असार २५, २०७७, बिहीबार
               

कसरी भनूँ, म पनि निकै आत्तिएकै छु !
चेतन पाण्डे
असार १०, २०७७

माया पनि अचम्म कै हुँदो रहेछ । त्यसमाथि पनि सन्तानको ।

मेरा बाबा–ममीले पनि निकै माया गर्दा रहेछन्, थाहा थियो । तर, आफैँ बाउ बनेपछि आमा–बाबुले कति माया गर्दा रहेछन् भन्ने झन् पत्तो पाइँदो रहेछ । उनीहरूले गरेका माया ‘फ्ल्याकब्याक’ बनेर आँखामा नाच्दा रहेछन् । मेरा कति नखरा बाबा–ममीले हाँसेरै सहेका रहेछन् । त्यो पनि पत्तो पाइयो । आफैँले ती नखरा हाँसेर सहँदा ।

भाग्यले दुई सन्तान उपहार दिएका छन् । आफ्ना सन्तान सबैलाई फूल झैँ लाग्छन् । त्यो पनि सधैँ फक्रन लागेका जस्तै । अनि फूल झैँ सधैँ हाँसिरहुन् भन्ने पनि लाग्ने । बाबु–आमाको नजरमा सन्तान कहिल्यै ठुला बन्दैनन् । मेरी ममीले मसँग गर्ने र मैले मेरा छोरा–छोरीसँग गर्ने व्यवहार एकनास कै हुने हुनाले पनि यस्तो लागेको हो ।

अजिब छ संसार चाहना नै अथाह हुन्छ । त्यही चाहनाको पछाडि रुमल्ली रहन्छ पनि । के का लागि सङ्घर्ष गरिरहेको थाहै नपाईकनै झनै सङ्घर्षका चाङ पाइलामुनि ठोकिरहन्छन् । 

त्यो बेला र अहिले पनि सम्भ्रान्त नाम चलेकै विद्यालय बुढानीलकण्ठमा ४ कक्षादेखि पढ्नका लागि छात्रवृत्ति मै नाम निकालेको थिएँ । बाबा अथाह माया गर्थे, मलाई । मलाई होस्टेलमा राखेर बस्न सक्छु भन्ने लागेन छ क्यार, भर्नै गरिदिएनन् । बरु, आफ्ना एक मित्रका छोरालाई मेरो स्थानमा भर्ना गर्न मन्जुरी जनाएछन् । 

त्यो बेला मैले मेरा बाबाको मन बुझिन, चित्त दुखाएँ । शायद अहिले पनि दुख्छ, कहिले काहीँ । मुलुक कै सबैभन्दा ठुलो र प्रख्यात विद्यालय, त्यसमाथि राज परिवारका सदस्यसमेत पढ्ने विद्यालयमा अध्ययन गर्ने मेरा सपनालाई मेरा बाबाले सिसा झैँ फुटाइ दिए ।

हाम्रा परिवारमा सबैभन्दा नरुचाइने पेसा पत्रकारिता नै थियो । किनकि हाम्रै परिवारले पत्रकारका बिचल्ली देखेको थियो । मेरा बुढा मावली छापाखाना पाँडेका नामले चिनिन्थे । त्यो परिवारले एक से एक होनहार पत्रकार जन्मायो । तर, आजका प्रकाशक–पत्रकार झैँ आर्थिक रूपमा कोही अथाह बलिया बन्न सकेनन् ।

सानैदेखि पाइलट बन्ने चाहना पालेको थिएँ । बाबा केही सकारात्मक थिए । तर, ममीले ठाडै अस्वीकार गरिन् । छोरा दुर्घटना मर्छ कि भन्ने डरले । दोस्रो पटक टुटेको थियो, मेरा सपनाका सिसा । हुनसक्छ, बाबु–आमाका आ–आफ्नै बाध्यता होलान् । तर, बाबा–ममीका अगाडि खुट्टा बजारेर झोँक नदेखाए पनि मेरा सपनामा पलाएका प्वाँखहरूलाई यथार्थको बाछिटाले झारेका थिए । मैले दोहराएर कर गरिन । अनि त्यही झोँकमा कसैले नरुचाउने पत्रकारिता पेसा अँगाले । सफल भइयो कि असफल, जिन्दगीका तथ्याङ्क मिलाउनै बाँकी छ । 

हाम्रा परिवारमा सबैभन्दा नरुचाइने पेसा पत्रकारिता नै थियो । किनकि हाम्रै परिवारले पत्रकारका बिचल्ली देखेको थियो । मेरा बुढा मावली छापाखाना पाँडेका नामले चिनिन्थे । त्यो परिवारले एक से एक होनहार पत्रकार जन्मायो । तर, आजका प्रकाशक–पत्रकार झैँ आर्थिक रूपमा कोही अथाह बलिया बन्न सकेनन् । बरु बाउ–बाजेले जोगाएका सम्पत्तिबाटै जीवन गुजारा गरे, पत्रकारिता गरे ।

वास्तवमा हुनेखानेले मात्र अपनाउने पेसा थियो पत्रकारिता, २०४६ सालअघि । कतिले शौखले गरे, कतिले राजनीतिक आस्थाका कारण । अहिले पत्रकारितामा देखिएको महत्त्वाकाङ्क्षी व्यावसायिकताका कारण ती कालखण्डमा लेखिएका पत्रकारिताको सुनौलो इतिहासलाई बिर्सी सकिएको छ । ती इतिहास लेख्नेहरू नै त्यही इतिहासमै दफन भएका छन्, विलीन भएका छन् । 

आखिर इतिहास लेख्ने र मेटाउने अधिकार त बाँच्नेहरूसँग मात्र न हुन्छ । सत्य त्यही रहेछ ।

०००

मैले आफैँसँग सधैँ एउटै वाचा गरे । सन्तानको सपनामा कहिल्यै बाधक नबन्ने ।

पहिलो सन्तानका रूपमा छोरी जन्मिई । आँखामा सजाएर हुर्काएँ । उसका आवश्यकता र चाहनालाई सकेसम्म भुइँमा झर्न दिइन । अनि सबैले भन्थे, निकै पुलपुलाएको छस् ! पत्नीजी पनि जब छोरीलाई गाली गर्नु पर्थ्यो, त्योभन्दा अगाडि मलाई गाली गर्थिन् । शब्द बाणले पहिले मेरो मुखमा बुझो कोच्थिन्, अनि छोरीलाई गाली गर्न थाल्थिन् । अहिले मेरो कुरा काट्नु पर्‍यो भने पनि त्यही छोरीलाई रोज्छे । गजब छ, जिन्दगी ।

जिन्दगी पनि रबर जस्तै हुँदो रहेछ । कति तन्किन्छ अनि कहिले टुट्छ ? न रबर तान्नेलाई थाहा हुन्छ नतै जिन्दगी तान्नेलाई । जिन्दगीका ताना बाना बुन्दा बुन्दै कहिले उमेर ढल्किएर डुब्न लागेको घाम बनियो भन्ने पनि पत्तै नहुने । हिजो मात्र जन्मिएका झैँ लाग्ने सन्तानका आँखामा जब भविष्यप्रति चिन्ताको सपनाका प्वाँख पलाउन थाल्छ, तब पो झसङ्ङ भइँदो रहेछ । अनि लाग्दो रहेछ, अब त जवानी पनि पारी डाँडाको घाम बनिसकेछ ।

मेरी छोरी पनि मैले थाहा पाउनुभन्दा अघि नै ठुली भइसकेकी रहिछ । समयलाई रोक्न सक्थेँ त उसलाई तोते बोली बोल्ने उमेर मै अड्काएर राख्थेँ । तर, दुई वर्षअघि मात्र प्लस टु सकाएपछि मेरी छोरीको मनलाई अमेरिकी कलेजले तान्यो । आफ्नो जिन्दगीलाई सफल बनाउने सिँढी त्यही देशबाट सुरु हुने बुझाइ उसको थियो । राम्रै पढ्छे ।

काठमाडौँको राम्रै कलेजमा पनि छात्रवृत्ति मै प्लस टु पढेकी थिई । स्कलर अवार्ड पनि पाइ । साह्रै गर्व लागेको थियो, छोरीको सफलतामा । त्यो दिन कमोडमा बसेर केही थोपा आँसु चुहाएँ, खुसीले । उसले जीवनमा दिएको अमूल्य उपहार थियो, त्यो मेरो लागि । त्यही बेला मैले उसका आँखामा पनि बेग्लै चमक देखेँ । भविष्यका बारेका उसले कोरेका रेखाचित्र सहित ।

अमेरिकाको राम्रै गणनामा आउने कलेजमा पढ्छे, अहिले । त्यो पनि शतप्रतिशत छात्रवृत्ति मै । उसको खाने–बस्ने अनि पढाइको चिन्ता लिनु पर्दैन, मैले । बस्, चिन्ता लिइन्छ त उसकै मात्र । उसकै भविष्यको मात्र ।

मेरो चाहना यतै पढोस् भन्ने नै थियो । एमबिबिएस गरोस् भन्ने थियो । कहाँ पुरा हुन्छ र ? जिन्दगीका हरेक चाहना । नत्र मैले कुनै बेला आफ्नो जिउमा सजिएको कल्पना गर्ने पाइलटको युनिफर्मले उसको शोभा बढाउन् भन्ने पनि थियो । ठाडै अस्वीकार गरी । दबाब दिइन । मेरो चाहनालाई सन्तानमाथि लाद्ने कोसिस पनि गरिन । किनकि उसले कल्पना गरेको भविष्यका अगाडि मेरो चाहना त फिका लागे, मलाई नै । उसले कोरेका भविष्यका रेखाचित्रका अगाडि मैले कल्पना गरेको भविष्यका चित्र निकै तुच्छ पनि लागे । अहिले अब छोराबाट पो मेरा अधुरा सपना साकार बनाउने चाहना पलाएको छ । तर, थाहा छ उसका सपनाका अगाडि मेरा सपना फेरि तुच्छ साबित हुनेछन् भन्ने पनि । 

अमेरिकामा कोरोना भाइरसले उपद्रो मच्चाएपछि भने छोरीलाई सम्झेर निकै तनाव लिएँ । त्यो बेला पनि कमोडमा बसेर आँखा रसिलो बनाएँ । एक्ली छोरी बिचल्लीमा परेकी बेला । हुनत उ अमेरिका जाँदा पनि मन गह्रुङ्गो भएकै थियो । तर, पछिल्लो अवस्थामा झरेका आँसु खुसीका थिएनन् । पिडाका थिए । सन्तानप्रतिको मायाका थिए । मन र मस्तिष्कले सुल्झाउन नसकेका द्विविधाका थिए ।

आफ्नै कमजोरी देखेर रिस उठेर आयो । भएकी एउटी छोरी बिचल्लीमा पर्दा पनि केही गर्न नसक्ने किंकर्तव्यविमूढ बाउ देखेर आफ्नै कपाल भुत्ल्याउन मन लाग्यो । पहिलो पटक लाग्यो, यस्ता बाउलाई सन्तानले जीवित ठान्दा हुन् कि मरेका । अनि कसरी भनूँ उसलाई, म पनि निकै आत्तिएको छु भनेर ।

मैले छोरीलाई हुर्काएको नै थिएँ, पुलपुलाएर । कहिल्यै आँखाभन्दा टाढा जान दिएको थिइन । शायद हरेक बाबु–आमाले त्यही गर्छन् होला । कहिल्यै एक थप्पड हिर्काएको छैन, छोरा–छोरीलाई नै । उनीहरूले हिर्काउनु पर्ने मौका पनि दिएका छैनन् ।

नेपालमा लकडाउन हुनुभन्दा मात्र दुई दिन अगाडि अत्तालिएर सम्पर्क गरी, छोरीले । मेसेन्जरमा । उसका आँखामा टल्किरहेका आँसु मोती झैँ लागेनन् । एउटा असामान्य भयले मनलाई चिथर्‍यो । उसको कलेज बन्द भइसकेको थियो । होस्टेल बन्द हुन्छ कि खुल्छ थाहा थिएन । उसको मनमा पनि अनजान भयले बास गरेको थियो । पहिलो पटक अत्तालिएको देखेँ, छोरीलाई मैले । मन भक्कानिएर आयो । उसले आफूलाई नेपाल फर्काउन मसँग अनुनय विनय गरी । म उसलाई सान्त्वना बाहेक केही दिन सक्ने अवस्थामा थिइन ।

अनि छोरीले त्यो दिन रुँदै भनेका शब्दबाट स्तब्ध भएँ । के भनूँ के नभनूँ, मेरो मन निकै आत्तियो । भनी, ‘साँच्चै तिमी मलाई नेपाल ल्याउन सक्दैनौँ त ? अब म के गरूँ ?’ उसका काँपेका रुन्चे स्वरसँगै मेरा गला पनि अवरुद्ध भयो । पहिलो पटक धिक्कारेँ आफैँलाई आफैँले । छोरीको भिजेका गाला पुछ्न नसक्ने म कस्तो बाउ ?

आफ्नै कमजोरी देखेर रिस उठेर आयो । भएकी एउटी छोरी बिचल्लीमा पर्दा पनि केही गर्न नसक्ने किंकर्तव्यविमूढ बाउ देखेर आफ्नै कपाल भुत्ल्याउन मन लाग्यो । पहिलो पटक लाग्यो, यस्ता बाउलाई सन्तानले जीवित ठान्दा हुन् कि मरेका । अनि कसरी भनूँ उसलाई, म पनि निकै आत्तिएको छु भनेर ।

हुन त उसले पढ्ने सहर नजिकै न्यु योर्क सहर छ । मेरा दाइ–भाउजू पनि त्यहीँ बस्छन् । अरू बेला छुट्टीमा छोरी उतै जान्थी । न्यु योर्कको क्रिसमस मनाएकी थिई, उसले । तर, त्यसपछि न्यु योर्क अवस्था दिन प्रतिदिन भयावह बन्दै गयो । त्यसैले कोरोनाको महामारीमा न्यु योर्क पठाउन चाहिन, मैले ।

उ आत्तिएर फोन गर्दा मेरो पनि मन नआत्तिने कुरै थिएन । बोस्टनमा रहेका साह्रै नजिकका मित्रलाई फोन गरेँ । उसले छोरीको सहर्ष स्वागत गर्ने तथा बोस्टन आए पढाइमा पनि सजिलो हुने बतायो । मन खुसी भयो । छोरीलाई भने । उसले जान्छु पनि भनी । म यता कम्प्युटरमा बसेँ अनि उ उता । घण्टौँ लगाएर अनलाइनबाटै प्लेनको टिकट पनि काटियो । भोलिपल्ट बेलुकाको । तर मन कता–कता भयभीत नै थियो । प्लेन मै कोरोना सर्‍यो भने ? मन न हो, राम्रो–नराम्रो केही न केही त सोची नै रहन्छ । कहिल्यै मस्तिष्कको वशमा नबस्ने । कसैको वशमा नबस्ने, हावा झैँ ।

यता पनि सरकारको उच्च पदमा रहेका एक मित्रलाई फोन गरेँ । पर्यटन मन्त्रालय कै । उनको जवाफ थियो, भोलि बेलुकासम्म काठमाडौँ ल्याउन सक्नुहुन्छ भने ल्याऊँ, नत्र उतै बसेको राम्रो । सम्भव थिएन, परीक्षणका रिपोर्टसहित काठमाडौँ आउन । त्यो योजना पनि अगाडि बढाउन सकिएन ।

भोलिपल्ट छोरीले फेरि सम्पर्क गरी र भनी ‘खान–बस्न होस्टेल मै व्यवस्था हुन्छ भनेको छ, के गरूँ ?’

मेरो छोरीलाई सल्लाह थियो, ‘होस्टेल मै बस !’

००० 

कोरोनाले अमेरिकालाई झन् गिजोल्न थाल्यो । कोरोनाले अमेरिकाको सहर–सहरलाई डढाउन थाल्यो । डर लाग्यो, कतै मेरी छोरी पनि कोरोनाको भँगालोमा पर्ने त होइन ?

मेसेन्जरमा एक दिन मात्र उसको मुख नदेख्दा पनि मन भयभीत हुन्थ्यो । मैले मेसेज पठाउँदा उसले तत्काल जवाफ नपठाउँदा मन झन् आत्तिन्थ्यो । अहिले पनि आत्तिन्छ नै । तर, उ भने आफैँले रोजेको संसारमा रमाइ नै रहेकी छ । बिन्दास !

कुनै डर–भय बिना अर्को एउटा सेमेस्टर पास गरी, राम्रै ग्रेड ल्याएर । अहिले आफूले पाएको फेलोसिपका लागि काम गरिरहेकी छ । होस्टेल मै गोलभेँडा र खुर्सानी लगाएकी छ । अब उसको योजना गोलभेँडाको अचार खाने छ । आफैँले गरेको उब्जनीबाट ।

हुनत म जति उसको चिन्ता लिन्छु । उ त्योभन्दा बढी मेरो लिन्छे ।

स्पष्ट भन्छे, ‘यता उता हिँडेर कोरोना सारेर अहिले नै मर्ने होइन नि । मेरो ग्र्याजुएसनमा आउनु छ नि ! बाबु–छोरी एकसाथ युरोप घुम्नु छ नि ! थाहा छ कि छैन ?’

मेरो मनलाई नियन्त्रणमा राख्ने उसको शैली बिलकुलै फरक छ । गाली गर्छे, मेरी आमाले जस्तै । माया गर्छे । तर, मन पर्छ मलाई उसका हरेक नखरा । उसको गालीमा पाउने आत्मीयता, म आफ्नी आमाको गालीमा पनि पाउँछु । मलाई काठमाडौँमा पनि उसको आज्ञा बिना बाहिर निस्कने अधिकार छैन । जासुसका रूपमा भाइलाई खटाएकी छे । नेपाल आउँदा अनेकौँ उपहार ल्याइदिने लालचमा । भाइका ‘गेम’ मा अनावश्यक ‘टप अप’ गरिदिएर ।

मन न हो अहिले पनि झस्कन्छ । हुनत उसलाई माया गर्ने साथीभाइ, शिक्षक त्यहाँ पनि छन् । आफ्ना विद्यार्थीले मिठो खान पाएनन् कि भनेर खाना ल्याइदिने शिक्षक पनि रहेछन् । हिजोआज उसको होस्टेलमा खाना पाक्दैन । आफैँ पकाएर खान्छे । झन् रमाएकी छे । धेरै पछि नेपाली स्वाद खाँदै छु भनेर तस्बिर पोस्ट पनि गर्छे ।

लाग्छ, उ त चिसो बतास हो । जता जान्छे, शीतलता नै छर्छे । आफ्नो जिन्दगीमा, आफ्नाका जिन्दगीमा । कम बोल्छे, कसैको कुरा काट्दिन । तर, मसँग भने सबैको कुरा गर्छे । अनुभव बाँड्छे । कहिले काहीँ त किताबका कुरा गर्छे । अनि कहिले उसका किताब बाहिरका पनि । कति कुरा म पनि बुझ्दिन । नबुझ्दा रिसाउँछे, बुझ्दा मुसुक्क हाँस्छे । रमाइलो लाग्छ । बाउ–छोरी मिलेर अरूका कुरा काट्दै निकै मजा पनि लिन्छौँ । त्यो बेला पल्लो कुनामा पत्नीजी ठुस्की रहेको देख्छु । रमाइलो लाग्छ । कुरा काट्ने क्रम झन् बढ्छ ।

अहिले पनि भय त छ, कोरोनाको । तर, उसको हिम्मतले मलाई पनि आँटिलो बनाएको छ ।  जस्तो सुकै परिस्थितिमा पनि आफूलाई बचाउन सक्छे भन्ने विश्वास पलाएको छ । अनि खुसी पनि छु । मेरो देशको स्वास्थ्य क्षेत्रको अवस्था देखेर । ज्यानमारा रोगले सताउँदा पनि कमिसनका आहालमा डुबेका नेता देखेर ।

त्यसैले विश्वास लाग्न थालेको छ । मेरी छोरीलाई कोरोनाले छोयो भने पनि केही हुँदैन । उ त्यति सक्षम देशमा छे, जहाँ मानिसको आत्मविश्वासले कोरोनालाई पनि जित्न सक्छ । आफ्नै देशमा आउँदा बरु असुरक्षित बन्छे कि भन्ने डर छ ।

०००

जब मेरा आँखामा बेचैनी देख्छे, ऊ । मेरो मनलाई शान्त पार्ने कोसिस गर्छे । केही हरफ लेखेर पठाउँछे । म उसका अठोट पढ्छु, अनि आँखालाई टिलपिल पार्छु । भक्कानिन सक्दिन । 

पढ्छु फेरि दोहराएर, उसले मलाई पठाएका शब्दहरू, ‘ड्याडी ! आमाको सानो धक्कामा नै, जब बचेरो गुँडबाट तल झर्न थाल्छ नि । अनि कति आतङ्कित हुन्छ होला उसको मन, भन त । अनि पो बचेरो आफ्ना कमजोर पखेटा फैलाउने कोसिस गर्छ । प्रयास गर्दा गर्दै उ थकित पनि हुन्छ होला । तब उसको थकावट पनि शान्त हुन्छ, जब उसले आफूभित्र रहेको शक्तिको भेउ पाउँछ । अनि स्वतन्त्र आकाशमा एक्लै विचरण गर्न थाल्छ ।’

मलाई अब एक पटक छोरी कै सामुन्ने भक्कानिने चाहना छ । उ नेपाल फर्किएकै दिन । मेरी छोरीको आँटलाई सलाम गर्दै । उसको धैर्यतालाई सलाम गर्दै । अनि उसलाई अँगालो मार्दै ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि