरो जिन्दगी जोगाउने शल्यक्रिया हुनु एक महिनाअघि बाबाले यो संसार छाडे । त्यही वर्षदेखि हाम्रो घरमा अटुट चल्दै आएको खसी काट्ने परम्परा पनि बन्द भयो ।

गएको वर्ष मेरा दाइले दसैँमा खसी काट्न निकै जोड गरेका थिए । ममी मान्नु भएन । ममीले मानी दिएको भए हुन्थ्यो जस्तो लाग्छ अहिले । मेरा दाइले खसी काट्ने जिद्दी पुरा नगरीकनै बाबा गएकै परलोकको बाटो ततायो । शायद घर मै खसी काटेको भए दाइले पनि त्यसरी नै मासु खान्थ्यो कि जसरी बाबाले आफ्नो आत्मा तृप्त पारेका थिए ।

०००

हामी त अरूले कहिले उत्पादन गर्लान् । अनि माया गरेर दानमा देलान् र लगाउँला भनेर कोरोना भाइरसको भ्याक्सिनको प्रतीक्षामा पराइको मुख ताक्ने मध्ये एक हौँ । कुनै न कुनै देशले चाँडै भ्याक्सिन त बनाउला नै । जसले बनाउँछ, उसको प्राथमिकता त आफ्नै जनता हुन्छन् । अनि हाम्रो मांसपेशीमा भ्याक्सिन रोपिन समय त लाग्ला नै । यस्तै अवस्था हो भने अर्को दसैँ यस पालीभन्दा पनि दिक्क लाग्दो नहोला भन्न सकिँदैन । कदंकदाचित राम्रै कमिसनको चक्करमा मुलुक भित्रियो भने हामीले पनि छिट्टै त्यो भ्याक्सिन लगाएको पाखुरा सुमसुम्याउँदै अर्को दसैँ अवश्य मान्ने छौँ । 

तर जसले जे भने पनि साह्रै खल्लो भयो, यसपालिको दसैँ । त्यसरी नै खल्लो हुनेछ, यसपालिको तिहार पनि । नुन नहालेको तिउन जस्तो । चुम्बन बिना प्रेमिकासँगको बिदाइ जस्तो ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि