बैशाख ११, २०८१, मंगलबार
               

सामाजिक सञ्जालमा भुवन र साम्राज्ञीबीच आरोप-प्रत्यारोप

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

अहिले सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता/निर्माता भुवन केसीबीच जुहारी नै चलिरहेको छ । उनीहरू एकअर्कालाई आरोप-प्रत्यारोप गरिरहेका छन् ।

'नेपोटिजम'को विषयमा बहस चलिरहँदा साम्राज्ञीले आफूमाथि शोषण भएको आवाज उठाइन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले आफूले काम गरेका ८ मध्ये ३ व्यानरले शोषण गरेको बताएकी छन् ।

आफूमाथि ती ठूला मानिएका ब्यानरले गरेको व्यवहार शब्दमा भन्न नसक्ने नै भएको साम्राज्ञीले बताएकी छन् । सुटिङ सेटमा आफूलाई खाना पनि राम्रोसँग नदिएको साम्राज्ञीको गुनासो थियो ।

साम्राज्ञीले त्यहाँ कुन निर्माण पक्षले आफूमाथि शोषण गरेको भन्ने कुरा खुलाएकी छैनन् । तर, पनि साम्राज्ञीको अभिव्यक्ति डेब्यू चलचित्र 'ड्रिम्स' निर्माता/निर्देशक भुवन केसीप्रति लक्षित भएको प्रष्ट हुन्छ ।

साम्राज्ञीको यस अभिव्यक्तिपश्चात् 'ड्रिम्स' निर्माता भुवन केसीले एक स्टाटस लेख्दै आफूले डेब्यू गराएको चलचित्रकै कारण साम्राज्ञीले अहिले पनि काम पाइरहेको उल्लेख गरे । उनले 'जुन थालमा खायो, त्यही थाल दुलो पारेको' भन्दै आक्रोश पोखे ।

उनले लेखेका छन्, 'खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने, त्यही थाल दुलो पार्ने ?'

भुवनले 'सामाजिक सञ्जालमा गर्नेबराबर अभिनय चलचित्रमा पनि गरे हुने नि !' भन्दै साम्राज्ञीको अभिनयप्रति पनि प्रश्न खडा गरेका छन् ।

यस कुरा साम्राज्ञीलाई पचेन । त्यसैले पुन: एउटा भिडियो पोस्ट गर्दै साम्राज्ञीले भुवनको उत्तर फर्काएकी छन् । उनले व्यवहार नै त्यस्तै गरेकाले बोल्न बाध्य भएको बताएकी छन् ।

'एक जनाले जुन थालमा खायो, त्यही थालमा दुलो पार्योड भन्नुभयो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो’, साम्राज्ञीले नाम उच्चारण नगरी भुवनमाथि कटाक्ष गरेकी छन् ।

साम्राज्ञीले जापानमा भएको एउटा अवार्डको शिलशिलामा पनि भुवनले नराम्रो व्यवहार गरेको बताएकी छन् । भुवनले साम्राज्ञीलाई आफ्नो उत्पादन भएको भन्दै आइन्दा पुरानो कुरा नकोट्याउन धम्की दिएको साम्राज्ञीले आरोप लगाएकी छन् ।
त्यस समय भुवन आफूमा टाँसिन आएको पनि साम्राज्ञीको आरोप छ ।

उनले भनेकी छन्, 'उहाँले गालामा मुख जोडाएर छोरी, अब यस्तो नगर है भन्नुभयो । तै पनि म सुनिरहेँ ।'

यो पनि