बैशाख १३, २०८१, बिहीबार
               

गोवाको गुहार, नसुन्ने सरकार
सीमामा रोकिएकाहरूका मात्र उद्धार गर्न सुझाव

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

लामो समयदेखिकाे लकडाउनका कारण भारतको गोवामा हजारौँ नेपालीहरू अलपत्र छन् । गोवाको विभिन्न ठाउँमा करिब १० हजार बढी नेपालीहरू छन् । अधिकांश काम बन्द हुँदा रोजगारीका लागि गएका उनीहरू बिचल्लीमा परेका छन् । केहीलाई मात्र काम गर्ने कम्पनी, होटलहरूले व्यवस्थापन गरे पनि धेरै अलपत्र छन् । लकडाउनले रोजगारी गुमेपछि नेपाल फर्किन लागेका हजारौँ नेपालीहरू भारतका विभिन्न रेलवे स्टेसन, बसपार्क र सडकमा चर्को घाममा अलपत्र छन् ।

गोवा सरकारले नेपाल सरकारसँग समन्वय गरेर पठाउने आश्वासन दिँदै आएको छ । तर नेपालका तर्फबाट पहल नहुँदा आफूहरू स्वदेश फर्कन नपाएको उनीहरूको गुनासो छ । आफूहरूलाई स्वदेश फर्किने वातावरण बनाइदिन उनीहरूले नेपाल सरकारसँग आग्रह गरेका छन् । कोरोना रोगले भन्दा पनि भोकले मर्न लागेकाले चाँडो उद्धार गरिदिन उनीहरूले आग्रह गरेका छन् । गोवा नेपाली समाजका अगुवा सुनिल रावतले भन्छन् ‘भारतमा लकडाउन सुरु भएपछि त्यहाँ काम गर्ने सबै होटेल, क्यासिनो तथा अन्य कम्पनीहरू बन्द भए, अहिलेसम्म बल्लतल्ल बसिरहेकाहरू अहिले बिचल्लीमा छ ।’

आफूले नेपाली राजदूतावासमा गरिरहे पनि कुनै सहयोग नपाएको प्रतीक रिमालले बताए । सरकारले लगेमा अहिले तत्काल करिब १० हजार जति नेपालीहरू स्वदेश फर्कन तयार रहेको उनले बताए । नुवाकोट खड्कभञ्याङका रिमाल भन्छन् ‘लकडाउन भएपछि होटेल, क्यासिनो बन्द छ, होटेल मालिकले तलब दिन नसक्ने भन्दै सबैलाई घर जाऊँ भनी पठाएको छ, न त घर आउन पाएको छौँ, न त यहाँ बसेर खाना खाने पैसा छ ।’ खानेकुरा सकिएको र साँघुरो कोठामा सुत्ने ठाउँसमेत नपुग्दा कष्टकर बन्दै गएको उनले बताए । अहिलेसम्म होटेल मालिकले खानेकुराको व्यवस्था गरेको भए पनि लकडाउनको समय लम्बिँदै जाँदा झन् समस्या हुन थालेको उनीहरूले बताए । 

नेपाली कामदारलाई अहिले खाना र बस्न निकै समस्या भएको गोवाका रेष्टुरेष्ट व्यवसायी सुदन खड्काले बताए । ‘अब आगामी डिसेम्बरबाट मात्र हो होटेल सुरु हुने, कोरोनाका कारण अहिले सबै बन्द छन्, यहाँ भोकमरीको अवस्था भइसकेको छ’ खड्का भन्छन् भने, ‘गोवामा रहेका ८० हजार नेपालीमध्ये १० हजार तत्कालै स्वदेश फर्किन चाहन्छन् ।’ उनका अनुसार नेपालबाट गोवा राज्यमा काम लागि जानेहरू ६ महिनाका लागि गएका हुन्छन् । उनीहरू डिसेम्बरदेखि मेसम्म काम गर्छन् र फर्किन्छन् । मेपछि गोवाका उद्योगधन्दा, होटेल सबै बन्द हुन्छन् । यसपालि कोरोना भाइरसका कारण दुई महिनाअघि बन्द भएका थिए ।

गोवाबाट हिँडेरै फर्किएकाहरू केही भारतका विभिन्न  राज्यमा आएर अलपत्र परेका छन् । गोवामा मत्रा होयन भारतका अरू राज्यमा हजारौं नेपाली अलपत्र परेका छन् । उनीहरू उद्धारको प्रतीक्षामा छन् । विशेष गरी रोजगारीका क्रममा भारतको गोवा, मुम्बई, बैङ्लोर, पुना, दिल्ली, चण्डिगढ, गुजारात, केरला, लगायतका ठाउँमा नेपालीहरू अलपत्र छन् ।

स्वदेश फर्काउनेबारे के गर्दैछ सरकार ?
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरूले विदेश गएका नागरिकलाई स्वदेश ल्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । विदेशमा समस्यामा परेका नागरिकहरूलाई स्वदेश ल्याउनुपर्ने र व्यवस्थापन गर्नुपर्ने भन्दै सदनमा आवाज उठ्दै आएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको केही बताएका थिए ।

सङ्घीय संसद् बैठकमा सम्बोधन गर्दै ओलीले वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको सङ्क्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा व्यवस्थापन गर्न नसकिने ओलीले बताएका थिए । ‘मान्छे ल्याउने सेन्टिमेन्ट (भावना) मा ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्ने, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने ? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा छैनौँ ’ ओलीको भनाइ थियो ।

सीमासम्म आएकालाई उद्धार गर्न सुझाव
यता नेपालको सीमामा अलपत्र नेपालीसँग प्रत्यक्ष सम्पर्कसँगै नजिकबाट नियालिरहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै प्रदेश सरकारले उद्धार गर्न सरकारलाई सुझाव दिएको छ । यथाशीघ्र उनीहरूको उद्धार नगरिए सीमामा सरकार विरोधी गतिविधि पनि बढ्न सक्ने सुरक्षा संयन्त्रको विश्लेषण छ । मुलुकको अन्य सीमा क्षेत्रमा अलपत्रको पनि यसै गरी उद्धार गर्न सुरक्षा संयन्त्रको सुझाव छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल उद्धार गरिए जोखिम बढ्न सक्ने अडान राख्दै आएका छन् । सुरक्षा निकायका एक उच्च अधिकारीका अनुसार सीमामा स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राख्ने गरी अलपत्र नेपालीलाई ल्याउन सक्नेबारे छलफल जारी छ । उनले भने ‘लामो समय सीमामा रोक्दा झन् आपत् हुने देखियो, ल्याउनेबारे छलफल भइरहेको छ, केही दिनमा निर्णय हुन सक्छ ।’


कस्तो लाग्यो ?

यो पनि