बैशाख ०७, २०८१, शुक्रबार
               

गाई तिहार, दीपावली र लक्ष्मी पूजाको महत्त्व

विजयप्रसाद मिश्र
कात्तिक १८, २०७८

ADVERTISEMENT

कात्तिक कृष्ण औँसीलाई हामी गाई तिहार भनी मनाउँछौँ । बिहान गौमाताको पूजन गरिन्छ । गोधन कृषि संस्कृतिको धुरी हो । नेपालको राष्ट्रिय पशु गाई मानवता एवं पर्यावरणका लागि पनि उपकारी प्राणी हो । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर पवित्र तुल्याउने तथा आफू स्वयंले पनि प्राशन गर्ने हाम्रो संस्कार छ । गाईलाई पशुधनका रूपमा पनि लिइन्छ । गव्य पदार्थबाट मानव स्वास्थ्य तथा कृषिमा हुने लाभका कारण हामी गाईलाई लक्ष्मी र गौमाताका रूपमा पुज्छौँ ।
कार्तिक अमावश्याको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । वर्षका चार महìवपूर्ण रातमध्ये यस रात्रिलाई सुखरात्रि भनिन्छ । औँसी कृष्णपक्ष र शुक्लपक्षको साँध हो । कृष्णपक्ष अन्धकारको प्रतीक हो भने शुक्लपक्ष उज्यालोको । यी दुबै पक्षको सन्धिमा गतिशील दीपावलीको महापर्व अन्धकारबाट प्रकाशतिर, अकालबाट सहकालतिर, मृत्युबाट जीवनतर्फ र निर्धनताबाट समृद्धितर्फ अग्रसर हुने वार्षिक अभियान हो । पर्व एक दिनको भए पनि यसबाट हामीले जीवनभरिका लागि उत्साह र ऊर्जा लिन सक्नुपर्छ । यसै पनि प्रेरणा क्षणभरको हुन्छ तर त्यसलाई आत्मसात् गरेर अघि बढ्न चाहिने कुरा‘अनुशासन’ हो ।

यस साँझ अँध्यारो रातलाई उज्यालो प्रकाशले आलोकित पार्न घर–घरमा दियो–बत्ती बालिन्छ । धनधान्य एवं ऐश्वर्यकी अधिष्ठात्री माता लक्ष्मी, ज्ञानकी देवी सरस्वती र बुद्धि एवं विवेकका स्वामी भगवान् श्रीगणेशको आह्वान–पूजन गरिन्छ । यसले लक्ष्मी अर्थात् धनधान्यका साथ सरस्वती एवं गणपति अर्थात् ज्ञान र बुद्धि–विवेकको योग हुनु अपरिहार्य रहेको बोध गराउँछ । यसरी मात्र धनको सद्–उपयोग सम्भव छ ।

नेपालजस्तो कृषिप्रधान एवं संस्कृतिप्रधान देशमा लक्ष्मीको अवधारणा आधिभौतिक, आध्यात्मिक एवं आधिदैविक आदि रूपमा अभिव्यक्त भएको पाइन्छ । आधिभौतिक रूपमा लक्ष्मी रुपियाँ, सुन–चाँदी, जग्गा आदि भौतिक धन–सम्पत्ति हुन् भने आध्यात्मिक रूपमा उच्च चरित्र र मानवतावादी मूल्यहरू नै लक्ष्मी हुन् । आधिदैविक रूपमा लक्ष्मी हाम्री आराध्य विष्णुप्रिया कमलासना देवी हुन् । दुर्गा सप्तशतीमा उनलाई पुण्यात्माहरूका घरमा लक्ष्मी, दुर्जनका लागि अलक्ष्मी, बुद्धिजीवीका हृदयमा सरस्वती, सज्जनका मनमा श्रद्धा तथा कुलिनका कुलमा लज्जा भावले विराजमान हुन्छिन् ।

यसै दिनलाई दीपावली पर्वको प्रमुख दिनका रूपमा लिइन्छ । मुख्यतः हिन्दु, जैन र सिक्ख समुदायले मनाउने दीपावली वर्तमान समयमा वैश्विक पर्व बनेको छ ।

नेपाल र भारतबाहेक विश्वका विभिन्न देशमा बसोवास गर्दै आएका नेपाल र भारतीय मूल भएका समुदायका साथै त्यहाँका स्थानीयवासीले पनि उज्यालोको यो सुखद पर्व मनाउन थालेका छन् । विभिन्न देशका राष्ट्रप्रमुखले दीपावलीको सन्देश दिन्छन् । अमेरिका आदि कैयौँ देशमा ती देशका संसद् भवन अथवा राजकीय सदनमा समेत दीपोत्सव मनाउन थालिएको छ ।

तिहारमा औँसीको साँझ कन्याहरू भैलेनी खेल्दै समृद्ध पारिवारिक जीवनको शुभकामना र आशिष दिन घर–घर पुग्छन् । यसरी नेपाली समाजले मौलिक रूपमा तिहार मनाउने गरेको छ ।

लेखक धर्म तथा संस्कृति क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि