बैशाख ०७, २०८१, शुक्रबार
               

वैतरणी वारिबाटै चिच्याउँदै छन् निर्मला, संगीता र नवराजहरू

चेतन पाण्डे
असोज ०७, २०७७

ADVERTISEMENT

म हिजोआज निकै सपना देख्न थालेको छु । सपनाको अर्थ नबुझ्ने पनि भएको छु ।

सपनामा कि निर्मला पन्त देख्छु कि नवराज विक अब त सप्तरीकी ती १८ वर्षिया बालिका संगीता मण्डल पनि सपनामा आउन थालेकी छन् । जसले बलात्कृत हुनुपर्दा पनि पन्चका नाममा समाजले लगाएको तगारो भत्काएर प्रहरीसम्म पुग्न पाइनन् । बरु झुन्डिएर मर्न उसलाई कसैले रोक्न सकेन ।

हिजोआज समाचार पनि त्यस्तै आउँछन् । हुनत समाजमा जे घट्छ, त्यही न समाचार बन्ने हो । कार्यालय मै सहकर्मीबाट महिलामाथि यौन हिंसा हुन्छ । बावुले छोरीको बलात्कार गर्छ । केही रकमको लालचमा परिवारै मिलेर विधवा बुहारीको हत्या हुन्छ । अनि अनैतिक सम्बन्धले उब्जाएका हत्याका शृङ्खलाहरूले मनलाई झनै विचलित बनाउँछ । अझ कलिला बालबालिकाको अपहरण तथा हत्या जस्ता समाचारले मनलाई छियाछिया बनाउँछ । 

कुनै समय थियो । यो देशको कुनै कुनामा भएको हत्याले सारा मुलुकको आङै सिरिङ बनाउँथ्यो । तर जब राजनीतिले हत्या–हिंसालाई प्रश्रय दियो, राजनीतिको वाद नै हिंसा बन्यो, तबदेखि यो मुलुकमा रगतको अवमूल्यन हुन थाल्यो । अनि दिनहुँ जसो ढल्ने लासको पनि अवमूल्यन भयो नै ।

लाग्न थालेको छ, अब कसैबाट कोही सुरक्षित छैनन् । न बावुबाट सन्तान, न दाजुभाइबाट दिदीबहिनी, नतै टोल गल्लीमा गिद्धे नजर लगाएर बसेका अधर्मीहरूबाट छोरी बेटी ।

अनि अचम्म पनि लाग्छ, बद्लिएको समाजको चरित्र देखेर ।

कुनै समय थियो । यो देशको कुनै कुनामा भएको हत्याले सारा मुलुकको आङै सिरिङ बनाउँथ्यो । तर जब राजनीतिले हत्या–हिंसालाई प्रश्रय दियो, राजनीतिको वाद नै हिंसा बन्यो, तबदेखि यो मुलुकमा रगतको अवमूल्यन हुन थाल्यो । अनि दिनहुँ जसो ढल्ने लासको पनि अवमूल्यन भयो नै ।

अब लाग्न थालेको छ, जब समाज जति विकसित हुँदै जान्छ तब जिन्दगीको मूल्य घट्दै जान्छ ।

म मुलुक अति अविकसित हुँदा ताका जन्मिएँ । तरपनि, सुखद थियो जस्तो लाग्छ त्यो समय । एउटाको तडक भडकले अर्कोको मन लोभ्याउँदैन थियो । बरु असारमा रोपिएका र कटानका लागि तयार धानका बालाले निकै मन लोभ्याउँथ्यो । ती बालाहरूलाई सहलाउँदा मात्र पनि बेग्लै मजा आउँथ्यो । झन् त्यसलाई रोप्ने किसानको मन कति प्रफुल्ल हुँदो हो ? आफ्नो मेहनतले रङ्ग बद्लिएको अनि बाला बनेर हावासँगै झुल्दै गरेको देख्दा । भेटिँदैन थिए, खेतका डिलमा बलात्कारपछि हत्या गरिएका लासहरू ।

जब दसैँ नजिक आउँथ्यो । चङा र त्यसलाई नियन्त्रणमा राख्ने माझासहितका धागाहरूले चराको बाटो पनि छेक्छ जस्तो लाग्थ्यो । आकाशमा हुने चङ्गाहरूको युद्धले मनलाई बेग्लै आनन्द दिन्थे । जब चङा चेट हुन्थे, त्यसलाई नियन्त्रणमा लिन हुलका हुल केटाहरू खेतबारीमा कुद्थे । कसको उब्जनी हो, कसलाई के मतलब । दसैँ कै सँघारमा कति धान भित्राएर त कति धान काट्ने सपना बुनेर हँसिला मुहारमा देखिन्थे । तर, भेटिँदैन थिए, हराएका सन्तान खोज्न भौँतारिरहेका बाआमाहरू ।

लाग्छ, जबदेखि जनयुद्ध सुरु भयो, चङ्गाहरूले युद्ध लड्न छाडे । त्यसैले हिजोआज दसैँताका पनि आकाशमा रङ्ग विरङ्गी चङ्गाका हुल देखिँदैन । समृद्धिको नाममा लथालिङ्ग भएको मुलुकका नागरिकलाई अब चङ्गाको चहल पहलले मुस्कान दिन्छ जस्तो लाग्दैन । चङा उड्ने आकाशभन्दा विशाल बनेका अनियमितताका काण्डहरूले जनताको हाँसोलाई निचोरेछ कि जस्तो पो लाग्न थालेको छ । 

ती दिनमा धानको बालामा चामल बिना भुस मात्र फल्छ कि भन्ने चिन्ता किसानका मुहारमा झल्कँदैन थिए । आफूले रोपेको चामलले बजार नपाउने तर, आयातित चामलहरूले बजार लिन्छ कि भन्ने डर पनि थिएन । तर, आज धानको बिउमा पनि मिसावट छ । धानका बालामा भुस मात्र फल्न थालेको छ । त्यही बहानामा विदेशबाट आयातित चामल खानु पर्ने बाध्यता बढेको छ । लाग्छ, यो देशमा जति पनि अनियमितताका आहालमा डुबेका अधर्मीहरू नेता बनेका छन्, उनीहरू जन्मिएको बिउमा पनि केही मिसावट भएकै हुनु पर्छ । नत्र मुलुक वास्तव मै समृद्ध भइसकेको हुन्थ्यो होला । अनि औँलामा गन्न सकिने नव धनाढ्यको डमरुको लयमा नाच्दैन थियो होला, यो देश । 

रगत पनि दसैँ ताका नै देखिन्थे । अहिले जस्तो बाह्रै महिना मन दुखाउने घटनाहरू सुन्न पर्दैनथ्यो । शायद मानिसका मनहरू चोखा थिए, त्यसबेला । आज त मानिसको मन पनि व्यावसायिक बनिसक्यो । मनका हरके तप्कामा कपट लुकाएका छन् कि जस्तो लाग्ने । देवीलाई शक्तिको प्रतीक मान्ने समाजका बासिन्दा हामी त्यही देवीको पूजा गरेर मन्दिरबाट निस्कँदा अर्काकी छोरी बेटीमाथि कुनियत राख्नसम्म पछि पर्दैनौँ । हामी त पश्चिमासँग फ्युजन गरिएको पूर्वीय दर्शन पो अँगाल्दै छौँ कि ? यस्तै लाग्छ । धर्म–संस्कृतिलाई नाम मात्रमा जीवित राखेका छौँ कि ?  

जब दसैँ नजिक आउँथ्यो । हाम्रो ध्याउन्न स्कुल कहिलेदेखि बिदा होला भनेर दिन गन्न मै व्यस्त हुन्थे । हामी पढ्ने स्कुलले गर्मीको बिदा दिँदैनथ्यो । दसैँदेखि तिहारसम्म एक महिना बिदा पाइन्थ्यो । अनि के नै चाहिन्थ्यो र’ आवारागर्दी गर्न । अहिले कोभिड १९ का कारण विश्वका अन्य मुलुकमा बन्द भएका विद्यालय र कलेजहरूले वैकल्पिक माध्यमबाट पढाइ सुरु गरिसके । तर, हाम्रो देशका अधिकांश विद्यालयले अभिभावक ढाँट्ने चालामा अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । शिक्षा पनि व्यापार बनेको छ । छोरा–छोरीले अनलाइन गेम खेल्ने राम्रै मौका पाएका छन् ।

विद्यालयमा पढ्दा होस् वा कलेजमा विपरीत लिङ्गीसँग कुरा गर्दा सधैँ मर्यादामा बसियो । त्यसैले मनमा गलत तर्कनाले बास गर्न पाएन होला । होला, हँसी मजाक गरियो । तर, गलत नियत राखिएन । बोलीमा कहिल्यै छाडापन ल्याइएन । अहिलेका युवा पुस्तालाई अङ्ग्रेजीको शब्द ‘फ... यु’ सामान्य लाग्छ । हामीलाई अहिले पनि गह्रौँ । सोचौँ कता जाँदै छ, यो मुलुकको भविष्य ।

अनि ती दिनमा थप प्रतीक्षा हुन्थ्यो, नयाँ लुगाको । आमा–बाबुका तीन सन्तान मध्ये कान्छा म । एक–एक वटा छोरा र छोरीपछिको । हुनत जागिरे थिए, आमा–बाबु । आम्दानी पनि राम्रै गर्थे होलान् । तर, दसैँमा लुगा किनिदिँदा दाइभाइको लुगा ‘राम और श्याम’ भने झैँ हुन्थ्यो । अन्डर गार्मेन्टदेखि बाहिरी वस्त्र र जुत्ता समेत एकै प्रकारको ।

मेरो दाइ केही वर्ष मावलीमा हुर्कियो । मेरी मावलीकी हजुरआमाको रेखदेखमा । मेरा आमा–बाबुलाई लाग्थ्यो होला, आफैँले हुर्काएको कान्छो छोरालाई जेठालाई भन्दा बढी माया ग¥यो भनेर समाजले भन्छ कि भन्ने डर । त्यसैले फोटोकपी गरे झैँ देखिने लुगा किनिदिन्थे । अहिले पनि घरमा थन्किएका फोटो एल्बमका कतिपय तस्बिरमा एक जोडी फोटा कपि गरिएका झैँ बालकहरू पनि देखिन्छन् । त्यो हामी हौँ । तर, सुखी थियो जिन्दगी । खुसी रहन जानेका थिए, त्यो पुस्ताले । अरूले के खायो, के लायो भन्ने चियोचर्चो गरिँदैन थियो । अरूको घरमा जे पाके पनि आफ्नो घरमा पाकेको गुन्द्रुक नै मिठो लाग्छ । हिजोआज जस्तो अरूको देखासिकीमा लागेर तल्लो कर्ममा उत्रिने जमात निकै कम थिए । 

बाबालाई दसैँमा खसी काट्नै पर्थ्यो । त्यसमा मेरो पूर्ण समर्थन रहन्थ्यो । सानै हुँदा त बगरे कहाँ लगेर काटकुट गरेर ल्याइन्थ्यो । पछि आफैँ मार हान्न थालेँ । दाइ खुट्टा समात्थ्यो, अरू कसैले टाउको । म मार हान्थेँ । जब मेरी छोरी जन्मिई, त्यो दिनदेखि कहिल्यै मार हानिन । हत्या गरिन । उसका अबुझ कलिला आँखाको भाकाले मलाई हत्या पाप हो भने झैँ लाग्यो । उ जन्मिएकी पहिलो वर्षमा मार हान्न उठाइसकेको खुकुरीसमेत भुईँ मै छाडेँ । अरूलाई बोलाएर मार हान्न लगाएँ ।

ती दिनमा मुलुक गरिब थियो तर, मनहरू समृद्ध थिए । मानिसले मानिसको बीभत्स हत्या गरेको समाचार निकै कम सुनिन्थ्यो । बलात्कृत भएर कुनै चेलीले इहलीला समाप्त गर्नु पर्दैन थियो । बाटामा हिँड्ने युवतीलाई जिस्काइन्थ्यो होला तर, नीच कर्मका समाचार निकै कम छापिन्थे । सम्पत्ति नभए पनि मानिसभित्र नैतिकता जीवित थियो । एकले अर्कालाई इज्जत गर्न जानेका थिए । मुढे बुद्धिमा देश चल्दैन थियो । खै कहिले सिक्ने हाम्रा ती दिनका राम्रा कुरा । 

माओवादी जनयुद्धसँगै मुलुक रगतका आहालमा डुबेको देख्दा आफूले विगतमा छिनाएका खसीका टाउकोहरूले पनि सरापे झैँ लाग्थ्यो । जनयुद्धसँगै हामीले राजनीतिक चेतना कमाउने नाममा नैतिकताको लिलामी गरेछौँ । अहिले त्यस्तै लाग्छ । सामन्तीलाई जित्ने नाममा विवेक विहीन बनेछौँ । राजा हटाएर, आफैँ सिंहासनमा बसेछौँ । लाग्न थालेको छ, हाम्रो लोकतन्त्र कै गलत अभ्यास त भइरहेको छैन ?

लाग्छ, अब बाल्यकालका झैँ दसैँ जीवनमा कहिल्यै फर्किँदैनन् । हुनत बालापनभन्दा उत्तम समय कहिल्यै हुँदैन भन्छन् । त्यो पनि सही होला । तर, समाजलाई नैतिकताको कसीमा जोख्ने हो भने हिजोभन्दा आजको समय बिलकुलै उल्टो छ । राजनीतिक चेतना जति बढेको छ । अत्याचारको ग्राफ पनि त्यति नै बढेको छ । पैसाको खातिर मानिस जुनसुकै हदसम्म गिर्न सक्ने भएका छन् । ब्रान्डेडको जमानामा हामीले लगाउने त्यो टेलर्सवालाले सिलाएको लुगाको भाउ पनि घटेको छ । मानिसको कर्मको भाउ घटेको छ । दलालीको भाउ बढेको छ । भ्रष्टाचारको दर तोकिन थालेको छ ।

न्याय जताततै मरेको छ । अनियमितताका राक्षसहरूले देश लुटिरहेका छन् । अनि शरीरका भोकाहरूले चेलीको अस्मिता । जोसँग धन छ, अन्याय गर्दा पनि न्याय नै पाउँछन् । नहुनेले अन्यायको आँसु पिएरै बाँच्न सिक्नु पर्छ । साह्रै असंवेदनशील बनेका छौँ, हामी । हाम्रो समाज । हाम्रो सोच ।

हो समय रङ्गिन बनेको छ । जताततै अनियमितता र दुई नम्बरी गरेर कमाएका धनको रापमा रन्किएकाहरू सत्तालाई गुलाम बनाउने होडमा छन् । सत्ता र शासक पनि लिलामीका लागि तयार उभिएका छन् । जोसँग धन छ, उसको पछाडि सारा संसार छ । उनीहरूका हरेक गल्ती माफ छन् । कानुन पनि उनीहरू समक्ष लाचार छ । तर, जसलाई न्याय चाहिएको छ, उनीहरू कानुनका सामु लाचार छन् । किनकि उनीहरूसँग न्याय किन्ने हैसियत पनि छैन नै ।

म जुन कालखण्डमा जन्मिएँ । यो मुलुकमा कानुनको दबदबा थियो । अदालत र शासकबाट न्याय पाउने विश्वास थियो । एउटा हबलदारले लठ्ठीको भरमा सारा गाउँमा न्याय जीवित राखेका थिए । सबैभन्दा ठुलो कुरो त, न्याय बिक्री हुँदैन थियो त्यो बेला । हामीभित्र कमजोरी छ । सधैँ हामी विगतका गल्तीहरूका खोजिखोजी खोट निकाल्छौँ । राम्रा कुरा न सिक्न चाहन्छौँ नत अपनाउन नै ।

भ्रष्टाचार र अनियमितता आज जति छ, त्यो बेला यति पक्कै थिएन । मानिस श्रममा विश्वास गर्थे, आफ्नै पाखुरामा विश्वास गर्थे । दलालीमा होइन । लाग्छ, राज्य एकीकरणका नायकलाई खलनायक बनाउन उदृत समूहहरूले इतिहासलाई गलत साबित गराउने प्रयास गर्दै छन् । हाम्रो इतिहास धर्म, संस्कृति र दर्शनलाई मास्न षडयन्त्र रच्दै छन् । हामी आफ्ना पुस्तालाई जे सिकाउँछौ, भोलिको राष्ट्र त्यस्तै बन्नेछ । अब हामीले सक्दैनौ, आफ्ना सन्तान सामु इतिहासका सही र गलतको व्याख्या गर्न ? किनकि उनीहरू त लागिसके विदेशी भूमि बनाउन । आफ्नै जन्मिएको माटोप्रति अविश्वास गरेर ।

देश समृद्ध बनाउन व्यवस्था होइन, त्यसका चालक राम्रा हुनुपर्ने रहेछन् । तर, हामी घमन्डले मात्तिएका चालकको हातमा छौँ । जहाँको शासन पद्धतिबाट भन्दा पनि मुढे बलबाट चल्न थालेको छ । लाग्न थालेको छ, अब यो मुलुक थप जनआन्दोलन व्यहोर्न नपरोस् ।

न्याय जताततै मरेको छ । अनियमितताका राक्षसहरूले देश लुटिरहेका छन् । अनि शरीरका भोकाहरूले चेलीको अस्मिता । जोसँग धन छ, अन्याय गर्दा पनि न्याय नै पाउँछन् । नहुनेले अन्यायको आँसु पिएरै बाँच्न सिक्नु पर्छ । साह्रै असंवेदनशील बनेका छौँ, हामी । हाम्रो समाज । हाम्रो सोच ।

निकै परिवर्तन आइसकेको छ, यो देशमा । हाम्रो समाजमा । अब यहाँ गाई काटेर भैँसी पुजिन थालेको छ । आमा–बाबुको रेखदेख गर्ने श्रवणकुमारहरू जन्मिन छाडेका छन् । त्यसैले त वृद्धाश्रम खोल्ने होडबाजी बढ्दो छ । हाम्रो आचरण र नैतिकतामा मिसावट आउन थालेको छ । फ्युजन देखिन थालेको छ, हाम्रो आचरण र नैतिकतामा पनि ।

त्यसैले होला हिजोआज म सपनामा निर्मला पन्त देख्छु, नवराज विक अनि सप्तरीकी ती १८ वर्षिया बालिका संगीतालाई पनि देख्छु । सपना मै भन्छु, आत्मा मरेकाहरूको देशमा न्यायको आशा नगर । तिमीहरू जस्ता निर्मला, नवराज र स‌गीताहरूको ज्यान अझै जाने छ, यो मुलुकमा । अझै बलात्कार पछि ज्यान गुमाउनु पर्नेछ निर्मला-स‌गीता तिमीहरूले ! प्रेमका खातिर अझै मारिनु पर्नेछ नवराज तिमीले ! यहाँ न्यायको देवीको मात्र होइन न्याय दिनेहरूको पनि आँखामा पट्टी बाँधिएको छ । जो देश रोएको सुन्दा नसुने झैँ गर्छन् । न्यायको हत्या हुँदा नदेखे झैँ गर्छन् । उनीहरूका लागि जनताको आँसुको अब कुनै मूल्य छैन । बस्, न्यायका लागि तड्पी रहनेछन्, तिमीहरूका आत्माहरू वैतरणी तर्न नसकेर । पक्का छ, तिमीहरू र तिमीहरू जस्ताका चिच्याहट सदा वैतरणी वारि नै दबिने छन् ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि