जेठ १२, २०७७, सोमबार
               

कोरोना सङ्क्रमणको पहिचानका लागि थप सहयोग गराउन तालीम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले क्लिनिक इञ्चार्जका लागि ‘केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक आइडन्टिफिकेसन’ सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ ।  

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा आज तालीम दिइएको हो । विश्वभरि फैलिएको कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण देखिएपछि सङ्क्रमणको स्रोत पत्ता लगाउन, सङ्क्रमित व्यक्तिको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा भएका व्यक्तिको जोखिममा निगरानी गर्नाका लागि यस किसिमको तालीम सञ्चालन गरिएको महानगरको भनाइ छ । 

जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै उनीहरुको सम्पर्कमा भएकामाथि निगरानी गर्ने प्रणाली विकास गर्न यस किसिमको अभ्यास गरिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीका अनुसार भाइरसको सङ्क्रमण भएका व्यक्ति नजिक उच्च जोखिममा भएकालाई बचाउन, सङ्क्रमणको स्रोत र सम्पर्क भएका व्यक्ति पहिचान हुन जरुरी छ । 

इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी नियन्त्रण शाखाका प्रमुख डा अमृत पोख्रेलले केस इन्भेष्टिगेसन एण्ड कन्ट्रयाक आइडन्टिफिकेसन बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । ६० वर्षमाथिका मानिस, दीर्घरोग भएका, गर्भवती सङ्क्रमणको उच्च जोखिममा रहने वर्ग हुन् । हात धुनु र भौतिक दूरी कायम राख्नु सङ्क्रमणबाट बच्ने मुख्य उपाय हुन् । 

डा पोखरेलले ट्रेसिङ गर्ने क्रममा बिरामीसँग लिइने अन्तर्वार्ताको सीप, सम्पर्कका आएका व्यक्तिको जोखिम वर्गीकरण, निगरानी गर्नुपर्ने व्यक्तिको सूची तयारलगायतका सीपका विषयमा कुरा गर्दै परीक्षण, उपचार र ट्रेसिङ गरी तीन चरणका प्रभावकारी कामबाट कोरोना नियन्त्रण गर्न सकिने बताए । 

यसका लागि  महानगरपालिकामा कम्तीमा पाँच वटा समूह निर्माण गर्न सकिने व्यवस्था छ । त्यस्तै उपमहानगरमा तीन, नगरमा दुई र गाउँपालिकामा एउटा समूह बनाएर ट्रेसिङको काम गर्नुपर्छ । यो न्यूनतम भएकाले आवश्यकताअनुसार थप गर्न सकिने अधिकारीको भनाइ छ । 

ट्रेसिङका लागि चार प्रकारका फारम भरिने छन् । त्यसमध्येको पहिलो फारम बिरामीको अवस्थाका विषयमा जानकारी लिन/राख्न उपचारमा संलग्न चिकित्सकले भर्नेछन् । दोस्रो फारम, बिरामीसँग भेटेर कुराकानी गर्दै बिरामीको सम्पर्कमा आएका व्यक्तिको जोखिम पत्ता लगाउन सूची तयार पार्न भरिने फारम हो । यो फारम ट्रेसिङमा जाने व्यक्तिले व्यक्तिगत सुरक्षा उपकरण लगाएर बिरामीसँग भेटेर कुराकानी गर्दै भरिन्छ । तेस्रो फारम बिरामीले सम्पर्क गरेका व्यक्तिको अवस्था थाहा पाउन उनीहरुलाई भेटेर कुराकानी गर्दै भर्ने फारम हो । यसैगरी चौथो फारम सम्पर्कमा भएका व्यक्तिको निगरानी गर्न भरिने फारम हो । 


कस्तो लाग्यो ?

यो पनि