चैत १५, २०८०, बिहीबार
               

सम्झौता गर्दिनँ, आत्मसमर्पण पनि गर्दिनँ

जनार्दन शर्मा
फागुन १५, २०७६

ADVERTISEMENT

सरकारले दुई दिन अगाडि एउटा श्‍वेतपत्र जारी गर्‍यो । श्‍वेतपत्र भनेको के हो भन्ने मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको त्यस्तै कुरा जनतासामु ल्याउनका लागि श्‍वेतपत्र ल्याइन्छ भन्ने मैले ठानेको थिए । मैले मिडियाबाट थाहा पाएँ । श्‍वेतपत्रमा फलाना फलाना पनि यो जग्गा बेच्न लागे, लिज दिन लागे भनेर लेखिएको मिडियाहरूमा आयो ।

मैले पढेँ । तथ्य के हो त भनेर म ट्रस्टको कार्यालयमा गएँ । ट्रस्टको कार्यालयमा जाँदा त्यहाँ माइन्युटमा के लेखिएको छ ? तथ्य कुरा हेर्न मैले चाहेँ । मैले निवेदन पनि दिए । तर हेर्न दिइएन । ताल्चा लागेको छ । हेर्न मिल्दैन भनियो । अनि मैले कर्मचारी साथीहरूसँग सोधे । मेरो नाम पनि आयो । म गृहमन्त्री हुँदा पनि पसेको थिइनँ यहाँ । कसरी आयो त मेरो नाम भनेर सोधेँ । तर उनीहरूले होइन, हजुरको नाम त छैन भने । उहाँले मिटिङ गर्नुभएको छैन भनेर हामीले भनेका थियौ । भनेकै कुरा त्यही हो । उहाँको पालामा कुनै निर्णय नै भएको छैन भनेर हामीले भनेको भनेर कर्मचारी साथीहरूले भन्नुभयो । 

के मलाई तर्साउन खोजिएको वा मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? हो भने म सत्यको अगाडि कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ । म तर्सिदा पनि तर्सिन्नँ । त्यसकारण यहाँ जसरी यो कुरा लेखियो । सरकारले मलाई त ढाँट्न सक्ला । तर जनतालाई ढाँट्न सक्छ ? मतदातालाई ढाँट्न सक्छ ? किमार्थ सक्दैन जनता ढाँट्न ।

त्यसपछि मैले मुख्य सचिवलाई पनि सोधेँ । अहिलेको मुख्य सचिव म गृहमन्त्री हुँदा त्यहाँ सचिव हुनुहुन्थ्यो । मेरो मन्त्रालयको सचिव । मैले सोधे मुख्य सचिवज्यू केही निर्णय भएको थियो त । तपाईँ नै सचिव हुनुहुन्थ्यो । केही निर्णय गराउनु भयो कि त ? कहीँ सही भयो कि त भनेर मैले सोधेँ । होइन हजुर यो विवरण झुटा हो । यो एकदमै झुटा हो । हजुरको पालामा पनि भएन । अरू सम्माननीयको पालामा पनि भएन । यो विवरण विल्कुलै झुटा हो । अनि म आश्चर्यमा परेँ । यो श्‍वेतपत्र हो कि अश्‍वेतपत्र हो ?

मेरो प्रश्न यही हो । यो श्‍वेतपत्र हो भने जस्ताको त्यस्तै आउनु पर्‍यो । अश्‍वेतपत्र हो भने यसलाई मान्ने कुरा भयो । २०७४ साल कात्तिक १३ गते निर्णय भएको भनेर मेरो नाम पनि जोडिएको छ यो श्‍वेतपत्र भन्ने किताबमा । २०७४ कात्तिक १३ गते थामसेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र नेपाल ट्रस्टका संरक्षक सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री माननीय जनार्दन शर्मा भनेर भनियो । र हामीले गरेको भन्ने अर्थ लाग्ने हिसाबले लेखिएको रहेछ । यसैलाई आधार मानेर पत्रिका र अनलाइनहरूले ल फलानो फलानो पनि यसमा सहभागी भएको भनेर लेखे ।

अन मैले अरू निणयहरु पनि हेरेँ यो पुस्तकमा । अस्ति भर्खर भएको निर्णयहरू पनि हेरेँ । त्यहाँ यसरी नाम लेखिएनछ । जस्तो पछिल्ला निर्णयहरू छन् नि ! रिसोर्ट आदि लिजमा दिने निर्णयहरू । त्यसमा भने यति गते निर्णय भएको भन्ने मात्रै लेखिएको रहेछ । नाम छैन त्यसमा । नाम कतै लेख्नु नपर्ने । नाम लेख्दा पनि त्यो कात्तिक १३ होइन, असोज ३० गतेबाट म त्यो जिम्मेवारीबाट हटेको छु । गृहमन्त्रीबाट हटेको छु । त्यही दिन नै मैले पत्रकार सम्मेलन पनि गरेको थिएँ । त्यही दिन मलाई बिना विभागीय जिम्मेवारीमा पठाइएको छ र म गृहमन्त्री नै थिइनँ ।

अब मन्त्री नै नभएको मान्छेको जबरजस्ती नाम लेखियाे ? अनि कर्मचारीहरूले छैन हजुर उहाँबाट केही भएकाे छैन भन्दा पनि नाम लेखिनुको कारण के ? किन लेखियो ? र लेख्नु पर्ने नामचाँहि किन लेखिएन ? त्यसैले यो श्‍वेतपत्र होइन अश्‍वेतपत्र हो भन्ने मलाई लागेको छ ।

किन लेखियो होला भनेर मैले विचार गरेँ । मैले गलत कुरा त केही भनेको छैन अहिलेसम्म । तर मैले दुईचार कुरा यसो बोलेको छु । म राज्य व्यवस्था समितिमा पनि छु । त्यहाँ ऐनहरू आउँछन् । जुन ऐन संविधानभन्दा बाहिर छन् । संविधानको भावनासँग मेल खाँदैनन् । मैले संशोधनको स्पिरिटले मिलाउनु पर्छ भनेर अरू माननीय सदस्यहरूसँग बोल्ने गर्दछु । म पनि त्यहाँ मिलाउन लागि पर्ने गरेको छु । कतिपय ऐन हामीले सच्चाएर पठाउने गरेका छौँ । कतिपय ऐन सम्मानित सदनले पास पनि गरेको छ । 

दोस्रो मैले मुलुकमा विकास र समृद्धिको लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ भनेको छु । त्यसका लागि सरकार दलालहरूको घेराबाट बच्नुपर्छ भनेर मैले सरकारलाई सपोर्ट गर्नकै लागि आग्रह र अनुरोध गरेको छु । दलालहरूको घेराबाट मुक्त नभई अघि बढ्न सकिँदैन भनिरहेको छु । 

जनताको विकास निर्माणको अपेक्षा तीव्र छ यतिबेला । त्यो अपेक्षा पूरा गर्न कामचलाउ तरिकाले हुँदैन । तीव्र गतिमा अगाडि बढ्नु पर्छ भनेर मैले भनिरहेको छु सरकारलाई । बिस्तारै बढेर सम्भव नै छैन । 

मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगार भन्ने लेखएका छन् । त्यतातिर बढ्नका लागि रोगीले सम्पूर्ण रूपमा उपचार पाउने अवस्था सिर्जना गर्नुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण गर्नुपर्छ र आत्मनिर्भर बनाउनु पर्छ । त्यसबाट औद्योगिकीकरण गर्न सकिन्छ भनेर मैले भन्ने गरेको छु । मैले बारम्बार यसबारेमा सुझाव दिने गरेको छु ।

पूर्वाधार विकासको सन्दर्भमा यहाँ बारम्बार ठेकेदारलाई गाली गरेर बजेट खर्च हुने कुराबाट पन्छिने होइन । त्यो खर्च गराउन सक्नु पर्छ । त्यसका लागि आमजनतामा विश्वास गरी जनपरिचालन गर्न सक्नुपर्छ । सहकारी बनाउनु पर्छ । युवालाई परिचालन गर्नुपर्छ । यस्तो सुझाव मैले कहिलेकाहीँ दिने गरेको छु । 

राष्ट्रियतालाई बलियो बनाउनु पर्छ । सीमाको रक्षा गर्नुपर्छ । हामीले गर्ने सम्झौताहरू हाम्रो संविधान अनुरूप हुनुपर्छ । हाम्रो देशको स्वार्थ अनुसार हुनुपर्छ भनेर मैले भन्ने गरेको छु । 

के मैले भन्ने गरेका यिनै विषयबस्तुका कारण मेरो नाम लेखिएको हो ? म यसको जवाफ चाहन्छु । के मलाई तर्साउन खोजिएको वा मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? हो भने म सत्यको अगाडि कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ । म तर्सिदा पनि तर्सिन्नँ । त्यसकारण यहाँ जसरी यो कुरा लेखियो । सरकारले मलाई त ढाँट्न सक्ला । तर जनतालाई ढाँट्न सक्छ ? मतदातालाई ढाँट्न सक्छ ? किमार्थ सक्दैन जनता ढाँट्न । मतदातालाई ढाँट्ने सरकारले काम गर्न सक्दैन ।

कसरी विश्वास गर्ने सरकारलाई ? विश्वासको सङ्कट पर्‍यो यहाँ । विश्वासको सङ्कट हुने गरी यहाँ विषयहरू किन राखियो ? किन लेखियो ? कतिपयको लेख्नुपर्ने ठाउँमा नाम नलेख्ने र लेख्नु नपर्ने ठाउँमा नाम लेख्ने ? नभएको मान्छेको नाम लेख्ने ? म गृहमन्त्री नै छैन नभएको मान्छेको नाम लेख्ने ? अनि मिडियाबाजी गर्ने र गराउने काम किन गरियो ? र, कर्मचारीहरूले भन्दाभन्दै मुख्यसचिवले गलत छ भन्दाभन्दै नामहरू किन लेखियो ? त्यसकारण मलाई शङ्का उत्पन्न भयो । यसको मलाई जवाफ चाहिन्छ । विश्वासको सङ्कट पर्‍यो । सकारात्मक रूपले सहयोग र समर्थनमा अगाडि बढिरहेको तथा आफ्नै पार्टीको सरकारलाई मद्दत गर्दागर्दै यी नभएका विषयहरू लेख्नुको पछाडिको कारण के ?

भ्रष्टाचारको अन्त्य हुनै पर्छ । र यहाँ भएका अनियमितताहरू अन्त्य हुनै पर्छ । मेरो के प्रस्ताव छ भने नेपाल ट्रस्टबाट बाँडिएका सबै सम्पत्ति तथा लिज फिर्ता ल्याउनु पर्छ । नयाँ ढङ्गले त्यसको व्यवस्थापन गर्नुपर्छ । ऐन कानुनहरू जसरी बनेको छन्, तिनीहरूको दुरुपयोग भएको छ । त्यसलाई सच्याउनु पर्छ । मेरो यही माग छ । म यी प्रश्नको जवाफ चाहन्छु । रक्षामन्त्रीज्यू र प्रधानमन्त्रीज्यूबाट जवाफ चाहन्छु । सरकारबाट जवाफ चाहन्छु ।

(२०७६ फागुन १५ गते प्रतिनिधिसभामा विशेष समय लिएर पूर्वमन्त्री शर्माले दिएको मन्तव्यकाे सम्पादित अंश)

 

शर्मा नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य हुन् ।

कस्तो लाग्यो ?

यो पनि