बैशाख ०५, २०८१, बुधबार
               

पाकिस्तानका वरिष्ठ कमेडियन उमरको निधन

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

इस्लामावाद । पाकिस्तानका ‘किङ अफ कमेडी’ उमर शरीफको शनिबार निधन भएको छ । ६६ वर्षका कमेडियन क्यान्सरबाट पीडित थिए । उनलाई उपचारका लागि एयर एम्बुलेन्सबाट कराँचीदेखि वासिङटन लगिरहँदा स्वास्थ्य अवस्था बिग्रिएपछि जर्मनीमा आकस्मिक अवतरण गराइएको थियो । उनको जर्मनीकै एक अस्पतालमा निधन भएको हो ।

उमरले एयर एम्बुलेन्सबाट पत्नी जरीन गजलसँगै अमेरिकाको उडान गरेका थिए । तर स्वास्थ्य अवस्था खराब भएपछि बुधबार उनलाई जर्मनीको नूर्मबर्ग अस्पतालमा भर्ना गरिएको थियो । जर्मनीबाट तीन दिनपछि अमेरिका पठाउने तयारी भइरहँदा उनको निधन भएको हो ।

गत सेप्टेम्बर १० मा पाकिस्तानका टेलिभिजन होस्ट वसीम बादामीले उमरको एक भिडियो जारी गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग उनको क्यान्सर उपचारका लागि सहयोग मागेका थिए । भिडियो सार्वजनिक भएपछि भारतीय सिंह दलेर मेहन्दीले पनि प्रधानमन्त्री खानसँग कमेडियनको उपचारको माग गरेका थिए ।

जसअनुरुप सेप्टेम्बर ११ मा पाकिस्तानी सरकारले एक मेडिकल बोर्ड बनाएको थियो । जसले कमेडियनको उपचारका लागि विदेश पठाउने निर्णय लिएको थियो । सेप्टेम्बर १६ मा उमरलाई अमेरिकाको भिजा मिलेको थियो । उनको उपचारका लागि सिन्ध सरकारले ४० मिलियन रुपैंयाँको मञ्जुरी दिएका थिए । यद्यपि अमेरिका पुग्नुअघि नै उनको निधन भयो ।

 


कस्तो लाग्यो ?

यो पनि