बैशाख १२, २०८१, बुधबार
               

किसान भन्छन्, ‘धानको बिउ तत्काल चाहियो’

रासस
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । बन्दाबन्दीका कारणले धानको बिउ नपाएर किसान पिरोलिएका छन् । बिउ राख्ने समय भइसक्यो, तर कतै बिउ पाइएको छैन ।  

मर्चवारबासी पूर्वकृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादले नेपालमा धान र गहुँको मुख्य उत्पादन क्षेत्र मानिएको मर्चवार क्षेत्रका किसान धानको बिउ व्यवस्था गरिदिन आग्रह गर्दै आफ्ना घरमा आइरहेको बताए । 

उनले पर्याप्त मात्रामा धानको बिउ किसानलाई उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै तत्काल सम्भव नभए विगत वर्षमा झैँ भारतबाट सुरक्षित तरिकाले बिउ ल्याउन दिने व्यवस्था गर्नुपर्ने बताए । 

यादवले समयमा बिउ नपाए धान रोप्न ढिलाइ हुने र त्यसले उत्पादन कम हुने भएकाले कोरोना भाइरसपछि भोकमरी आउन सक्ने चिन्ता पनि व्यक्त गरे ।

‘नेपालमा बिउ छैन, भारतबाट ल्याउन दिइएको छैन । बिउको ब्याड राख्न ढिला भइसक्यो’, समरीमाई गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए । 

रुपन्देहीको दक्षिण क्षेत्रमा कोटहीमाई, मर्चवारी र समरीमाई गाउँपालिका  छन् । 

उक्त क्षेत्र धानखेतीका लागि परिचित छ । तीन हजार हेक्टर खेतीयोग्य जमिन रहेको समरीमाईसँग किसानका लागि बिउमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम भए पनि बिउ नपाउँदा उक्त कार्यक्रमसमेत प्रभावकारी भएको छैन ।

गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र हरिजनले भने, ‘समरीमाईमा करिब छ सय क्विन्टल बिउ आवश्यक हुन्छ, तर अहिलेसम्म ५५ क्विन्टल मात्रै ल्याएका छौंँ ।’

उक्त पालिकामा गोल्डन, आइडिया, ६४/४४ र  युएस ३०५ प्रजातिका धानको बिउ उपलब्ध छ । किसानको रोजाइमा  भने भारतीय हाइब्रिड प्रजातिका प्रसन्ना र  गोरखनाथ धानको बिउ छ ।  

विगतमा सीमावर्ती भारतीय बजारबाट मर्चवारका किसानले प्रसन्ना र गोरखनाथ लुकिछिपी ल्याउने गर्थ ।  यतिबेला भने लकडाउनका कारण किसानलाई बिउ ल्याउन पनि मुस्किल भएको छ ।

मर्चवारी गाउपालिका अध्यक्ष केशवानन्द बानियाँले एकातिर सीमापारिबाट मान्छे आएकाले  व्यवस्थापन चुनौतीपूर्ण भएको उल्लेख गर्दै अर्कातिर किसान बिउ पाएन भन्दै दिनदिनै गुनासो गर्न आउँदा समस्या रहेको बताए । उनले भने, ‘हामी किन्न तयार छौंँ तर बिउ त चाहियो ।’

मर्चवारी गाउँपालिकामा खेतीयोग्य जमीन तीन हजार चार सय हेक्टर जसमध्ये दुई हजार आठ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको पालिकाका कृषि शाखा प्रमुख दिनेशकुमार यादवले बताए । यादवले भने, ‘खेत चिस्याउने काम सुरु भइसक्यो । अब बिउ तत्कालै चाहिन्छ । 

कोटहीमाई गाउँपालिकामा चार हजार ६० हेक्टर क्षेत्रफलमा कृषि खेती हुने गरेको छ ।  हाल कोटहीमाईमा एक सय ३८ क्विन्टल बिउ आवश्यक  छ ।  कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यलय भैरहवामा वैशाख महिनामा  बिउ सकिसकेको  कार्यालय प्रमुख अजयकुमार श्रीवास्तावले बताए । 

उनले भने, ‘हामीसँग नेपालमा सूचीकृत धानको बिउ मात्रै हुन्छ, तर विडम्बना, तराईका अधिकांश किसानमध्ये ८० प्रतिशतले भारतीय हाइब्रिड धानको बिउ राख्ने गर्छन् ।’ 

सीमावर्ती क्षेत्रमा भएको धानको बिउको संकट टार्न सीमापारिबाट सुरक्षित तरिकाले ल्याउने व्यवस्था गर्नुपर्ने प्रदेशसभा सदस्य बसिउद्धिन खानले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि