असार २५, २०७७, बिहीबार
               

'पैसा भए पनि खाद्यान्न किन्न नपाउने अवस्था आउन सक्छ'
कोरोनाका कारण खाद्य संकट देखा पर्छ, भारतले आफैँलाई नपुगेर खाद्यान्न हामीलाई नपठाउन सक्छ
नेपाल फ्ल्यास
असार १५, २०७७

आज असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन । राष्ट्रिय धान दिवससँगै तामझामका साथ रोपाइँ महोत्सवको रुपमा मनाउने गरिन्छ । सरकारले राष्ट्रिय धान दिवस मनाउँदै आए पनि, यसको उत्पादकत्व बढाउने विषयमा खासै ध्यान नदिएको कृषि विज्ञ बताउँछन् । हाल विश्वभर कोरोना भाइरसको महामारीको प्रकोप छ । यसले गर्दा नेपालमा मात्र नभई विश्वभर धान उत्पादनमा गिरावट आउने अनुमान छ । नेपालमा धान उत्पादनको अवस्था, आयातको अवस्था र आत्मनिर्भर बन्न अपनाउनुपर्ने योजनाका विषयमा नेपाल फ्ल्यासका लागि श्यामसुन्दर पुडासैनीले धानविद् भोलामानसिंह बस्नेतसँग गरेको वार्ताको सम्पादित अंश ।

कोरोना महामारीका कारण धेरै समय विश्वका धेरै मुलुक लकडाउनमा रह्यो । धेरै समय कृषिदेखि आर्थिक गतिविधि शून्य रह्यो । यसले सम्भावित खाद्य सङ्कटको अवस्था निम्त्याउने कत्तिको खतरा छ ?

विश्वमा जताततै कोरोना भाइरसको समस्या छ । यसको समाधान भएपछि खाद्यान्नमा भारी कमी आउने निश्चित  छ। जसको कारण विश्वभर भोकमरी आउने कुरालाई नकार्न सकिन्न । यसलाई मनन गर्नुपर्छ ।

विश्वभरका विभिन्न विषयमा खारिएका कृषिविज्ञ, प्राविधिकसँग राय, सल्लाह लिनुपर्छ । नेपाल सरकारले सोहीअनुसार अगाडि नै सोच्नु बुद्धिमानी हुन्छ । यस प्रकोपले  सताएको बेलामा धेरै देशमा सलहनामक फट्याङ्ग्रा धेरै देशमा आएको छ । यसले पनि खाद्यसंकट निम्ताउन थप मद्दत गर्ने देखिन्छ ।

तपाईं नेपालकाे खाद्य अवस्था कस्तो देख्नुहुन्छ ?

अहिले तितो यथार्थता के हो भने हामी ९० प्रतिशतभन्दा बढी धान, चामल भारतबाट आयात गरिरहेका छौँ । त्यसैले अहिले हामी धान उत्पादन निक्कै थोरै परिमाणमा गरिरहेका छौँ भन्ने देखाउँछ । बजेटमा देशलाई हरहालतले खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना आउनुपर्ने हो । तर,  त्यो देखिएन । हामीसँग विभिन्न बालीका जात, बिउ, प्रविधि छन् । तर, त्यस ढङ्गले अगाडि बढ्ने तदारुकता भएन ।

नेपाल खाद्यान्नमा आत्मनिर्भर नहुने हो भने हामीसँग खल्तीमा पैसा भए पनि खाद्यान्न किन्न नपाउने अवस्था आउने खतरा छ ?

के हामीले बाँच्नका लागि पनि सधैँ अरूको मुख ताक्ने  हो ?  लकडाउनमा हालै भारत सरकारले ८० करोड जनसङ्ख्यालाई तीन महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराएको छ  । घरपालुवा पशुपक्षी माछाका दाना, पानीमा पनि विशेष ध्यान जान जरुरी देखिन्छ । फलफूल, तरकारीको उत्तिकै महत्त्व छ । भारतले अब आफैँलाई नपुगेर बाहिर पठाउने अवस्था नहुन पनि सक्छ ।

यसअघि सन् २००७–००८ मा विश्वमा खाद्यसंकट भएको थियो । धान, चामल, गहुँजस्ता खाद्यान्न निर्यातको चार वर्षसम्म प्रतिबन्ध भयो । हामीले भारतबाट खाद्यान्न खरिद गर्न पाएनौँ । अब त्यो सन्दर्भलाई यहाँ स्मरण गर्न ढिलो भइसक्यो । हामी आफैँ खाद्यान्नमा आत्मनिर्भर नहुने हो भने खल्तीमा पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था नहोला भन्न सकिन्न । यसका लागि धेरै पहिलाको उदाहरण जानुपर्दैन, पाँच वर्षअघि नाकाबन्दीको समयमा पनि यो समस्या निम्त्याएको थियो । अब पछिल्ला प्रकोपका कारण पनि यो समस्या निम्तिने खतरा छ । 

कृषिवज्ञका हिसाबले यहाँ कृषि क्षेत्रमा के-कस्ता समस्या देख्नुहुन्छ ?

मुख्य पहिलो खाद्यन्नको स्रोत बर्खेधान अहिले रोप्ने समय  छ। विगतमा भन्दा यसपालि मनसुन समयमै भएकाले रोप्न सहज छ। यसअघि बिउ रोप्ने समयमा पनि पानी परेको छ। यो सकारात्मक पक्ष हो । यसअघि नेपाली कृषकले मुख्य पहिलो खाद्यान्न बालीको रूपमा चैतेधान लगाएका थिए । त्यो अहिले काट्ने समय हो ।

कृषकहरूले लगाएका मकै भित्राएका छन् । चैते धान र मकैलाई पनि पानी पुगेको थियो । प्रकृतिले त साथ दियो, तर राज्य संयन्त्रले राम्रो काम नगर्दा बीचमा  युरिया मल समयमा तत्काल उपलब्ध भएन । उदाहरणका लागि एक किलो नाइट्रोजनले २० किलोग्राम धान उत्पादन गर्न सहयोग गर्छ । यस्तो समयमा युरिया मल र किसानले नपाउँदा ठूलो समस्या झेल्नुपर्याे । अब पनि बर्खेधान लगाएपछि त्यो समस्या भएन भने यसपालि उत्थान राम्रो हुने देखिन्छ ।

भनेपछि धानको उत्पादन बढाउन अब सरकारले कृषिलाई प्रोत्साहन गर्नुपर्छ । मलबिउ कृषिऔजार उपलब्ध गराउनुपर्छ ? 

अहिले कोरोनाको महामारी भयो । सबै क्षेत्र बन्द भयो । खाद्यसंकट आउने भयो भनेर अब खेती गरौँ र उत्पादन गरौँ भन्ने हुँदैन । अहिले सङ्कटको समयमा मात्र उत्पादन गर्छु भन्ने हो भने, त्यो पैसाले काम गर्ने छैन । त्यसबेला खाद्यसामग्री आजको भोलि उत्पादन हुने होइन । अतः कोरोना महामारीको रोकथाम गर्नुपर्छ । सरकारले अर्कोतर्फ कृषि उत्पादन र बजारीकरण पहिलो प्राथमिकतामा पार्नुपर्छ । कृषि उत्पादन एवं उत्पादकत्व वृद्धि गर्न कृषि सामग्रीको ठूलो भूमिका हुन्छ ।

तर, त्यो समयमै उपलब्ध गराइएन भने त्यसको खास अर्थ हुँदैन । अहिले कृषि उत्पादनको लागि आधुनिक प्रविधि धेरै ठाउँमा पुर्‍याउन सकिएको छैन । यसैले पनि यसपटक विगतभन्दा खासै धेरै धान उत्पादन नहुने देखिन्छ ।

आर्थिक दृष्टिकोणले भन्ने हो भने नेपालमा धान उत्पादन १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी हने  गरेको छ । सालाखाला यस वर्ष पनि त्यस्तै रहने अनुमान  छ। 

के हामी धान उत्पादनमा आत्मनिर्भर हुन सक्दैनाैँ ? 

चाहँदा सकिन्छ । गत साल नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धान खेती भयो । ५६ लाख १० हजार मेट्रिकटक उत्पादन भयो । उत्पादकत्व भने तीन हजार आठ सय किलोग्राम प्रतिहेक्टर रहेको थियो । झन्डै अट्ठाइस, तीस अर्ब रुपैयाँबराबरको चामल आयात भएको सरकारी आँकडाले देखाउँछ । 

झापा एउटा जिल्लामा मात्र धेरै ठूलो मात्रामा धान उत्पादन गर्न सकिन्छ । त्यहाँ उत्पादन हुने धानलाई हेर्ने हो भने नेपालका अरू २२ वटा पहाडी जिल्लाको भन्दा बढी हुने गर्छ । अब नेपालमा चैते, भदैया, वर्षे, हिउँदे (बोरोे) गरी वर्षैभरि धान खेती गर्न सकिने प्रविधिको विकाससमेत भइसकेको छ । तर, हामीले धानबालीलाई के कस्तो प्राथमिकता दिएका छौँ, सोको मूल्याङ्कन गर्दै योजनाबद्ध रुपमा सुधार गर्दै गएमा, आगामी आठ/दश वर्षमा आत्मनिर्भर हुन सकिन्छ ।

धान उत्पादनसँग र मुलुकको आर्थिक समृद्धि कसरी जोडिएको छ ?

धान नेपालका लागि एक प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि जान्छ । धान उत्पादन घट्यो भने आर्थिक स्थिति तल झर्छ ।  देशले १० प्रतिशत धानको उत्पादन बढाउन सकियो भने नेपालको आर्थिक वृद्धिदर एक प्रतिशतले हुनेछ । त्यसैले धान बालीको अनुसन्धान र विकास कार्यक्रमलाई देशले प्राथमिकता दिनुपर्छ ।

नेपालमा प्रत्येक वर्ष सिंचित क्षेत्र बढ्दै गएको अवस्थामा चैते धान खेती गर्न सकिने क्षेत्र बढाउँदै जानुपर्छ । धानको उत्पादन सहजै बढाउन सकिने भएकाले चैतेधान खाद्य सुुरक्षाका लागि वरदान साबित हुन सक्छ । नेपालको कुल खाद्यान्नमा धानको ५० प्रतिशतभन्दा बढी योगदान हुने गरेको छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) र (एजीडीपी)मा क्रमशः करिब सात २१ प्रतिशत योगदान रहँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि