असार २५, २०७७, बिहीबार
               

काँच झैँ झर्‍याम्म फुटे मन !
चेतन पाण्डे
असार ०३, २०७७

मानिसको चाहना असीमित हुन्छ । कुन सीमा नाघेपछि यो जीवको प्राप्तिको भोक मर्छ ? कल्पना गर्न कठिन छ । सहज हात लागेकालाई उपलब्धि मान्दैन । जे असम्भव छ, त्यसकै पछाडि दौडिरहन्छ । जमिनमा छरिएका हिरा टिप्दैन तर ताराको खोजीमा भड्किरहन्छ ।

आखिर जिन्दगीको अर्थ के हो ? मानिसको भोक र लोभको सीमा कहाँ समाप्त हुन्छ ? 

धनको भकारी ? ब्रह्माण्डभन्दा विशाल माया–प्रेमको भण्डार ? चाकडीको चाङ ? केले रोकिन्छ मानिसको भोक ? अनि कसरी तृप्त हुन्छ, यो जन्तु ?

साह्रै खराब छ, यो प्राणी । जे छैन, त्यसैको चाह गर्छ । जे छ, त्यसलाई सधैँ नजरअन्दाज गर्छ । भर्‍याङमुनिको भगवान सधैँ हेपिन्छन् भने झैँ ।

यही संसारमा नाङ्गो पाइताला हिँड्दा रमाउने पनि धेरै छन् । अनि मखमलमा हिँड्दा पनि सधैँ उदास देखिने पनि पर्याप्त छन् । फाटेको भोटो–सुरुवात १० ठाउँमा टालेर लगाउँदा आफैँलाई संसार कै सबैभन्दा भाग्यमानी मान्ने पनि यही धर्तीमा छन् । अनि बर्साचीको सुटमा सजिँदा पनि आफैँलाई नाङ्गो देख्ने अनि आफ्नो आर्थिक अवस्थामा रोइलो गर्ने पनि यही भेटिन्छन् ।

एउटै माया मनमा सँगालेर त्यसलाई बाँच्ने आधार बनाउनेहरू पनि करोडौँ छन् । अनि दुई हातले सोहोर्दा पनि नसकिने माया–प्रेम पाउँदा पनि आफैँलाई अभागी सम्झने र इहलीलासम्म समाप्त पार्नेहरू पनि यही धर्तीमा जन्मिछन् ।

त्यसैले तृष्णाको कुनै अन्त्य छैन । प्राप्तिको चाह कहिल्यै मर्दैन । अनि सन्तुष्टिको मापन पनि केही हुँदैन । सुखको भोग कसैले मात्र एक मुस्कानबाट गर्न सक्छ अनि कसैका लागि हजारौँ चुम्बनबाट पनि मुस्कुराउने माध्यम बन्न सक्दैन । चाहनाको भ्रमै भ्रमले मत्ताएको छ, यो जीवलाई । 

मृत्यु कुनै कुराको प्राप्ति होइन । यो त अन्त्य हो । जान्दा जान्दै पनि मानिसहरू आफ्नै ज्यान समेत लिन पछाडि हट्दैनन् । अरूको हत्या गर्नेले त बरु केही उपलब्धिको आस राखेको हुनसक्ला । आत्महत्या गर्नेले त यस्तो मिठासपूर्ण जीवनको अन्त्य गरेर के नै पाउँछु भन्ने सोच्दो हो कुन्नि ? यो जवाफ असम्भव छ । ज्युँदासँग नहुने, मरेकाले दिन नसक्ने !

मानिसको मन के चाहन्छ र के गर्दा खुसी हुन्छ भन्ने कुनै अध्ययन र तथ्याङ्कमा भेटिँदैन । तरपनि, सबैभन्दा ठुलो कुरा भोक नै रहेछ । मानिस मरे पनि खाएर नै मर्न चाहँदो रहेछ, भोको पेट मर्ने चाहना कसैको हुँदैन रहेछ । तर, मानिसलाई जहिले भोको मरिँदैन भन्ने लाग्न थाल्छ, उसको चाहना पनि विस्तारित हुन थाल्दो रहेछ ।

लाग्छ, मानिसको मर्ने चाहनाको अगाडि काल पनि बाधक बन्न नसक्दो रहेछ । नचाहँदा नचाहँदै कति जनालाई आफ्नो पासोमा पार्नै पर्ने । कति माया लाग्दा अनुहारलाई पनि, कति खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरकालाई पनि । लाखौँका माया र अपार धन भएकाले मर्ने चाहना गर्दा पनि किन मर्नु पर्‍यो र ? भनेर सोध्दा पनि सोध्दैन रहेछ । मर्दिन भन्नेलाई जीवनदान पनि दिन सक्दैन रहेछ । मेसिन जस्तै हुँदो रहेछ, काल । कसैको इसारामा चल्ने । विवेकशून्य । 

नेपालमा मात्र दुई जनामा कोरोना सङ्क्रमण देखिँदा सारा मुलुक आफैैँ  बन्द भयो । सरकारले लकडाउन गर्‍यो । तर, जब लकडाउनले भोकलाई जित्न सकेन तब सारा मानिस जबरजस्ती आफ्नो काममा फर्किए । जब लकडाउन सुरु गरियो तब कोरोना सङ्क्रमण र फैलावटको दर निकै कम थियो । अनि, नागरिकको बलजफतीपछि सहर खुल्दै जाँदा, आवागमन बाक्लिँदै जाँदा सङ्क्रमणको सम्भावनाको दर पनि बढेको छ । तर, हाम्रो मर्ने भयको डर कम भएको छ ।

त्यसैले मानिसको मन के चाहन्छ र के गर्दा खुसी हुन्छ भन्ने कुनै अध्ययन र तथ्याङ्कमा भेटिँदैन । तरपनि, सबैभन्दा ठुलो कुरा भोक नै रहेछ । मानिस मरे पनि खाएर नै मर्न चाहँदो रहेछ, भोको पेट मर्ने चाहना कसैको हुँदैन रहेछ । तर, मानिसलाई जहिले भोको मरिँदैन भन्ने लाग्न थाल्छ, उसको चाहना पनि विस्तारित हुन थाल्दो रहेछ ।

मनले भन्दा पनि मस्तिष्कले चाहेको चाहना पुरा गर्न मानिस जुनसुकै उँचाइ र गहिराइसम्म पुग्न सक्दो रहेछ । मरेर भए पनि । अनि जतिसुकै महान र नीच पनि बन्न सक्दो रहेछ । हात नलाग्दा ज्यान फाल्न पनि पछि पर्दैन रहेछ । शायद त्यतिबेला उसले सोच्दैन अरू चाहना गर्न लायक कुरा यो संसारमा असङ्ख्य छन् । एउटा असफलताले जिन्दगीको अन्त्य गर्नु महापाप हो । तर, कसैले सोच्दैनन् रहेछन् ।

कसको काया कुन बेला, कसरी लासमा परिणत हुन्छ, कसैलाई थाहा छैन । जबसम्म श्वास छ, हाँस्ने कोसिस गर्नु पर्छ । जब मन रमाउँछ तब न आउँछ, जिउनुको मजा । मन जेमा र जसरी रमाउँछ, त्यो गर्न पाउनु वा त्यसको चाहना राख्नु पाप होइन । एउटा चाहना पुरा नभए अर्को चाहना मनमा डुबाउन सक्ने मानिस नै जीवनमा सफल हुन्छ कि जस्तो पनि लाग्छ ।

यो संसारमा आत्महत्याको दर निकै छ । कोही भोको पेटले दिने पीडालाई सहन नसकेर जीवन फाल्छन् त कोही मायाले अतृप्त भएर । मानिसले विपरीत लिङ्गीको शरीर र रूपप्रति आशक्ति देखाउँछ भने त्यसलाई माया भन्न सकिँदैन । त्यही शरीर आफ्नो बनाउन नसक्दा आफैँलाई मार्नेसम्मको महापाप गर्नेहरूलाई मैले कहिल्यै सम्मानको नजरले हेर्न सकिनँ पनि । मन जित्न खोज्नेले त प्रेयसीबाट केही पाउने आसा राख्दैन । बस्, माया मात्र गरिरहन्छ । प्रेयसी आफ्नै अँगालोमा हुँदा होस् वा अरू कसैको । आफैँ हार्दा पनि कहिल्यै हारेको महसुस गर्दैन । बस्, गर्छ त प्रेम । निरन्तर प्रेम ।

मलाई आफ्नो होस् वा पराइ । हरेक मृत्युले आँखा रसाउन बाध्य पार्छ । तर, आत्महत्या गर्नेप्रति भने कहिल्यै सहानुभूति जागेन । त्यसमाथि प्रेममा धोकालाई कारण बनाएर मर्नेहरू त सधैँ मेरा घृणाको परिधिभित्र मात्रै रहे । तिनीहरूलाई मरेपछि पनि प्रेमका भगवानले पनि शरण दिँदैनन् जस्तो लाग्छ ।

मायामा धोका त खाइन्छ नै । आखिर शीतलता छर्ने हावाले नै हुँडरी पनि ल्याउने न हो । समयसँगै जसरी हुँडरी र त्यसले दिएको विध्वंसका चोटबाट पार पाइन्छ, त्यसरी नै धोका खाएर फाटेका मनलाई पनि समयले पुर्छ नै, अवश्य । बस्, चाहिन्छ त, धैर्य गर्नसक्ने मानसिक शक्ति ।

जीवनमा मानिसले सधैँ एकोहोरो प्रेम मात्र पाउनै सक्दैन । चाहे पत्नीबाट हाेस् वा प्रेमिकाबाट । भनाभन र धोका बिनाको जीवन त अमिलो हुन्छ कि जस्तो पो लाग्छ । जिन्दगी त आखिर पहाड न हो, उतार चढाव त आइ नै रहन्छन् । जिन्दगीमा सहेका पीडा र घाउको सम्झनाले मनलाई कहिल्यै रुवाउँदैन । बरु हाँसेर बाँच्ने आधार दिन्छ । जिन्दगीमा धोका त कति खाइयो, खाइयो । दिइयो पनि । साथीभाइबाट पनि प्रेममा पनि । दुईतर्फी मायामा मात्र होइन एकतर्फीमा पनि । जब धोका पाइएको पक्का हुन्थ्यो मन केही गह्रुङ्गो त भई हाल्थ्यो । अनि गाइन्थ्यो, केही दिन विरहका गीतहरू । फेरि चल्थ्यो नै जिन्दगी आफ्नै गतिमा । 

मलाई त किन हो किन प्रेममा भन्दा साथीभाइले दिएका धोकाले बढी मन पोल्छ । ती धोका सम्झँदा भने आँखा रसाएर आउँछन् । तर, मायामा पाइने धोका त मस्तिष्कमा हुने हलचल मात्र हुँदा रहेछन् । विश्वासको गाँठोभन्दा पनि दुई विपरीत लिङ्गीलाई एक अर्काको शरीरको आकर्षणले तान्ने बहाना मात्र । जसले जे भने पनि दुई विपरीत लिङ्गीले (अहिले त समलिङ्गी पनि) एक अर्काप्रति राख्ने अथाह चाहको सीमा आखिर यौनाङ्ग मै गएर टुङ्गिने त रहेछ । अन्तिम चाहना त त्यही हुँदो रहेछ, बाँकी सबै भन्ने कुरा मात्र । प्रेमका कसम त दुई मनलाई बहलाउने भ्रम मात्र ।

मेरा लागि जिन्दगीमा दुई सन्तानमाथि पोख्याउनेभन्दा मायाको अर्को सीमा छैन । जिन्दगीमा ठोक्किएका मायाका अन्य परिभाषा त बाँच्नका लागि तयार पारिएका ढोँग मात्र रहेछन् । हो,  आमा–बाबुका आँखामा तैरिने मायाका सागरभन्दा गहिरो पनि केही हुँदैन जस्तो लाग्छ ।   

जिन्दगी हो । क्षणभरमा पलाउने अनि निमेषभरमा तोडिन सक्ने प्रेमका लागि कहिल्यै ज्यान फाल्न सकिँदैन । प्रेम त भगवानको वरदान हो । जसले यो सृष्टिको रचना गरे उनकै वरदानको अवमूल्यन गर्ने अधिकार पनि कसैलाई हुँदैन । तर, हिजोआज प्रेमका खातिर देह त्याग गर्ने दुष्प्रयास भयावह रूपमा भइरहेको छ । 

एउटा प्रेमका लागि जसले ज्यानै फाल्छ, त्यो संसारको सबैभन्दा मूर्ख जस्तो लाग्छ । हो, जीवनमा आमा–बाबु र सन्तान फेर्न सकिँदैन । बाँकी सम्बन्ध त आफ्नै रोजाइमा भर पर्छन् । मन परे कायम राख्ने, नत्र आफ्नै बाटो तताउने ।

बादल न थिएँ । कहाँ सुदूर भविष्यको वाचा गर्न सक्थेँ र ? जसरी बादललाई निमेषभरमा आफ्नो स्वरूप कस्तो बन्छ भन्ने थाहा हुँदैन, त्यसरी नै मेरो मन भोलि कहाँ ठोक्किने हो ? मलाई पनि कसरी थाहा हुन सक्थ्यो र ? त्यसैले गरिन वाचा ।

जिन्दगीमा ठोक्किने सम्बन्धहरू प्रशस्त छन् । जति छन्, त्यतिसँग मन मिलाउन सके पनि पर्याप्त हुन्छ । अहिले लाग्छ, बस् कसैको चित्त दुखाउन हुँदैन । कसैको मन दुखाउन हुँदैन । बस्, आफू हाँसेर अरूलाई पनि हँसाउन सकियो भने जिन्दगीमा त्योभन्दा ठुलो उपलब्धि र प्राप्ति अरू केही हुन सक्दैन । दुई जनाले प्रशंसा गरुन्, त्योभन्दा ठुलो धन केही हुन सक्दैन । अनि सन्तानका आँखामा देखिने सन्तुष्टिभन्दा ठुलो सन्तुष्टि कुनै हुँदैन ।

०००

एउटी थिइन् । घरमा फोन गरेर मर्ने, बाँच्ने कसम खान्थिन् तर, अगाडि आउन सधैँ हिचकिचाउने । परिचित पनि थियौँ, हामी एक अर्कासँग । दुवैलाई थाहा थियो, कोसँग गफ गर्दै छौँ भन्ने । ‘ब्लफ कल’ मात्र थिएन, त्यो । वास्तवमा उनका लागि माया कै अर्को रूप थियो, त्यो । मैले चाहेको भए उनीलाई आफ्नो बनाउन सक्थेँ । तर, मैले त्यो दिन र आज पनि ती फोनमा गरिएका कुराकानीलाई मजाकमा मात्र लिएँ । शायद अहिले उसले पनि । उनको विचार मेरो परिवारले हाम्रो सम्बन्ध कहिल्यै स्विकार्दैन भन्ने रहेछ । मैले जसरी पनि आफ्नो बनाउँछु भनेर वाचा गरेको भए हाम्रो प्रेम प्रगाढ बन्न सक्थ्यो । तर, फोनमा जति प्रेमका भाव पोखेर नाटक गरे पनि उनको मनले मेरो मनमा बास पाउन सकेको थिएन ।

बादल न थिएँ । कहाँ सुदूर भविष्यको वाचा गर्न सक्थेँ र ? जसरी बादललाई निमेषभरमा आफ्नो स्वरूप कस्तो बन्छ भन्ने थाहा हुँदैन, त्यसरी नै मेरो मन भोलि कहाँ ठोक्किने हो ? मलाई पनि कसरी थाहा हुन सक्थ्यो र ? त्यसैले गरिन वाचा । मेरो मन उसलाई स्विकार्न तयार पनि थिएन । त्यो बेला एउटा मन मेरै कारणले फाट्यो । तर, कसम त्यो ‘फोन लभ’ का लागि कहिल्यै गीत गाइएन । कहिल्यै एक पेग लगाइएन । 

अहिले भेट हुँदैन । शायद भेट भए दाइ भनेर सम्बोधन गर्छिन् होली । जिन्दगीको स्क्रिप्ट नै अजिब पाराले लेखिएको हुन्छ ।

०००

अनि अर्की थिइन्, एक सुन्दरी । आफ्नै घरभन्दा केही परकी । उमेरमा मभन्दा केही जेठी पनि थिइन् । तर, माया न हो, कहाँ उमेर हेर्छ र ? महिनौँ आँखा जुधे । त्यही जुधाइ मै लाग्न थाल्यो । दुईतर्फी माया बसेछ भन्ने । आँखा जुधेका केही दिनपछि मलाई देख्दा मुस्कुराउन पनि थालिन् । अनि के चाहियो र ! उनका अनुहार मेरा आँखा अगाडि नाच्दा पनि मायाको सागरमा डुबिन्थ्यो । उनलाई बोकेर बादलदेखि बादलसम्मको शयर गरिन्थ्यो । तारा टिपेर उनको कपाल सिउरिन्थेँ । बादलभन्दा पनि मुलायम लाग्थे, उनका कपाल । सम्झनामा । अनि गुनगुनाइन्थ्यो, अरुण थापाका गीत । उनको काखमा सुतेर,

‘ तिमी हरियाली वसन्त हौँ,
नदीहरूमा तिमी पवित्र गङ्गा हौँ !’

लाग्थ्यो, त्यो गीत मेरै लागि रचिएको हो । तर, पनि आफ्नो मायालाई सपनामा बाहेक कहिल्यै पोख्न सकिन, उसका सामुन्ने । समय न हो, बग्दै जान्छ । समय र नदीको वेगलाई कसले पो रोक्न सकेको छ र मैले रोक्न सक्थेँ भन्नु । एक दिन उसले किनमेल गर्दै गरेको पसलमा छिरेँ । अलि नजिकबाट हेर्ने लालसाले । सामान छाने जस्तो गरेँ । उसले पनि हेरिन, फेरि मुस्काइन् ।

त्यो दिन उसले मसँग खुलेरै कुरा गरिन् । घर, परिवार सबैको बारेमा चासो देखाइन् । लाग्यो, मेरो प्रेम साकार हुँदैछ । अलि अगाडिसम्म एकसाथ हिँडियो पनि । अनि बिदा भइयो । बिदा हुने बेला उनको ओठबाट निस्किएको शब्दले मेरो शरीरलाई चिसो बनाइ दियो । शरीरका रगत विपरीत दिशामा बग्न थाले झैँ भयो । मन र मस्तिष्क एक आपसमा जुधेर ठुलै दुर्घटना घटे जस्तो लाग्यो । हृदयमा चट्किएको चट्याङले मस्तिष्कलाई नै हुँडल्यो । न हिँड्न सकेँ नत टुक्रुक्क बाटैमा बस्न नै । त्यस बेला उनले बोलेको दुई शब्द नै मेरा मनमा पहिरो ल्याउन, पर्याप्त थियो ।

‘बाइ भाइ !’

मन काँच झैँ झर्‍याम्म फुटे । हामीले नाच्ने बादल झरी बनेर आँखाबाट टप्किए ।

चिसिएका मनका तापक्रमलाई घरमा आएर सन्तुलनमा पुर्‍याएँ । लाग्यो, जे भने पनि ‘भाइ’ भनेर सम्बोधन नगरिदिएको भए हुन्थ्यो । भोलिदेखि पनि बाटोमा उनीसँग देखादेख हुन्थ्यो नै । तर, उनको मुस्कान मेरा लागि बिरानो झैँ लाग्न थालिसकेका थिए । शायद त्यो दिन नबोलेको भए मनले चञ्चल हुने बहाना त पाइरहन्थ्यो ।

हैट ! कस्तो मायाका लागि महिनौँ बरबाद गरिएछ । बस्, खुसी लाग्यो एउटै कुरामा । मैले मेरा सपनाका कुरा कसैलाई सुनाएको थिइन । नत्र कति गिज्याउँथे होलान्, साथीभाइले ? आज सोच्दा हाँसो मात्र उठ्छ ।

मन त हावाभन्दा चञ्चल हुन्छ । कसैको वशमा नबस्ने । मेरो मन पनि कहाँ बस्थ्यो र । सपना मै सही गीत गाउने एउटा बहाना त चाहिन्थ्यो नै । लाग्यो, अर्कैको खोजीमा । लाग्यो, मर्नका लागि यस्ता बहाना सही होइनन्, विकल्प त वरिपरि अरू पनि भेटिन्छन् नै । सही भनेका थिए, मुन्ना भाइले

‘सपना टुटा हे तो दिल कभी जलता हे,
हाँ थोडा दर्द हुवा पर चलता हे !’

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि