बैशाख ०८, २०८१, शनिबार
               

९ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं ।कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो ।   विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो  ।  यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्न भएपछि सबैको पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

सो परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । गृह चलाउन तताउन शुरु गरिसकिएको पनि उहाँले बताउनुभयो ।

    शवदाहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्तमात्रामा भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने थियो । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ ।  

कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ । जम्मा ६ जना कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन् । कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको पिसिआर परीक्षण गर्नुपर्छ । कर्मचारीलाई कोरोना पोजेटिभ देखिए गृह चलाउन दिइँदैन । अरु कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ ।

नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्व तयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि