बैशाख १३, २०८१, बिहीबार
               

महिला बलात्कृत हुनुपर्ने क्वारेनटाइन कति सुरक्षित होला ?

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT
  • जेठ ३१ गते शनिवार कैलालीको क्वारेनटाइनमा बसेकी एक महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लम्कीचुला–१ मा रहेको शहीद स्मृति माविको क्वारेनटाइनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भएको थियो ।
  • वैशाख ११ गते मध्यरात धनुषाको एक क्वारेन्टाइनमा बसेकी युवतीमाथि बलात्कार प्रयास भयो । विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाइनमा २२ वर्षीया युवतीमाथि  बलात्कारको प्रयास गरेको आरोपमा सरसफाइ कर्मचारी २८ वर्षीय सञ्जीव पासवान पक्राउ परे । 
  • जेठ २० गते बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाको एक विद्यालयमा रहेको क्वारेनटाइनमा एक युवतीको मृत्यु भयो । मालिका माविको क्वारेनटाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया सुनिता लुहारको मृत्यु भएको हो । उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भयो ।
  • जेठ ३१ गते बैतडीकै पाटन नगरपालिकामा क्वारेनटाइनमा एक युवकको मृत्यु भयो । भीमदत्त प्राविधिक शिक्षालय क्वारेनटाइनमा बसेका सन्तोलीका ३० वर्षीय हरिश लुहारको मृत्यु भएको थियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आयो ।
  • वैशाख १९ गते बैतडीको पुरचौडी नगरपालिका–६, भूमिराजका ६७ वर्षीय जुने लोहारको भारतबाट फर्केर क्वारेनटाइनमै मृत्यु भयो । पीसीआर परीक्षण गर्दा उनमा कोराना देखिएन । उनी दमरोगी थिए ।
  • जेठ २५ गते बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ मा क्वारेनटाइनमा भएका ६५ वर्षीय वृद्धको मृत्यु भयो । उनी भारतबाट आएका थिए । पछि उनको कोरोना रिर्पोट नेगेटिभ देखियो ।
  • जेठ २५ गते डोटीको केआइसिंह ३ स्थित क्वारेनटाइनमा १९ वर्षीय युवकको मृत्यु भयो । उनको पनि कोरोना रिर्पाेट नेगेटिभ आयो । उनी मुटुका रोगी थिए ।
  • जेठ १७ गते बाजुरा जिल्लाको क्वारेनटाइनमा बसेको अवस्थामा एक वालिकाको मृत्यु भयो । २ दिनपछि आएको रिपोर्टमा उनको कोरोना पोजेटिभ देखियो । 
  • चैत १३ गते कास्कीको रुपा गाउँपालिकाको क्वारेनटाइनमा बसेका रुपा गाउँपालिकाका ५० वर्षीय विश्वबन्धु नेपालीको मृत्यु भयो । उनी १२ दिनअघि भारतबाट नेपाल आएका थिए ।

माथिको घटना विवरण हेर्दा क्वारेन्टाइनमा कोही पनि सुरक्षित देखिँदैनन् । यी घटना त प्रतिनिधि उदाहरण मात्रै हुन् । मुलुकका हालसम्म १९ जना कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भए पनि त्यो भन्दा दशौँ गुणा बढीले खराब क्वारेन्टाइनकै कारण मृत्युवरण गर्नुपरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणमा हालसम्म सरकारले झन्डै १० अर्व रुपैयाँ खर्च गरेको जनाएको छ ।

तर माथिको घटना विवरण हेर्दा न त गतिलो क्वारेन्टाइन, नत महिलामैत्री र सुरक्षित नै । नत दीर्घ रोगी तथा ज्येष्ठ नागरिकले सहज रूपमा बस्न पाउने खालका छन् । गर्भवती महिला र बालबालिका को त कुरे छाडौँ, उनीहरू झनै जोखिममा परेका छन् । सरकारका अनुसार क्वारेन्टाइनमा मात्रै १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । तर दीर्घ रोगी तथा ज्येष्ठ नागरिक चिसो भुईँमा सुत्न बाध्य छन् । परिणाम स्वरूप उनीहरू मर्न बाध्य छन् । जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार खर्च भएको भनिए पनि धेरै जनाको मरिसकेपछि मात्रै कोरोना पोजेटिभ भेटिएको छ ।

धरै ठाउँका क्वारेन्टाइनका मानिसहरू कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएका छन् । पटक पटक वान्ता गर्ने, सास फेर्न कठिनाइ हुने, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै पनि क्वारेनटाइनमा नियमित निगरानी नराखिएको पाइएको छ । तिनीहरूलाई अस्पताल लैजानुपर्ने सामान्य दायित्व पनि निवार्ह नगरिएको पाइएको छ । क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, धेरै क्वारेन्टाइनमा त्यो एम्बुलेन्स नभएकैले मानिसहरूले अमूल्य जीवन खेर फाल्न बाध्य छन् ।

नेपालमा कोरोनाको पहिलो सङ्क्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेनटाइनमा लापरबाही हुनु सरकार कोरोना नियन्त्रणमा असफल जस्तै बनेको धेरैको टिप्पणी छ। सरकारको कामकारबाहीलाई नजिकबाट हेर्नेहरू भन्छन् ‘अव्यवस्थित स्थितिदेखि परीक्षण ढिलाइसम्म देखिएको छ, स्वास्थ्य सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही छ।’


कस्तो लाग्यो ?

यो पनि