असार २५, २०७७, बिहीबार
               

‘प्रधानमन्त्रीज्यू तपाईँको लाज ढाक्न मात्र बाँचिरहेकी छु’

पोषण अभावमा हातखुट्टा चल्न नसक्ने अवस्थामा एक बालिका जो जीवनमरणको दोसाँधमा छिन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनकाबीच सरकारी मिडिया बोलाएर अन्तर्वार्ता दिए ‘उपचार नपाएर रोग र खान नपाएर भोकका कारण कुनै पनि नागरिक मर्नु पर्दैन ।’ यो उनको नयाँ उद्घोष थिएन ।

प्रधानमन्त्रीमा निर्वाचित भएदेखि हालसम्म दसौँ पटक उनले यस्ता अभिव्यक्ति दोहोराउँदै आएका छन् । ‘खान नपाएर कोही पनि मर्नुपर्दैन, किनकि देशमा सरकार छ ।’ सुती सुती खान्छु भन्नेलाई सरकारले नै पाल्छ,’ यस्ता अनेक कुराहरू भन्दै आएका छन् । हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने आधारभूत अधिकार समान रुपमा उपयोग गर्ने सुनिश्चित रहेको प्रधानमन्त्रीको भाषणमा उल्लेख हुन्छ । 

प्रधानमन्त्रीले यसो भन्दै गर्दा उनलाई व्यङ्ग्य गर्ने एउटा कारुणिक दृश्य कान्ति बाल अस्पतालमा देखिएको छ । जहाँ खान नपाएर, पोषणको अभावमा हातखुट्टा चल्न नसक्ने अवस्थाकी एक बालिका जीवन मृत्युको दोसाँधमा छिन् । थाहा छैन कति बेला गरिबीले उनलाई मृत्युको मुखमा टपक्क टिपेर लैजान्छ ।

को हुन् ती बालिका, जो खानै नपाएर थला परिन् ?

खर्चको अभावका अस्पतालमा छटपटाइरहेकी बालिका गोरखा गण्डकी गाउँपालिका ७ माझटार निवासी ८ बर्षीया सुजना बास्कोटा हुन् । आर्थिक अवस्था कमजोर भएको परिवारकी उनी जेठी छोरी हुन् । उनको खर्च झेलिरहेकी उनी काठमाडौँको कान्ति बाल अस्पतालको आइसियुमा मृत्युसँग जुधिरहेकी छिन् ।

उनी राम्रो खानपान र पोषणको अभावमा बिरामी परेकी हुन् । सुजनाको  हातखुट्टा चल्दैन । सुरुमा बोल्न समेत नसक्ने उनी सानो आवाज मात्र निकाल्न सक्छिन् । समयमै थप उपचार पाएमा हातखुट्टा चल्न नसक्ने सम्भावना रहको चिकित्सहरू बताउँछन् । तर उपचार खर्च अभावमा उनी थलिन बाध्य छिन् । खान पिउन पनि नसक्ने उनलाई घाँटीदेखि मुनिको भागको विभिन्न ठाउँमा प्वाल पारेर झोल पदार्थ दिने गरिएको छ । 

बालिकाका बुबाआमाको आयआम्दानी छैन । उनीहरू मजदुर हुन् । लकडाउनले हातमुख जोर्न समेत धौधौ छ । गाउँलेहरूले नै केही रकम जोहो गरेर बालिकाको उपचार गर्न काठमाडौँ पठाएका छन् । बिरामी बालिकाका ठूलोेबुवाको छोरा, विनोद बास्कोटा बालिकासँगै काठमाडौँमा छन् ।

उपचारमा अहिलेसम्म सवा २ लाख रुपैयाँ खर्च भैसकेको उनी बताउँछन् । विनोदले भने ‘अस्पताले पैसा डिपोजिट गर्न भनेको छ । हामी निम्न आर्थिक अवस्थाको मान्छे, हामी गाउँलेले अलिअलि पैसा जम्मा गरेका थियौँ । अब सकियो । उपचारका लागि कसरी पैसा जोहो गर्ने हो, समस्यामा परेको छौँ ।’

महिना दिनयता उपचारका लागि प्रयोग भएको औषधिको हजारौँ रुपैयाँको बिल औषधि पसलमा तिर्न बाँकी छ । औषधि पसलेले पैसा तिर्न ताकेका गरिरहेको उनले बताए । अस्पतालमा पनि दिने पैसा नभएपछि उपचारमा समस्या छ ।

अस्पतालको शय्यामा छटपटाइरहेकी पैसा अभावमा उपचार प्रभावित नहुने भए पनि यस्तो अवस्थामा उपचारका लागि सरकारको ध्यान जान आवश्यक रहेको पीडित बालिकाकी छिमेकी विनीता रेग्मीले बताइन् ।

बिरामी बालिकाको एक भाइ र बहिनी छन् । उनीको उमेरको अन्तर डेढ वर्षको मात्र छ । उचित पालनपोषण नपाएका उनीहरूले शिक्षादीक्षा समेत पाएका छैनन् ।  

बिरामी बालिकाको पहिलाको फोटो, साथमा भाइ र बहिनी

प्रधानमन्त्रीज्यू कुर्सी मात्रै बचाउने कि जनता पनि ?

मुलुकमा कोरोना भाइरसको सन्त्रास छ । नियन्त्रण रोकथामको लागि भन्दै सरकारले ठुला बजेटमा यन्त्र उपकरण खरिद गरिरहेको छ । कोरोनाबीच फट्याङ्ग्रा प्रजातिका सलह किरा नेपाल प्रवेश गरेको छ । विदेशका धेरै मुलुकमा जस्तै यसले खाँद्यबाली नष्ट गर्ने अनुमान छ । यसको रोकथाम तथा नियन्त्रणको लागि पनि ठुलै बजेटको खेलो फड्को भइरहेको छ ।

भारतले अतिक्रमण गरेको लिपुलेक भूमि नेपालले नक्सामा ल्याएपछि ती विषयहरूले समाचार माध्यममा राम्रै स्थान पाएका छन् । नेपाली भूमि फिर्ता ल्याउन लागेकै कारण् आफ्नो सत्ता सङ्कटमा रहेको प्रधानमन्त्रीले बताएका छन् । उनी आफ्नो सत्ताको बचाउनमा सारा संयन्त्र प्रयोग गर्दै लागेका छन् ।

यस्तो अवस्थामा एउटा निमुखा बालिकाको उपचार सरकारको लागि गौण हुन सक्छ । या यस्ता विषय भाषणका लागि मात्र हुनसक्छ ।राज्यको चरित्र हेर्दा, यस्तो अवस्थामा पीडित बालिकाले राज्यको अभिभावकत्व खोज्नु गलत हुनसक्छ । यसैले बोल्न नसक्ने ती बालिका अस्पतालकै शय्याबाट मनमनै भन्दिहुन् ‘प्रधानमन्त्रीज्यू खान वा उपचार नपाएर कोही मर्नु पर्दैन भन्नुभएको थियो, यसैले तपाईँको लाज ढाक्न मात्र म बाँचिरहेकी छु ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि