बैशाख ०८, २०८१, शनिबार
               

लकडाउनमा सुत्केरीकाे पीडा

नेपाल फ्ल्यास
जेठ ११, २०७७

सांकेतिक
ADVERTISEMENT

प्युठान । गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आएका छन् । करीब एक महिनाकी सुत्केरी कामनाको स्वास्थ्यमा समस्या देखिएपछि अर्खाबाट जसोतसो गरेर एम्बुलेन्समा जिल्ला अस्पताल बिजुवार आएका उनलाई श्रीमतीको उपचार कसरी गर्ने भन्ने चिन्ता छ । 

प्युठान बाग्दुलामा ज्यामी काम गर्दै आउनुभएका रानाले कोभिड १९ का कारण मजदुरी गर्न पाएका छैन । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरुलाई दैनिक छाक टार्नसमेत मुश्किल परिरहेको छ । त्यसमाथि सुत्केरी भएको महिना दिन नपुगेकी श्रीमती बिरामी पर्दा  झनै पीडा थपिएको छ । 

जिल्ला अस्पताल बिजुवारका नर्सिङ इञ्चार्ज राधा केसीले अल्ट्रासाउण्ड गर्ने पैसा तिर्न नसकेर अहिले काम रोकिएको बताए। अस्पतालमा यस्तो बिरामी  धेरै आउने तर एक महिनाको सुत्केरीको उपचारका लागि चार/पाँच सयसमेत नभएर तड्पिएको देख्दा असाध्यै मन खिन्न हुने उनले बताइन् । उनले भने,“औषधिको पैसा नर्सिङ स्टाफ मिलेर तिर्ने सोचेका छौं।” बिरामीको स्तनमा समस्या भएको र चिन्ताले मानसिक समस्यासमेत देखिएको नर्स केसीले बताइन् । 

जिल्ला अस्पतालमा पाँच दिनदेखि भर्ना भई उपचार गराइरहेकी सुत्केरी कमलालाई राम्रो पोषणयुक्त  खानेकुरा त परै जाओस् घरमा साँझबिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । काखमा २८ दिनको छोरा च्यापेकी उनले आँखाभरि आँशु लिँदै भनिन्, “एम्बुलेन्सको पैसा र होटलको पैसा तिर्न पाए जान हुन्थ्यो तर घर जाने भाडासमेत छैन, कसरी जाने ?”

उनका पति राना काम गर्ने ठाउँबाट मजदुरी गरेको पूरै ज्याला पनि नपाएको बताउछिन् । कोभिड – १९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता उनीहरुलाई बढी छ ।  सुत्केरी अवस्थामा पनि घरपरिवारबाट कुनै सहयोग नपाएपछि माइती रोल्पा जाने व्यवस्था मिलाइदिन कामनाले आग्रहसमेत गरिन् ।


कस्तो लाग्यो ?

यो पनि