बैशाख ०६, २०८१, बिहीबार
               

सोह्र श्राद्ध : कागबेनीमा श्रद्धालुको भीड

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

गलेश्वर । यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका छन् ।

तीन वर्ष अघिसम्म सोह्र श्राद्ध लागेपछि दैनिक हजारौँको सङ्ख्यामा मुक्तिनाथ र कागबेनी पुगेर श्राद्ध गर्न भक्तजनको भीड लाग्ने गरेकामा दुई वर्षयता कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले मुस्ताङ प्रवेशमा कडाइ गरेपछि भक्तजनको सङ्ख्या पनि पातलिँदै गएको हो ।

मुस्ताङ प्रशासनले यस वर्ष कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा दुवै खोप लगाएको कार्ड देखाए प्रवेशका लागि अनुमति दिने भएपछि रिपोर्ट नेगेटिभ भएका र दुवै खोप लगाएका व्यक्ति मुक्तिनाथ दर्शन तथा श्राद्ध गर्न कागबेनी र मुक्तिनाथ जान थालेका छन् ।

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन ।

सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ धर्मावलम्बी आउने गरेका बताइन्छ ।

सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरू भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीको दिनसम्म चल्ने गर्दछ ।

सोह्र श्राद्धमा श्राद्ध गर्नका लागि चितवन, नवलपुर, नवलपरासी, म्याग्दी, बागलुङलगायत विभिन्न जिल्लाबाट भक्तजन आउन थालेका कागबेनीबाट कृष्णप्रसाद शर्मा (सापकोटा) ले जानकारी दिए । उनका अनुसार सोह्र श्राद्ध सुरु भएसँगै कागबेनीमा चहलपहल पनि बढेको छ ।

असोज १० गतेदेखि सर्वसाधारणका मुक्तिनाथ खुला गरिँदै 

मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो ।

कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

मङ्गलबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमणदर न्यून रहेकाले मन्दिर खुला गर्ने निर्णय गरेको हो । जिप्रकाको आदेशअनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ ।

बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको छ ।

कोरोना खोप लगाएका व्यक्तिले सहज प्रवेश पाउनेछन् । मुक्तिनाथ झण्डै समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ । 


कस्तो लाग्यो ?

यो पनि