बैशाख ०७, २०८१, शुक्रबार
               

६ वर्षसम्म आफ्नो भवन शिलान्यास गर्न नसकेको एमाले व्यापारीको घरमा

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नकपा (एमाले)ले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालय रहेको ठाउँमा नयाँ भवन बनाउन नसक्दा भाडाकै घर चहार्दै हिँड्नुपरेको छ । २०७२ को भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन रहेको ठाउँमा अर्को भवन नबनाउन नसक्दा व्यापारीको घरमा पार्टी कार्यालय सार्ने तयारी छ । 

६ वर्षसम्म एमालेले भवन बनाउन त परेको कुरा भवन शिलान्यास समेत गर्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा केही दिनअघि बसेको १२औँ केन्द्रीय कमिटी बैठकले शिलान्यास गर्ने निर्णय गरेको छ ।

हतार–हतार गरेरै भए पनि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने तयारी थालिएको छ । शिलान्यासको तयारीको जिम्मेवारी प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिइएको छ । 

एमालेका कार्यालय सचिव ईश्वरी रिजालले भने ‘पार्टीको निर्णय अनुसार पुराना कार्यालयका करिब १३ रोपनी जग्गामा भवन शिलान्यासको तयारी हुँदै छ ।’

बल्खुको पुरानो कार्यालय भवन २०५३ मा निर्माण गरिएको थियो । २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण सो भवनमा क्षति पुग्यो । भूकम्पबाट क्षति पुगेपछि एमाले मुख्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनमा २०७२ साल साउन २३ गते सर्याे ।

भूकम्पले क्षति पुर्‍याएको बल्खुस्थित पुरानो कार्यालय स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले बोलकबोलमार्फत ३१ लाख रुपैयाँमा भत्काउने जिम्मा पाएका थिए । 

सो ठाउँमा भवन बन्ने समय अनिश्चित भएपछि धुमबाराहीबाट समेत पार्टी कार्यालय सारिँदैछ । थापाथली हाइटस्थित उमङ्ग मार्गमा रहेको १३ कोठे घरमा कार्यालय सार्न लागिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले निरीक्षणपछि अनुमति दिएकाले बुधबारै दुई पक्षबीच भाडा सम्झौता गर्ने तयारी छ । उक्त घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ । 


कस्तो लाग्यो ?

यो पनि