बैशाख ०४, २०८१, मंगलबार
               

भरुवा बन्दुक र घोरलको छाला बरामद

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ । 

निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० थान भरुवा बन्दुक, एक थान नाल र तीन थान घोरलको छाला बरामद गरिएको निकुञ्जले जनाएको छ । बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलीगार्डमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

अवैध चोरी शिकारी रोक्नका लागि निकुञ्जले हातहतियार खोजी गर्ने अभियान सञ्चालन गरेपछि  सो परिमाणको भरुवा बन्दुक र छाला बेवारिसे रूपमा फालिएको अवस्थामा बरामद गरिएको बताइएको छ । बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक कसका हुन्, कसले चोरी शिकारी गरेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । 

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिए । निकुञ्ज क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुलगायत वन पैदावारको चोरी तस्करी रोक्नका लागि पछिल्लो समयमा निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मका सेना र निकुञ्जका कर्मचारीले नियमित गस्ती गर्ने गरेका छन् ।

देशकै गहनाका रूपमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा हुने चोरी तस्करी हुनबाट जोगाउनका सेनालाई नियमित गस्तीमा खटाइरहेको गुल्मपति लेखनाथ कटुवालले जानकारी दिए । दश दिनको अवधिमा ठूलो परिमाणमा भरुवा बन्दुक र संरक्षित वन्यजन्तुको छाला फेला पार्नु निकुञ्जका लागि ठूलो सफलताको कुरा भएको कटुवालको भनाइ छ ।

मध्यवर्ती क्षेत्र विकास कार्यक्रम र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा निकुञ्जका १७ वटा मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उपसमिति गठन गरेको छ । शे–फोक्सुण्डो निकुञ्जमा दुर्लभ वन्यजन्तु हिँउ चितुवासमेत पाइने गर्छ ।


कस्तो लाग्यो ?

यो पनि