बैशाख ११, २०८१, मंगलबार
               

व्यावसायिक पशुपालनका लागि सहयोग

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडाैं । नवलपरासी (पूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बुलिङटार गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि कृषकलाई सहयोग गरेको छ । 

गाउँपालिकाले कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो ।

पशुपालन र कृषिको सम्भावना बोकेको क्षेत्र भएकाले कृषकलाई यसतर्फ आकर्षित गर्न पाडी सहयोग गरिएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताए । 

गाउँपालिकाले २० पशुपालक कृषकलाई पाडी सहयोग गर्न लागेको उनले बताए । ‘यहाँ पशुपालनको सम्भावना धेरै छ, यसैले व्यावसायिक पशुपालनलाई जोड दिन भैँसीको पाडी प्रदान गर्ने योजना बनाएका हौँ,’ गाउँपालिका अध्यक्ष बस्ताकोटीले भने, ‘केहीलाई पाडी प्रदान गरिसकेका छौँ, बाँकी क्रमशः प्रदान गर्नेछौँ ।’ 

उनले गाउँपालिकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कृषि र पशुपालन गर्न चाहानेका लागि आफूहरुको सहयोग रहने अध्यक्ष बस्ताकोटीले बताए । 

चालू आर्थिक वर्षमा पाडी सहयोग गर्ने योजनाका लागि २० लाख विनियोजन गरिएको उनले जानकारी दिए । 

‘यस वर्ष रु २० लाख विनियोजन गरेका छौँ, एक जनालाई रु एक लाखबराबरको पाँचवटा पाडी प्रदान गर्नेछौँ,’ अध्यक्ष बस्ताकोटीले भने, ‘आगामी वर्षहरुमा समेत यसलाई  निरन्तरता दिनेछौँ ।’

अध्यक्ष बस्ताकोटीका अनुसार पशुपालन गर्ने कृषकले गोठ भने आफैँ निर्माण गर्नुपर्नेछ । व्यवस्थित गोठ निर्माण गरी व्यावसायिक रूपमा पशुपालन गर्न चाहनेलाई गाउँपालिकाले पाडी सहयोग गर्नेछ ।  

गोठ निर्माणका लागि भने यहाँ रहेको बुलिङटार बहुउद्देश्यीय सहकारी संस्थाले ऋण सहयोग उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको रकमबाट गोठ निर्माणका लागि ऋण सहयोग उपलब्ध गराएको हो । 

आफूसँग लगानी गर्न रकम नहुनेलाई आवश्यकताअनुसार दुई लाखसम्म सहकारीले सहयोग प्रदान गरेको छ । 

पहाडी क्षेत्र भएकाले अन्य आयस्रोत र रोजगारीको सम्भावना कम भएको, तर कृषिका लागि खेतीयोग्य भूमि तथा सिँचाइको सुविधा रहेको, पशुपालनका लागि समेत सम्भावनाको क्षेत्र भएकाले यसलाई प्रोत्साहन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताए । 

आगामी आर्थिक वर्षको योजनामा समेत उत्पादनलाई जोड दिँदै स्वरोजगारमुखी क्षेत्रमा लगानी बढाइने उनले बताए । बुलिङटार गाउँपालिकाको वडा नं १, ३ र ४ का २० पशुपालन गर्न चाहने कृषकलाई पाडी सहयोग गर्न लागिएको हो । 

हालसम्म १३ कृषकको नाम छनोट गरिएको र तीन जनालाई पाडी खरिद गरी प्रदान गरिएको देवकाली गाई भैँसीपालक कृषक समूहका संरक्षक कोषराज पौडेलले बताए । 

समूहमार्फत कृषक  छनोट र खरिद र  वितरण गर्ने काम गरिएको छ । उनका अनुसार अन्य कृषकको नाम छनोट गर्ने क्रम चलिरहेको छ ।

बन्दाबन्दीका कारण पाडी प्रदान गर्न ढिलो भएको र चाँडै पाडी खरिद गरी बाँकी रहेका कृषकलाई  प्रदान गरिने उनले बताए । 

पाडी खरिदका लागि भने देवचुलीमा रहेका पशुपालन फार्मसँग मौखिक सम्झौता भएको उनले बताए । 

विशेष गरेर युवालाई लक्षित गरी पाडी प्रदान गरिने संरक्षक पौडेलले बताए । एउटा युवालाई पाँच पाडी दिँदा केही वर्षमा  स्वरोजगार बन्छ, यसले युवा जनशक्ति विदेश पलायन हुनलाई रोक्छ,’ समूहका संरक्षक पौडेलले भने । 

हाल पहाडी क्षेत्रमा उत्पादन हुने वस्तुले सहजरूपमा बजार पाउन सकिरहेका छैनन् । 

यातायातको समस्याले गर्दा  व्यावसायिकरूपमा कृषि तथा पशुपालन हुन सकिरहेको छैन । तर, निकट भविष्यमै कालीगण्डकी करिडोर निर्माणको काम सम्पन्न हुने र ठूला बजारसँगको दूरी घट्ने भएकाले यो योजना अगाडि बढाइएको समूहका संरक्षक पौडेलले बताए । 

‘केही वर्षमा कालीगण्डकी करिडोर निर्माण सम्पन्न हुन्छ, त्यसपछि यहाँ उत्पादन भएको दूध सहजरूपमा बजारसम्म पु¥याउन सकिन्छ, यसैले अहिलेदेखि नै यो योजना शुरु गरिएको हो,’ पौडेलले भने । 

यो पनि