बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओली बिरामी कि बहाना ?
यसरी छल्दै आए २ महिनादेखि बैठक

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पछिल्लो पटक लगातार ६ वटा बैठक ‘ईग्नोर’ गरेका छन् । आफू अनुकूल हुँदा आकस्मिक बैठक बोलाउने तर परिस्थिति आफू अनुकूल नहुँदा बैठक अन्तिम समयमा स्थगित गर्दै पार्टीको विधि विधान र पद्धतिलाई ‘ईग्नोर’ गरिरहेका छन् । 

वैशाख र जेठ महिनामा नेकपाको बैठक ९ पटक बोलाइयो । तर ६ वटा बैठक त ओलीले यत्तिकै टारिदिए । समसामयिक घटनाक्रमबारे तत्काल निर्णय लिने पार्टीको सबैभन्दा निकाय हो ९ सदस्यीय सचिवालय । जसको आवश्यकता अनुसार बैठक बस्दा महिनामा कम्तीमा ५ पटक जति बैठक बस्नुपर्छ । 

तर पछिल्लो  दुई महिनाको अवधिमा प्रधानमन्त्री ओलीले मुस्किलले ५ वटा बैठक राखेका छन् । त्यसमा पनि बैठकमा छलफल र सदस्यहरूले धारणा आफू अनुकूल नराखेपछि एक पटक त बिचमै बैठक छाडेर हिँडेका छन् । 

एक बैठकमा ओलीले आफू नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र पार्टीपद्धति अनुसार आफू चल्न नसकेको भन्दै आत्मआलोचना पनि गरे । जुन प्रस्तुति ओलीको पार्टी नेतृत्व जीवनकै दुर्लभ थियो । पार्टीमा अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले आफूलाई घेराबन्दीमा पारी एक्लाउन लागेको महशुस गरेपछि वरिष्ठ नेता माधव कुमार नेपालको साथ खोज्न उनले त्यसो भनेका थिए । जुन बैठक वैशाख २० गतेको थियो । 

त्यसअघि वैशाख १७ गते बसेको बैठक निर्णयविहीन बनेको थियो । त्यसअघि मन्त्ररिषद‍्बाट राजनीतिक दल विभाजन सम्बन्धी विद्येयक ल्याएपछि वैशाख ८ गते आकस्मिक सचिवालय बैठक बोलाएका थिए । बैठक बस्दाबस्दै राष्ट्रपतिबाट विद्येयक प्रमाणीकरण भयो । बैठक बसेर थप छलफल गर्नु आवश्यक थिएन, बीचमै नेताहरू उठेर हिँडे । बैठक सकियो ।

त्यसपछिका बाँकी बैठक ओलीले सादै टार्दै आएका छन् । त्यो क्रम निरन्तर जारी छ । गत वैशाख २४ गते बसेको बैठकमा राजनीतिक समीकरण बिग्रिएको थियो । पार्टीमा एक व्यक्ति एक पदको अवधारणा लागु गर्न चर्को दबाब थियो । अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल ओली इतरमा थिए । परिणामस्वरूप सचिवालय बैठकमा नयाँ दृश्य मञ्चन भयो । सचिवालय बैठक सुरु हुने बित्तिकै दुई पक्षबीच चर्का चर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली जुरुक्कै उठेर हिँडे । बैठकको अध्यक्षता गरिरहेका अध्यक्ष ओली  बैठक चल्दाचल्दै हिँडे पनि प्रधानमन्त्री निवास सचिवालय बैठक भो जारी रह्यो ।

स्थायी कमिटी बैठक समेत यसरी छले

त्यसपछि ओलीले सचिवालय मात्र होइन लगातार वैशाख २५ र ३१ गतेको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गराए । ओलीले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको थियो । विवादै विवादको भुमरीमा फस्दै आएको सरकारको झन् चर्को आलोचना भयो । विवाद बढेपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल निकट २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका थिए । 

ओलीले बैठक त बोलाए तर बैठक सुरु हुनु डेढ घण्टा अघि स्थगित गरे । त्यति बेलासम्म बैठकमा सहभागी हुन अधिकांश  नेताहरू केन्द्रीय कार्यालय धुम्बाराही पुगिसकेका थिए । स्थगित गर्ने,  बोलाउने, स्थगित गर्ने ओलीको श्रृखला रोकिएन । बैठक बोलाउन माग गर्ने नेताहरूलाई तत्कालको लागि भने थामथुम गर्न सफल भएका छन् ।

एक वटा बैठक त ओली आफैले बहिष्कार गरे । जुन बैठक जेठ १० गतेको थियो । बैठकको एजेन्डा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) थियो । सचिवालय बैठक बस्नु अगाडि सचिवालयका नेताहरूले स्थायी समिति सदस्य भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिस्टलाई भेटेका थिए ।
तर आफ्नै निवास बालुवाटारमा भएको बैठकमा ओली गएनन् । प्रचण्डले सो बैठकको अध्यक्षता गरे । आफू नगएको बैठकले गरेको निर्णय ओलीले मान्ने त कुरै भएन । त्यसपछि पनि ओलीले लगातार बैठक छल्दै आएका छन् ।

ओलीले बैठक बहिष्कार गरेको १७ दिनपछि जेठ २७ गते सचिवालय बैठक बोलाइयो । एजेन्डा उही थियो, एमसीसी । सचिवालयमा सचिवालयमा ओली अल्पमतमा रहेकाले बैठक बस्न आनाकानी गरेका थिए । सोही कारण बैठक सुरु हुने समय आउन लागेपछि प्रधानमन्त्रीको सचिवालयबाट अरू सदस्यलाई खबर गरियो, ‘बैठक स्थगित भयो ।’ 

बहाना बनाइयो प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले बैठक स्थगित गरियो । सो बैठक स्थगित भएपछि अर्को अध्यक्ष प्रचण्डले आफ्नै निवासमा केही सचिवालय सदस्यहरूसँग छलफल गरे । वरिष्ठ नेता नेपाल, नेता बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । आफू बिरामी भन्दै सचिवालय बैठक टारेका ओलीले पनि बालुवाटारमा आफू निकटका नेताहरू छलफल गरे । लगतै सोही दिन उनले बेलुकी ६ बजे मन्त्रिपरिषद् बैठक भने बसाए ।

त्यससछि ओलीले जेठ ३२ गते गएको आइतबारका लागि सचिवालय बैठक बोलाए । सो बैठक पनि अन्तिम समयमा स्थगित भयो । सचिवालय सदस्यहरू बैठकका लागि निवासबाट निस्किने तयारीमा थिए । ४ बजेका लागि बोलाइएको बैठक नबस्ने जानकारी ३ बजे मात्रै गरिएको थियो । बैठक स्थगित हुनुबारे सचिवालय सदस्यहरूबाट फरक–फरक तर्क सुनियो ।

केही सदस्यहरूले भने प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले बैठक स्थगित भएको जानकारी पाएका थिए । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता तथा नारायणकाजी श्रेष्ठ दुवैले प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले बैठक स्थगित भएको बताए । तर, प्रधानमन्त्री अवस्था भएको भन्नेबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनभिज्ञता प्रकट गरे । अर्को बैठक कहिले भन्ने अझै तय भएको छैन ।

यसरी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएपछि पछिल्लो दुई महिनायता बैठकहरू प्रभावित हुँदै आएका छन् । अस्वस्थ रहेको भन्दै बैठक प्रभावित हुने बाँकी काममा भने प्रधानमन्त्री दुरुस्त भएर सहभागी हुने गरेका छन् । बैठक छल्न बिरामी भएको भनिए पनि  प्रधानमन्त्री ओली आफू कमजोर छु भन्ने चाहिँ बाहिर फिटिक्कै देखाउन चाहन्नन् । यदि उनी साँच्चै बिरामी भए भने पनि कस्मेटिक रूपमा बाहिर आफू तन्दुरुस्त देखाउने प्रयास गर्छन् । 

आइतबार अपराह्न ४ बजेको बैठक टारेका प्रधानमन्त्री ओली १८ घण्टापछि नेपाल टेलिभिजनबाट शुभकामना दिए । टेलिभिजनबाट दूर शिक्षा कार्यक्रम सुरु भएको सन्दर्भमा उनले सम्बोधन गरेका थिए । त्यसै दिन उनले सार्कका महासचिवसँग पनि भेटघाट गरे । यसरी आफू सक्रिय गतिविधि गर्ने , तर बैठक टार्न भने बिरामी भएको बहाना बनाएपछि अरू सदस्यहरू आजित मात्रै छैनन्, आक्रोशित पनि छन् ।

किन टार्दै आए ओलीले बैठक ?

एमसीसीबारे सचिवालयमा ओली अल्पमतमा रहेकाले बैठक बस्न आनाकानी गरेको एक नेताको बुझाइ छ । नेकपाको सचिवालयमा ९ जना नेताहरू छन् । अध्यक्षद्वय ओली र प्रचण्डका साथै वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल छन् । अरू नेताहरू रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल मिलेर नेकपाको सचिवालय बनेको छ ।

एमसीसीको विषयमा अहिले ओलीको साथमा पौडेल र पोखरेल मात्रै छन् । नेताहरूका अनुसार अन्तिम समयमा मात्र बादलले साथ दिन सक्छन् । बाँकी सदस्य प्रचण्डको पक्षमा छन् । प्रचण्ड एमसीसी पारित गराउन नपर्ने पक्षमा छन् । ओली जसरी पनि पारित गराउनुपर्ने लाइनमा छन् । नेताहरू भन्छन् ‘पार्टीको आन्तरिक समीकरण आफू अनुसार नहुने र बैठक बसेमा निर्णय आफू अनुसारको नहुने देखेपछि ओलीले बैठक टार्दै आएका हुन् ।’

बैठक बोलाउन प्रचण्ड किन निरीह ?
२०७६ मङ्सिर ४ गतेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको थियो । जहाँ बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुने । तर सरकारको नेतृत्व ५ वर्षसम्म ओलीले गर्ने पार्टीको नेतृत्व ओलीले गर्ने निर्णय थियो । तर आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने उल्लेख भए पनि उक्त सहमति कार्यान्वयन हुन सकेको छैन।

कार्यकारी अध्यक्ष बनेपछि मङ्सिर १८ गते बैठक बसेको थियो । प्रधानमन्त्री एपेन्डिसाइटिसको अप्रेसन गरेर आराम गरेका बेला केही बैठकहरू प्रचण्डकै अध्यक्षतामा भयो । पुस २९ गते स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बसेको बैठकमा ओली पनि सहभागी थिए ।

तर, एक हप्ता चलेको बैठक प्रचण्डकै अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसयता भने पार्टी बैठक बोलाउन ओली नै हाबी भएका छन् । तर सचिवालय भित्रै उनी अल्पमतमा पर्दा पार्टीको बैठक निरन्तर स्थगन गराउँदै छल्दै आएका छन् । 

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि