बैशाख ०८, २०८१, शनिबार
               

मध्यरातमा यसरी फिल्मी शैलीमा लुटियो बुद्धचित्त

ADVERTISEMENT

झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने बयरको गेडा जस्तो । मूल्यले भने सुनजस्तै महत्ववान् । लामा तामाङ समुदाय र विशेष गरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बुद्धचित्तको महत्त्व ठूलो छ । धार्मिक तथा सांस्कृतिक रूपमा पनि यसको महत्त्व छ । जसकारण बजारमा बोध चित्तका मालाको मूल्यले यसको महत्त्व बढाएको छ । बुद्धचित्तको मालाको मूल्य र महत्त्व जति बढेको छ, किसान र व्यवसायीलाई उत्तिकै असुरक्षित र आतंकित समेत बनाएको छ ।

काभ्रेका शिखरअम्बोटे र तिमाल, पाँचखाल क्षेत्रका केही गाविसमा मात्र फल्ने मालाका कारोबारी भटाभट लुटिन थालेपछि मालाका बोट हुने किसानसमेत असुरक्षित महसुस गर्न लागेका छन् । व्यवसायी पनि पैदल वा गाडीमा बोध चित्तको माला वा दाना लिएर फर्कदा लुटिन थालिएका छन् । पछिल्लो समय सुरक्षाको लागि कतिपय व्यापारीहरु हेलिकप्टर चार्टर गरेर गाउँ पुगेर बोध चित्तका माला वा दाना लिएर फर्कन थालेका छन् ।

बर्सेनी लाखौँ रुपैयाँमा बिक्ने बुद्धचित्तका दाना फलेका रुखबाटै लुटेराहरूले दाना झारेर लैजाने र लुट्ने क्रम बढेपछि किसानले यस्तो जुक्ति निकालेका थिए । दानाको सुरक्षाको लागि रुख मुनी नै सुत्दै आएका उनीहरूले हरेक रुखमा सिसी क्यामेरा जडान गरेका थिए । तैपनि लुटेराहरूले सिसी क्यामरा नष्ट गर्दै बोटका दानासमेत झार्दै लुटेर लैजाने श्रृखला रोकिएको छैन ।

लुटेराको फिल्मी शैली

पछिल्लो पटक गएराति पनि यस्तै घटना भयो । ९० लाख रुपैयाँ बराबरको बुद्धचित्तको दाना लुटेरा समूहले लगेको छ। बिहीबार मध्यरात हतियारसहित आएको लुटेरा समूहले रोशी गाउँपालिका ३ सिपालीका वीरबहादुर तामाङको बुद्ध चित्तको दाना फिल्मी शैलीमा लुट्याे । बाेटमा बुद्धचित्त लटरम्म फलेका थिए। छिप्पिएर मालाको लागि तयारी हुने लागेको थियो । बुद्धचित्तको असार अन्तिम सातादेखि साउनको आधा-आधीमा टिप्दा गुणस्तरीय दाना हुन्छ । यसपालि समयमै पानी परेकाले दाना छिटो तयार भएका थिए । बेच्नको लागि वीरबहादुरका परिवारले ठेकेदारसँग ९० लाख रुपैयाँमा डिल गरिसकेका थिए । केही रकम अग्रिम लिएका पनि थिए ।

बिहीबार मध्यरात १ बजे रोशी गाउँपालिका सिपालीका वीरबहादुरको बुद्धचित्तको दाना रहेको बारीमा दुई जना अपरिचित व्यक्ति प्रवेश गरे । बोटको सुरक्षाको लागि चार जना सुरक्षा गार्ड थिए । दुई जना सुतेका थिए । दुई जना बुद्धचित्तको बोटहरू रेखदेख गर्दै थिए । बुद्ध चिक्त छिप्पिने समय भएकाले असुरक्षा असार-साउन महिनामा हुन्छ । दुई जना टर्च बाल्दै गन्थन-मन्थन गर्दै आएका दुई जना सुरक्षागार्डले देखे । ‘हल्ला गर्दै टर्च बाल्दै आएका मान्छे लुटेरा त पक्कै नहुनुपर्ने, तर राति किन हिँडेका छन्’ भन्ने गार्डहरूलाई लाग्यो । 

‘मध्यरात तपाईँहरू कता जान लागेकाे ? गार्डहरूले टाढैबाट सोधे । दुई जना अपरिचितले जवाफ दिए, ‘हामी सिन्धुली घर जान लागेका हौं, लकडाउनले गाडी पाइएन, दिनरात हिँडेरै जाँदै छौ, सर्टकर्ट बाटो खोज्दै हिँडेको, बाटो अलमलिएर यता पो आइयो ।’ उनीहरूको कुरा सुनेर गार्डहरूलाई लाग्यो उनीहरू साँचै पीडित छन्, सहयोग गर्नुपर्छ ।  

‘खाना पनि खाएका छैनौँ, पानी परेर शरीर लगलग काँपिरहेको छ, कसरी पुग्नु सिन्धुलीसम्म,’ अपरिचितले भने । उनीहरूको भनाइले सुरक्षा गार्डको मनमा दया पलायो । उनीहरूको लागि आफूहरूले खाने भान्साबाट केही खानेकुरा जोडाजोड गर्न लाग्दै थिए, सुरक्षा गार्ड । केही बेरमै अपरिचितहरू हातमा पेस्तोल लिएर ती सुरक्षा गार्डको कन्चटमा ताके ।

साँझको पाहुना भगवान् हुन्छन् भन्ने ठानेर गार्डहरू खानपिनको जोडाजोड गर्न लागेका थिए । तर उनीहरू सैतान बनेर निस्किए । आफूहरूलाई हमला गर्न लागेको थाहा पाएपछि पो गार्डहरूले बुझे उनीहरू बुद्धचित्तका दाना लुट्न आएका रहेछन् ।

यत्तिकैमा अपरिचितका अरू साथीहरू ह्वारह्वारती प्रवेश गरे । कोही बुद्धचित्तका बोटमा चढेर झार्न लागे । कोही तल बोरा लिएर दाना संकलन गर्न लागे । सुतेका गार्डहरूलाई समेत लुटेराले नियन्त्रणमा लिए । सुतेका गार्ड जब बिउँझिए आफू अघि हतियारधारी देख्दा सपनामै रहेछु की भन्ने भ्रममा परे ।

बुद्धचित्तका बोट (फाइल फोटो)

अत्याधुनिक हतियारसहित आएको लुटेरा समूहले सुरक्षाका लागि बसेका पाँचै जना गार्डलाई आक्रमण गरेर घाइते बनाए । केही लुटेराहरूले वीरबहादुरको घरको ढोका फोरेर परिवारलाई समेत नियन्त्रणमा लिए । निगरानीका लागि राखिएको सीसीटीभीको डिभाइस समेत नष्ट गरे । गार्डहरू र बीरबहादुरका परिवारले बताए अनुसार लुटेराहरूले एसएमजी बन्दुक, पेस्तोल, कटुवा बन्दुक बोकेका थिए । लुटेराहरू १६ जना जति रहेको अनुमान छ ।

‘९० लाखमा बेच्नका लागि ठेकेदारसँग कुराकानी भैसकेको थियो, तर लुटेरा समूहले ९० प्रतिशत भन्दा बढी दाना लग्यो,’ वीरबहादुरले भने, ‘दुई वर्षअघि पनि कलिलैमा लुटेराहरूले आधा दाना नष्ट गरिदिएका थिए ।’

कसैले प्रहरीलाई खबर गरे पनि उनीहरू आउन नपाउन् भनेर लुटेराहरूले बाटैभरी अवरोध गरेका थिए । अत्याधुनिक हतियारसहित लुट्न आएका उनीहरूले बाटोमा खतरा लेखेर सवारीसाधन समेत चल्न दिएका थिएनन् । ‘बाटै भरी अवरोध गरी नक्कली होक्स बम राखिएको थियो, बाटो पन्छाउँदै घटनास्थल पुग्यौं, लुटेराहरू बुद्धचित्तसहित भागिसकेछन् ।’  काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले नेपाल फ्ल्यासलाई बताए । घटनास्थलमा गोलीको फोका र नपड्किएको गोली समेत बरामद भएको उनले जानकारी दिए । ‘घटना सबन्धमा अनुसन्धान गर्दैछौँ, छिट्टै निष्कर्षमा पुग्नेछौँ ’ उनले भने ।

व्यापारी समेत असुरक्षित

दुई वर्षअघि मंगलटारबाट बुद्धचित्तको माला लिएर बनेपातर्फ आउँदै गरेका व्यापारी राज दोङ बनेपा बुडोलमै लुटिएका थिए । त्यसपछि किसानले मात्र होइन व्यवसायीले पनि असुरक्षा महसुस गर्दै आएका थिए । यसअघि धेरै पटक किसानका बारीबाटै बोध चित्तका दानाहरू लुटिइसकेका छन् । बुद्धचित्तको दाना लुट्न खोज्ने र लुट्दालुट्दै पनि धेरै लुटेरा पक्राउ परिसकेका छन् । बुद्धचित्तको बोटकै कारण किसनाहरु असुरक्षित भएको भन्दै कतिपय किसानका सपरिवार जिउ ज्यानको सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् ।

बुद्धचित्तको बजार कहाँ ? 

लामा गुरु र तामाङ समुदायले जपध्यान गर्नका लागि बोध चित्त दानाको माला उपयोग गर्ने गरेका छन् । बुद्धचित्तको मुख्य बजार काठमाडौँ बौद्ध हो । बुद्धचित्त मालाको एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्ममा कारोबार हुँदै आएको छ । बुद्धचित्त माला काठमाडौँ हुँदै चीनसम्म पुग्ने गरेको छ । चीनमा पुग्दा सबैभन्दा सानो साइज ८ मिलिमिटरको एउटा माला (१ सय ८ दाना) को डेढ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म पाउँदै आएको व्यवसायी बताउँछन् ।

काभ्रेका केही गाउँपालिकादेखि पाँचखाल नगरपालिकामा समेत यसको खेती हुँदै आएको छ । काभ्रेमा झन्डै ४० जना किसानसँग बोध चित्तको बोट छ । उनीहरूको बारीका झन्डै ४ सय वटा बोटमा बर्सेनी बुद्धचित्त फल्ने गरेको छ । बुद्धचित्तका दाना रुद्राक्ष वा बयर जस्तै हुन्छ । बाहिर बोक्रा हुन्छ भने भित्र कडा दाना हुन्छ । यसलाई  किसानले ढिकीमा फलेर बोक्रा निकाल्ने गर्छन् । घाममा राम्ररी सुकेको दानालाई मेसिनले प्वाल पारेर माला बनाइन्छ । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि