बैशाख १३, २०८१, बिहीबार
               

सनातन धर्म नै हाम्रो पहिचान

बंशीकुमार शर्मा
साउन १२, २०७७

ADVERTISEMENT

विश्वमा धेरै धर्महरू छन् । जसका अनुयायीहरू पनि त्यतिकै संख्यामा छन् । धर्म–धर्मको बीचमा आलोचना गर्नु राम्रो पक्ष होइन । धर्मकै कारण कयौँ युद्धहरू भए । कयौँको ज्यान गयो । युद्धकै कारण सामाजिक संरचनाहरू भताभुङ्ग भए भने कयौँ मानिसहरू अङ्गभङ्ग भए । हुन त धर्मले लडाइँ गर्नु महापाप हो भनेको छ । सेवा नै धर्म हो भन्ने मूलमन्त्र सबै धर्मको हुन्छ । त्यही पनि धर्म–धर्मको विषय लिएर ठुला–ठुला युद्ध भइसकेका छन् । यसो हुनुको कारण वास्तविक धर्मको मर्म नबुझेरै हो । किनकि सबै धर्मावलम्बीहरूको चाहना एउटै हुन्छ त्यो हो ईश्वरसँग साक्षात्कार । परब्रह्मा परमेश्वर एउटै हुनुहुन्छ ।

सबै प्राणीको आत्मा एउटै हो कसैको ठुलो र सानो हुँदैन । आत्मा नै परमात्मा हो । ईश्वरको बास नै आत्मामा हुन्छ । ईश्वर खोज्दै ठाउँ–ठाउँ भौँतारिनु पर्दैन र धर्म–धर्मका बीचमा लड्नु पनि हुँदैन । प्रार्थना गर्ने बाटो मात्रै फरक हो केन्द्रबिन्दु एउटै हो । धर्म आस्था र विश्वास हो ।  आस्था र विश्वासले धारण गर्नु नै धर्म हो । मानिसले कुनै पनि धर्मप्रति आस्था राखेको हुन्छ । त्यसको धर्म त्यही नै हो । आफूसँग जति छ त्यसले त्यति नै लिन्छ । मानिस धर्म निरपेक्ष हुन सक्दैन । उसले कति बुझो त्यसमा भर पर्दछ । आफूलाई क्रान्तिकारी भनाउँदाहरूले कुनै न कुनै व्यक्तिलाई  देवत्वकरण गरेका हुन्छन् । उनका भगवान् तिनै नै हुन् । तिनीले बुझ्न सक्ने त्यति नै हो । तिनीबाट समाजले थप नयाँ कुरा पाउन सक्दैन । उनीहरूबाट आशा गर्नु पनि हुदैन् । उनीहरूले समाजमा आफूलाई सर्वज्ञ ठान्छन्, त्यही नै विडम्बना हो । समाजले चिन्न सक्नु पर्दछ । त्यस्ता व्यक्तिबाट समाज बिथोलिन्छ । धर्मलाई विवादमा ल्याउने र समाजमा दिग्भ्रमित गराउने काम गर्छन् । धर्मको बारेमा जान्ने विद्धानहरूले व्याख्या गर्नु पर्दछ । नत्र समाजमा त्यस्ता मान्छे उत्साहित हुन्छन् । हजारौँ वर्षदेखि चलिआएको परम्परा बिथोल्ने  प्रयास भइरहेको छ । यसतर्फ सबै सचेत रहनु पर्दछ  । अहिले त्यही भइरहेको छ ।

विविधताले भरिएको हाम्रो मुलुकमा अनेकताको प्रचार प्रसार गरेर मात्र राष्ट्रियता बलियो हुन सक्दैन । नेपालको अस्तित्व र पहिचान विश्वमै बेग्लै छ । यही नै नेपालको राष्ट्रियता बलियो आधार हुन सक्छ ।

ईश्वरको जन्म र मृत्यु हुँदैन । तर हिन्दु धर्मशास्त्रअनुसार पृथ्वीलोकमा अत्याचार बढेपछि धर्मस्थापनाको लागि भगवानले मानवरूपी देहधारण गरी जन्म लिनुहुन्छ । धर्म शास्त्रमा भगवान् नारायणले दस अवतार लिने भन्ने उल्लेख छ । नवौँ अवतार गौतम बुद्ध हुनुहुन्छ भने दशौँ अवतार कल्की अवतार लिने भन्ने उल्लेख गरिएको छ । त्रेता युगमा रामचन्द्र भगवानको जन्म भएको थियो । उहाँको जन्म पृथ्वीमा भएको हो । उहाँ जन्मँदा विश्वमानचित्रको नामकरण बेग्लै थियो । अहिले राजनीतिक र प्रशासनिक नक्सा बदलिएको छ । विभिन्न कालखण्डमा विश्वको भूगोल बदलिएको छ । विश्वास र आस्थाका कारणले भगवान् रामचन्द्रलाई मान्दै र पुज्दै आयौँ ।

हिन्दु धर्मको उत्पत्तिको बारेमा उत्तर अहिलेसम्म कसैले दिन सकेका छैनन् । तर अरू धर्महरूको उत्पत्ति कुनै विशेष देशकालमा जन्मेका एक एक जना महापुरुषहरूबाट उत्पन्न भएकाले त्यसको निश्चित तिथिमिति दिन सकिन्छ । त्यसैले सनातन धर्म भनेको हिन्दु धर्म मात्र हो । यसमा दुईमत छैन । सनातन धर्म भनेको परापूर्वकालदेखि चलिआएको त्यही मानवीय सद्‍गुणरूप धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति हुँदैनन् । साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुनुहुन्छ । सनातन धर्म विश्वको सबैभन्दा पुरानो र वैज्ञानिक धर्म हो । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म भनिन्छ ।

सनातन भन्नाले परम्परागत चल्दै आएको जसको उत्पत्तिको बारेमा कसैलाई थाहा छैन । कसरी उत्पत्ति भयो त्यो पनि थाहा छैन । यी सबै कारण हिन्दु धर्म नै सनातन धर्म हो । धर्मको विषयलाई राजनीतिसँग जोड्नु हुँदैन । भगवान् रामचन्द्रको जन्मस्थलको बारेमा अहिले बहस चलिरहेको छ । भगवानको जन्मस्थलको विषयमा दुवै देशले विवाद गर्नु सान्दर्भिक होइन । अनुसन्धान  हुनुपर्दछ । यसलाई दुवै देशले सहयोग गर्नु श्रेयस्कर हुन्छ । भगवानको जन्मलाई निश्चित भौगोलिक घेराभित्र सीमित गर्नु हुँदैन । भगवानको जन्मको बारेमा अनर्गल अर्थ लगाउने प्रचार गर्ने अधिकार कसैलाई छैन । कसैलाई चित्त बुझेन भन्दैमा अरूको आस्थामाथि चोट पुर्‍याउने अधिकार पनि छैन । आफूलाई सर्वज्ञ ठान्दै नजाने कुरा गर्नु न्यायसंगत होइन । कसैलाई खुसी बनाउन आफू र समाजमाथि बेइमानी गर्नु हुदैन् ।

सबैभन्दा ठुलो आस्था नै हो । आस्था कै कारण हामीले भगवानलाई मान्दै र पुज्दै आयौँ । हिन्दु धर्म सनातन धर्म हो । यो परापूर्व कालदेखि चल्दै आएको हो । भगवानलाई आस्थाको कारणले पुजिन्छ । समाज विज्ञानका विज्ञहरूले भन्ने गर्दछन् कुनै पनि राष्ट्रको धर्म संस्कृति नष्ट भएमा त्यो राष्ट्र स्वतः हराएर जान्छ । त्यसैले कुनै पनि राष्ट्रको अलग अस्तित्वको लागि मौलिकता नै अपरिवर्तनीय हुनुपर्दछ । विविधताले भरिएको हाम्रो मुलुकमा अनेकताको प्रचार प्रसार गरेर मात्र राष्ट्रियता बलियो हुन सक्दैन । नेपालको अस्तित्व र पहिचान विश्वमै बेग्लै छ । यही नै नेपालको राष्ट्रियता बलियो आधार हुन सक्छ । किनकि विश्वका विकसित र लोकतान्त्रिक मुलुकहरूले पनि आफ्नो अस्तित्व र पहिचान कायम राख्न राष्ट्रिय धर्म कायम गरेका हुन्छन् । त्यसैले आफ्नै अस्तित्व मेटाउने गरी नयाँ नेपालको खोजी गर्नुभन्दा अस्तित्वको जगेर्ना गर्दै समृद्धशाली नेपाल बनाउनु नै राष्ट्रियता हो । यही नै हाम्रो धर्म हो ।

दाङमा रहेर पत्रकारितामा क्रियालील शर्मा राजनीति, समाज र धर्म संस्कृतिका विषयमा लेख्ने गर्दछन् ।

कस्तो लाग्यो ?

यो पनि