बैशाख १४, २०८१, शुक्रबार
               

जोखिम बढ्यो, कीट छैन

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडाैं । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न  कीटको अभाव  भएको छ ।

यही जेठ ९ गते जानकी गाउँपालिकाका तीन जनामा कोरोना भाइरसको पुष्टि भएसँगै यो क्षेत्रमा जोखिम बढेको छ, तर परीक्षण गर्ने कीट नहुँदा जोखिम बढेको हो । 

कीट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिएका छन् । 

‘जोखिम बढेको छ, कीट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन,’ उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गर्दा पनि कीट पाइएको छैन । आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन ।’

उनले आरडिटी र भिटिएम दुवै कीट नहुँदा परीक्षणको काम पूर्ण रुपमा रोकिएको जानकारी बताए । 

नगरपालिकामा हाल एक सय ६० जना क्वारेन्टिनमा रहेका छन् । भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टिनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए । 

नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको बताए ।  उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रन सक्ने बताए ।

त्यस्तै, संक्रमण देखिएको जानकी गाउँपालिमा समेत कीट नहुँदा कोरोना परीक्षण रोकिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका ४२ जना आफूको सम्पर्कमा आए पनि परीक्षण कीट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए ।

उनले दिनप्रतिदिन सयौँको संख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेका कारण समुदायमा त्रास फैलिएको बताए । 

स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टिनमा बसेकाको  समय पुगिसकेको पनि कीट नभएकै कारण जाँच गर्न नसकिएको बताए । 

जानकी गाउँपालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ ।
भजनी नगरपालिकामा पनि कीटको अभाव देखिएको छ ।

नगरपालिकामा कीट नहुँदा क्वारेन्टिनको समय पुगेकाहरुलाई होम क्वारेन्टिनमा पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले बताए । 

मानिसको चाप दिनप्रतिदिन बढ्दै गएको बताउँदै विकले प्रदेश सरकारसँग समन्वय गर्दा पनि आउँछ भन्ने प्रतिक्रिया पाउने गरेको, तर कीट प्राप्त गर्न नसकिएको जानकारी दिए । 

उनले नगरपालिकाले कीट खरिदका लागि पहल गर्दा एक कीटको मात्र एक हजार एक सय पर्ने भनेपछि नगरपालिकाको स्रोतले कीट खरिद गर्न नसकिने बताए । 

नगरपालिकामा एक सय ५० भन्दा बढी मानिस क्वारेन्टिनमा रहेका छन् । भारतसँग सिमाना जोडिएको लालभोजी र खैलाडमा सीमा प्रवेश गर्न खोज्ने नागरिकलाई सिमानामै रोकेर उनीहरुको व्यवस्थापन गरिएको छ ।

जोसिपुर गाउँपालिकामा समेत आरडिटी र भिटिएम कीटको अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए । 

यो पनि