बैशाख ०७, २०८१, शुक्रबार
               

दुर्गम बस्ती जोड्ने सडक निर्माण भएपछि बाजागाजासहित खुशीयाली

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ ।

गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्र्याक निर्माणले पूर्णता पाएको थियो ।

सडकको ट्र्याक निर्माण भएर नियमितरूपमा सवारी वारपार गर्न थालेसँगै सोमबार समारोह आयोजना गरी बाजागाजासहित सडकको उद्घाटन गरिएको हो ।

गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै संघयि र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट बस्ती दर्मिजा, चिमखोला कुइनेमङ्गले सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका छन् ।

सोमबार गाउँपालिकाको– ४ दर्मिजामा बाजागाजा र नाचगानसहित सडकको उद्घाटन गरिएको हो । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती दर्मिजा, चिमखोला र कुइनेमङ्गले क्षेत्रका नागरिकले यातायातको सुविधा लिन पाएका छन् ।

वडा नं ४ दर्मिजाका ९६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर गर्बुजा, वडा नं ८ कुइनेमङ्गलकी ९३ वर्षीया उडिमा कमिनी र वडा नं ७ चिमखोलाकी १० वर्षीया बालिका लिस्मा पुनले सडकको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

‘प्रभावित तीनवटै वडाबाट यस वर्ष गौरवको योजना यसै योजनामा परिचालन भयो, गाउँपालिकाको पहलमा दुई जलविद्युत् आयोजनाले समेत साझेदारी गरेपछि अन्ततः सडकको ट्र्याक निर्माणले पूर्णता पायो, आगामी दिनमा सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउनतर्फ हाम्रो पहलकदमी रहनेछ’, अध्यक्ष भण्डारीले भने ।

आर्थिक वर्ष २०७४–७५ देखि हालसम्म यस सडकखण्डमा १७ करोड रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र संघीय सरकारबाट यस सडकखण्डमा कूल चार करोड पाँच लाख ७२ हजार ६८७ रुपैयाा खर्च भएको जानकारी दिए ।

त्यसमध्ये गाउँपालिबाट तीन करोड ६२ लाख ६० हजार ७५६, प्रदेश सरकारबाट २१ लाख ५४ हजार ४६६ र संघीय सरकारमार्फत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत् २१ लाख ५७ हजार ४६५ रुपैयाँ खर्च भएको छ भने गाउँपालिका अध्यक्ष भण्डारीले समेत व्यक्तिगतरूपमा १० लाख रुपैयाँ परिचालन गरेका छन् ।

यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमङ्गले क्षेत्रमा जलविद्युत् निर्माण सुरु गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले ११ करोड रुपैयाँ बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन वर्षको अवधिमा दुई करोड ७६ लाख ४९ हजार ५२४ रुपैयाँ विनियोजन भई काम गरेको पाइएको छ । 

मोटरबाटो उद्घाटन गर्दै ज्येष्ठ नागरिकद्वय कमिनी र गर्बुजाले गाउँमा सडक निर्माण भई गाडी आएको देख्दा आफूलाई निकै खुशी लागेको बताए । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजाले सडक निर्माणले जनतालाई राहत मिलेको बताउँदै सडकलाई नियमित सञ्चालन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।  


कस्तो लाग्यो ?

यो पनि